मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

पिकेमाथि ६ खेलको प्रतिबन्ध र दुई महिनाको निलम्बन

बिहीबार, २४ वैशाख २०८३, ०७ : ५८
बिहीबार, २४ वैशाख २०८३

सारांश

  • स्पेनिस फुटबल महासङ्घले जेरार्ड पिकेलाई ६ खेलको प्रतिबन्ध र दुई महिनाको निलम्बन सुनाएको छ।
  • पिकेले अल्बासेटेविरुद्धको खेलमा रेफ्रीसँग आक्रामक टिप्पणी र धम्कीपूर्ण शैलीमा कुरा गरेका थिए।
  • अनुशासन समितिले पिकेको कार्यले खेलकुदको गरिमामा आँच पुर्‍याएको भन्दै कारबाही गरेको हो।

मड्रिड । स्पेन तथा बार्सिलोनाका पूर्व स्टार फुटबलर जेरार्ड पिके रेफ्रीसँगको चर्को विवादपछि कडा कारबाहीमा परेका छन्।

स्पेनिस फुटबल महासङ्घले उनलाई ६ खेलको प्रतिबन्ध लगाउनुका साथै दुई महिनाका लागि आधिकारिक फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी निलम्बन गरेको छ।

सन् २०२२ मा व्यावसायिक खेलाडी जीवनबाट सन्न्यास लिएका ३९ वर्षीय पिके हाल दोस्रो डिभिजनको क्लब एफसी एन्डोराका सह-मालिक हुन्। गत हप्ता अल्बासेटेविरुद्ध भएको खेलमा उनको टोली १-० ले पराजित भएपछि मैदानमा रेफ्रीसँग उनको विवाद भएको थियो। खेलपछि मुख्य रेफ्री अलोन्सो डे एना वोल्फले आफ्नो प्रतिवेदनमा पिकेले आफूमाथि आक्रामक टिप्पणी गरेको उल्लेख गरेका छन्।

रेफ्रीको प्रतिवेदन अनुसार पिकेले उनलाई आक्रोशित हुँदै ‘तिमीलाई कसैले आक्रमण नगरोस् भनेर सुरक्षा घेरा लिएर यहाँबाट निस्क’ भनेका थिए। त्यति मात्र नभई पिकेले थप आक्रोश पोख्दै ‘अन्य कुनै देश भएको भए तिमी कुटिने थियौ, तर यहाँ एन्डोरामा हामी सभ्य छौँ र त्यसो गर्दैनौँ’ भन्दै धम्कीपूर्ण शैलीमा कुरा गरेका थिए।

अनुशासन समितिको बैठकले रेफ्रीको प्रतिवेदनमा उल्लेखित तथ्यहरूका आधारमा पिकेलाई खेलकुदको गरिमा र मर्यादामा आँच पुर्‍याउने सार्वजनिक कार्य गरेको भन्दै दुई महिनाको निलम्बन सुनाएको हो। यसका साथै रेफ्रीहरूमाथि सामान्य बल प्रयोग वा अभद्र व्यवहार गरेको अभियोगमा उनलाई छुट्टै ६ खेलको प्रतिबन्ध समेत लगाइएको छ।

उक्त खेलपछि भएको तनावपूर्ण विवादमा एन्डोरा क्लबका अन्य पदाधिकारीहरू पनि संलग्न थिए। अनुशासन समितिले क्लबका अध्यक्ष फेरान भिलासेकालाई चार महिनाको निलम्बन र खेलकुद निर्देशक जाउमे नोगेसमाथि पनि प्रतिबन्धको निर्णय सुनाएको छ। यो सिजन दोस्रो डिभिजनको तालिकामा एन्डोरा हाल १०औँ स्थानमा संघर्षरत छ।

बार्सिलोनाका पूर्वडिफेन्डर पिकेले आफ्नो खेल जीवनमा ९ पटक ला लिगा र ३ पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए। उनी सन् २०१० को विश्वकप र सन् २०१२ को युरो कप जित्ने स्पेनिस टोलीका महत्त्वपूर्ण सदस्य समेत हुन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप