मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

एसियन गेम्स छनोट र एसीसी प्रिमियर कपका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

बुधबार, २३ वैशाख २०८३, १७ : ४७
बुधबार, २३ वैशाख २०८३

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा आयोजना हुने दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। 

क्यानले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी मे र जुन महिनामा हुने प्रतियोगिताका लागि १४ सदस्यीय टोली सार्वजनिक गरेको हो।

क्यानका अनुसार यो टोलीले आगामी मे २३ देखि ३१ सम्म मलेसियामा हुने ‘एसियन गेम्स वुमेन्स क्वालिफायर–२०२६’ र त्यसलगत्तै जुन १ देखि १३ सम्म आयोजना हुने ‘एसीसी वुमेन्स प्रिमियर कप–२०२६ मा नेपालको प्रतिनिधित्व गर्नेछ।

घोषित टोलीको नेतृत्व नियमित कप्तान इन्दु बर्माले गर्नेछिन् भने उप–कप्तानको जिम्मेवारी पूजा महतोलाई दिइएको छ।  टोलीमा अनुभवी खेलाडीहरू सिता राना मगर र रुबिना क्षेत्रीसँगै बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर र रिया शर्मा रहेका छन्।

त्यस्तै अनु कठायत, मनीषा उपाध्याय, सोनी पाख्रिन र सिमाना केसीले पनि राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।

मुख्य टोलीका अतिरिक्त क्यानले चार जना खेलाडीलाई वैकल्पिक सूचीमा राखेको छ। वैकल्पिक खेलाडीहरूमा सावित्री धामी, सोमु विष्ट, सना प्रवीण र लक्ष्मी साउद रहेका छन्। क्यानका प्रवक्ता छुम्बी लामाले मलेसियामा हुने यी दुवै प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप