सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
फरक दृश्य

सुकुमबासीको आँसु र कवाडीको रजाइँ : चोरी हुन थाले सामान

बिहीबार, २४ वैशाख २०८३, १५ : ००
बिहीबार, २४ वैशाख २०८३

सारांश

  • काठमाडौंका नदी किनारका सुकुमबासी बस्तीहरू भत्किँदा निस्किएका सामान कवाडी व्यवसायीका लागि अवसर बनेका छन्।
  • सुकुमबासी बस्तीका भग्नावशेषबाट फलाम र जस्तापाता खोज्ने कवाडी सङ्कलकहरूको दौडधुपले गर्दा सार्वजनिक सम्पत्ति चोरीका घटना बढेका छन्।
  • काठमाडौँ महानगरपालिकाले कवाडी व्यवसायको दर्ता र नवीकरण बन्द गरी यसलाई सहर बाहिर स्थानान्तरण गर्ने योजना बनाएको छ।

काठमाडौँ । काठमाडौँका बागमती लगायत विभिन्न नदी किनारका सुकुमबासी बस्तीहरूमा यतिबेला डोजरको गर्जन र विस्थापितहरूको रुवाबासी मात्र सुनिएको छैन, त्यहाँ अर्को एउटा दृश्य पनि समानान्तर रूपमा देखिन्छ— भग्नावशेषभित्र फलाम र जस्तापाता खोजिरहेका कवाडी सङ्कलकहरूको दौडधुप ।

राज्यले अनधिकृत संरचना हटाउने अभियान तीव्र पारिरहँदा ती भत्किएका बस्तीहरू कवाडी व्यवसायीका लागि भने अवसरको खानी बनेका छन् । काठमाडौँका सडक पेटीमा रोपिएका बिरुवाका ‘ट्री–गार्ड’ चोरीदेखि सुकुमबासी बस्तीमा भत्काएका घरका डण्डीसम्ममा अहिले कवाडी सङ्कलकहरूको भूमिका देखिएको छ ।

हालै काठमाडौँ महानगरपालिका वडा नं. ६, महाङ्काल पार्क नजिकै एउटा घटना घट्यो । सडकको हरियाली जोगाउन राखिएका फलामे ट्री–गार्डहरू गायब भए । नगर प्रहरीले खोजी गर्दा ती सार्वजनिक सम्पत्ति नजिकैको कवाडी सङ्कलन केन्द्रमा फेला परे । नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछानेका अनुसार सार्वजनिक सम्पत्ति कवाडीको गोदाममा भेटिएपछि यसमा संलग्नलाई कारबाहीका लागि बौद्ध प्रहरी वृत्तमा पठाइएको छ ।

नगर प्रहरीहरू पछिल्लो समय महानगरका फलामजन्य सामग्रीको चोरी बढेको बताउँछन् । ‘सहरमा कवाडी सङ्कलकको सङ्ख्या यति बढेको छ कि व्यवसायी र सङ्कलकहरूले निजी र सार्वजनिक सम्पत्तिबिचको लक्ष्मणरेखा नै बिर्सन थालेका छन्,’ महानगरका एक अधिकारीले भने ।

शङ्खमूलको सुकुमबासी बस्तीमा जब डोजरले साढे तीन तले घर ढाल्न सुरु गर्‍यो, त्यहाँ घरधनीको आँखामा आँसु थियो भने कवाडी व्यवसायी रामबिहारी साह नाफाको हिसाबकिताबमा व्यस्त थिए । साहले त्यो भत्किएको संरचनाबाट निस्किने फलामका लागि १ लाख ५० हजार रुपैयाँमा ठेक्का लिएका थिए । १५ वर्षदेखि बालकुमारीमा कवाडी व्यवसाय गर्दै आएका साहका लागि यो एउटा ठुलो अवसर थियो ।

kawadi (2)

नरेफाँटमा विगत २० वर्षदेखि कवाडीको काम गरिरहेका सुरत साहको कथा पनि उस्तै छ । उनले शङ्खमूलका चार वटा घर भत्किएपछि त्यहाँको कवाडी उठाउन ८७ हजार रुपैयाँमा ठेक्का लिएका थिए ।

सुकुमबासी बस्तीका यी भग्नावशेषहरूमा यतिबेला सयौँको सङ्ख्यामा यस्ता व्यवसायी र कामदारहरू झुम्मिएका छन्, जो रातदिन खटेर नाफाको खोजी गरिरहेका छन् ।

यो व्यवसायको अर्को एउटा दुःखद् पक्ष विस्थापितहरूको बाध्यता हो । वर्षौंसम्म दुःख गरेर ठड्याएको घर र टहरा डोजरले सडकमा पुर्‍याएपछि सुकुमबासीहरू ‘सामान जोगाउने कि ज्यान जोगाउने’ भन्ने दोधारमा पर्छन् । शङ्खमूलका भीम सुवेदीको पीडा पनि उस्तै छ । ‘घर भत्किएपछि उनले कवाडी सामानमात्र होइन, घरका इँट्टाहरू समेत सित्तैमा दिए । सामान बोकेर कहाँ जाने ? राख्ने ठाउँ छैन, त्यसैले कवाडी व्यवसायीलाई कौडीको भाउमा सुम्पिनै पर्‍यो,’ केही दिनअघि रातोपाटीसँग उनले भनेका थिए ।

कस्तो छ कवाडीको चक्र ?

साइकलमा टोल–टोल डुल्ने साना सङ्कलकहरूले बस्तीबाट प्रतिकिलो ४५ रुपैयाँमा फलाम खरिद गर्छन् र ठुला गोदाममा ५० रुपैयाँमा बेच्छन् । सर्लाहीका सुरेश यादवका अनुसार प्रतिकिलो ५ रुपैयाँ नाफाका लागि दिनभरि काठमाडौँका गल्लीहरू चाहर्नुपर्छ । यी साना सङ्कलकबाट जम्मा भएको सामान ठुला व्यवसायी हुँदै नेपालका विभिन्न उद्योगहरूमा पुग्छन् ।

व्यवसायीहरूका अनुसार यो कवाडी विदेश निर्यात हुँदैन, बरु स्वदेशकै डण्डी उद्योगहरूमा कच्चा पदार्थको रूपमा खपत हुन्छ । पुराना डण्डीहरू भट्टीमा पग्लेर फेरि नयाँ डण्डीका रूपमा बजारमा आउँछन् ।

कामदारलाई पनि छैन सजिलो

सुकुमबासी बस्ती भत्किँदा कवाडी सङ्कलकहरूले मौकाको फाइदा उठाएको देखिए पनि उनीहरूको काम निकै जोखिमपूर्ण छ । भग्नावशेषमा फलाम खोज्ने क्रममा कामदारहरूले ज्यानकै बाजी लगाउनुपर्छ । कवाडी सङ्कलक विजय मिश्रले भने, ‘फलाम निकाल्दा हातभरि चोट लागेको छ । मजदुरलाई काम गर्न कहाँ सजिलो हुन्छ र ?’

डोजरले भत्काएको संरचनाभित्र छिरेर फलाम निकाल्नु, धुलो खानु र धारिलो फलामको चोट सहनु उनीहरूको दैनिकी बनेको छ ।

महानगरको निर्मम नीति

काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायप्रति निकै कडा दृष्टिकोण अपनाएको छ । सहरमा बढ्दो चोरीका घटना र कुरुपताको एउटा मुख्य कारण कवाडी व्यवसाय रहेको निष्कर्ष निकाल्दै महानगर आक्रामक बनेको हो ।

kawadi (1)

विगत दुई वर्षदेखि महानगरले कवाडी व्यवसायको दर्ता र नवीकरण पूर्ण रूपमा बन्द गरेको छ । महानगरले सहरभित्रका कवाडी केन्द्रहरूलाई बाहिर स्थानान्तरण गर्ने योजना बनाएको छ । सङ्कलकहरूले कतिपय ठाउँमा स्थानीयको अनुमतिविनै सामान लैजाने, झैझगडा गर्ने र सार्वजनिक सम्पत्ति चोरी गर्ने गुनासो आएपछि महानगर थप कडा बनेको प्रवक्ता नवीन मानन्धरले बताए ।

एक महानगर अधिकारीका अनुसार कवाडी सङ्कलनमा अधिकांश भारतीय नागरिकको बाहुल्यता छ, जसले गर्दा आपराधिक गतिविधिहरूको अनुसन्धानमा समेत कहिलेकाहीँ जटिलता आउने गरेको छ । ‘चोरीका सामानहरू सजिलै कवाडी केन्द्रमा बिक्री हुने र त्यहाँबाट तुरुन्तै व्यवस्थापन हुने भएकाले प्रहरीलाई प्रमाण जुटाउन गाह्रो हुन्छ । त्यसैले महानगरले प्रहरीसँगको समन्वयमा निगरानी बढाइरहेको छ र व्यवसायीहरूलाई सहर छोड्न निरन्तर दबाब दिइरहेको छ,’ एक वडा अध्यक्षले भने ।

ती वडा अध्यक्षका अनुसार कवाडी व्यवसायीले न कर तिर्छन्, न कुनै औपचारिक संयन्त्रमा छन् । उनले भने, ‘सुकुमबासी बस्तीका बासिन्दाको बाध्यताको फाइदा उठाएका छन् । कतिपयले घरधनीलाई पैसा दिएका कारण हामीलाई कारबाही गर्न पनि गाह्रो भइरहेको छ । यो हाम्रा लागि टाउको दुखाइ बनेको छ । हामी प्रहरीको सहयोग लिँदै छौँ ।’

कडा निगरानी सुरु गरेका छौँ : नगर प्रहरी

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु जोशीले सहरका विभिन्न स्थानबाट सार्वजनिक सम्पत्ति चोरी गरी कवाडीमा बेच्ने गिरोहमाथि कडा निगरानी थालिएको बताए । सडक किनारका ‘ट्री–गार्ड’ चोरी गरी कवाडी सङ्कलन केन्द्रमा पुर्‍याइएको भेटिएपछि महानगरले ती सामग्री बरामद गरी थप अनुसन्धानका लागि बौद्ध प्रहरीलाई पत्र पठाएको उनले जानकारी दिए ।

‘महानगरको सम्पत्ति चोरी गरेर कवाडीमा बेच्ने कार्य कुनै पनि हालतमा सह्य हुँदैन । हामीले कडा कारबाहीका लागि प्रहरीलाई अनुरोध गरिसकेका छौँ,’ उनले भने ।

सहरको सुन्दरता र सुरक्षामा चुनौती थपिएको भन्दै महानगरले कवाडी व्यवसायलाई सहर बाहिर स्थानान्तरण गर्ने नीति लिएको उनले बताए । ‘पहिले दर्ता भएर कर तिरेका व्यवसायीहरूको पनि हामीले नवीकरण गरेका छैनौँ र उनीहरूलाई महानगर क्षेत्रभन्दा बाहिर जान आह्वान गरिसकेका छौँ,’ उनले थपे ।

IMG_0802

सडकका ढलका ढक्कन, ट्री–गार्ड र बिजुलीका तारहरू चोरी हुनुमा कवाडी व्यवसायको अव्यवस्थित सञ्चालन नै मुख्य कारण रहेको जोशीको ठहर छ । कवाडी सङ्कलनको आवरणमा आपराधिक क्रियाकलाप मौलाएको र कवाडी पसलहरू चोरीका सामग्री व्यवस्थापन गर्ने थलो बनेको उनले बताए ।

जोशीले थपे, ‘कतै ट्री–गार्ड भेटिन्छन् त कतै ढलका ढक्कन । यस्ता सामग्री खरिद गर्ने कवाडी सञ्चालकहरूलाई हामीले कानुनी घेरामा ल्याइरहेका छौँ ।’

सुकुमबासी बस्ती वा अनधिकृत संरचना भत्काउँदा निस्किएका फलाम, जस्तापाता र अन्य सामग्रीहरू पनि कवाडी व्यवसायीले सस्तो दरमा खरिद गरी अवैध रूपमा ओसारपसार गर्ने गरेको पाइएको छ । कतिपय ठाउँमा धनी आफैँले बेचेको देखिए पनि सार्वजनिक सम्पत्तिको हकमा भने संगठित गिरोह नै सक्रिय रहेको जोशीले जानकारी दिए ।

उनले भने, ‘यस व्यवसायमा धेरैजसो विदेशी नागरिकहरूको संलग्नता छ । उनीहरूले चोरीका सामान खरिद–बिक्री गर्ने गरेकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अनुगमन तीव्र पारेका छौँ ।’

महानगरसँग मुद्दा चलाउने प्रत्यक्ष अधिकार नभएकाले चोरीमा संलग्न र चोरीका सामान किन्नेहरूलाई प्रहरीमार्फत सार्वजनिक सम्पत्तिविरुद्धको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको जोशीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप