गगनको अग्रसरताले समाधान होला कांग्रेसको विवाद ?
सारांश
- नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति गगन थापाले पहल थालेका छन् ।
- थापाले निवर्तमान सभापति शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूहका शीर्ष नेताहरूसँग भेटेर विवाद समाधानका लागि कुरा गरेका छन् ।
- महामन्त्री प्रदीप पौडेलका अनुसार पार्टीभित्रको विवाद मिलाउने प्रयास सकारात्मक भइरहेको छ र केही समयमा नतिजा देखिनेछ ।
काठमाडौँ । गत पुस अन्तिम साता तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा केन्द्रीय समिति र सभापतिको असहमतिबिच भएको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि नेपाली कांग्रेसभित्रको विवाद चुलिँदै गएको थियो ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विवादकै बिच सहभागी भएको कांग्रेसका नेताहरू पछिल्लो समय पार्टीभित्र देखिएको समस्या समाधानका लागि अग्रसर देखिएका छन् ।
विशेष महाधिवेशनबाट सभापति चुनिएमा गगन थापाले विवाद मिलाउने अग्रसरता आफै लिएका छन् ।
उनले विशेष महाधिवेशनको विरोध गर्दै सहभागी नभएका निवर्तमान सभापति शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूहका शीर्ष नेताहरूसँग आफैले भेटेर विवाद समाधानका लागि कुरा गरेका छन् । सभापति थापाले पछिल्लो समय देउवा समूहको नेतृत्व गरिरहेका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. कोइरालालाई उनीहरूकै निवास र सचिवालयमा पुगेर भेटेका छन् ।
सभापति खड्काले निवर्तमान कार्यवाहक सभापति खड्कालाई वैशाख ६ गते एक्लै र वैशाख २३ गते उपसभापति विश्वप्रकाश शर्मासहित खड्काकै निवास गोल्फुटार पुगेर भेटेका छन् । नेता डा. कोइरालालाई सभापति थापाले कोइरालाकै विशालबजारस्थित सचिवालयमा पुगेर वैशाख २२ गते बिहान भेटे ।
भेटमा पार्टीभित्र देखिएको विवाद समाधानका लागि सकारात्मक कुरा भएको र असोजमा तय गरिएको १५ औँ महाधिवेशन स्वच्छ निष्पक्ष र एकताबद्ध तरिकाबाट गर्ने प्रयास आफूहरूको रहेको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
‘सभापतिज्यूले नै अग्रसरता देखाएर सबैलाई सँगै राख्ने, उहाँको नेतृत्वमा सबै सँगसँगै अगाडि बढ्ने स्थिति बनाउनका निम्ति पहल गरिरहनु भएको छ,’ महामन्त्री पौडेलले रातोपाटीसँग भने, ‘सबैलाई सँगसँगै लैजाने, सबैलाई भूमिका दिने अवस्था बनाउन खोजिएको हो ।’
महामन्त्री पौडेलले सभापति थापाले सबैलाई समेटेर अधिवेशनमा लैजाने, पार्टीको दायराबाट कोही बाहिर जान नपर्ने स्थिति बनोस्, आफ्नो नेतृत्वमा सबैलाई समेट्ने अवस्था बन्न सकोस् भनेर पहलकदमी लिइरहेको बताए । त्यो पहलकदमी सकारात्मक बनिरहेको महामन्त्री पौडेलको भनाइ छ । ‘पार्टीभित्रको विवाद मिलाउने प्रयास सकारात्मक भइरहेको छ । केही समयमा नतिजा देखिएला,’ महामन्त्री पौडेलले भने ।
पौडेलले महाधिवेशनका लागि बन्ने संयन्त्र साझा बनाउन आफूहरू तयार रहेको पनि बताए । ‘सदस्यता व्यवस्थापन समिति, सदस्यता वितरण विवाद निवारण समिति, आवास समितिसहित अधिवेशनका निम्ति चाहिने कुन–कुन उपसमितिहरू बन्छन्, ती सबै उपसमितिहरूमा हामीले पक्षधरताको आधारमा समावेशी स्वरूप निर्माण गरेर जान्छौँ भनेर भनिरहेकै छौँ,’ पौडेलले भने ।
अर्कोतर्फ देउवा समूहका नेता पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतले महाधिवेशन सम्पन्न गर्नका लागि साझा संयन्त्र बनाउने र अद्यावधिकको विषय पुनर्विचार गरिए सहमति बन्न सक्ने बताए ।
‘नवीकरण टुङ्गिएका क्रियाशील सदस्यलाई फेरि अहिले भौतिक रूपमा पालिका–पालिका, वार्डमा उपस्थिति भएर अद्यावधिक गर्ने विषय अहिलेको प्रतिकूल अवस्थामा व्यावहारिक नहुने र आवश्यक नरहेको अवस्थामा अधिवेशन सम्पन्न गर्ने एउटा संयन्त्र बन्नुपर्छ भन्ने हाम्रो भनाइ हो,’ नेता डा. महतले रातोपाटीसँग भने, ‘त्यो गर्न संस्थापन तयार भयो भने नमिल्ने कुरै छैन । सर्वोच्चको फैसला हामीले स्वीकारेकै छौँ । अब संयुक्त संयन्त्र बनाएर महाधिवेशनमा जाने कुरा हो ।’
डा. महतले त्यसको पहल आधिकारिकता पाएकाले सभापति थापाले गर्नुपर्ने बताए । ‘आधिकारिकता पाएकोले यसको पहल र सकारात्मक सङ्केत छोटो समयमै टुङ्गो लगाउने पहल गगनजीले गर्नुपर्छ,’ डा. महतले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो संस्करणको ‘इन्डियन एम्बेसेडर्स क्रिकेट प्रतियोगिता’ सुरु
-
न्युजिल्यान्डविरुद्ध बेल्जियमको गोलवर्षा
-
धार्मिक आस्था र जैविक विविधताको अनुपम संगम : पार्वती कुण्ड
-
जहाँ प्रकृतिसँग लुकामारी गर्दै संस्कृतिसँग साक्षात्कार गर्न पाइन्छ (तस्बिरहरू)
-
बेल्जियमको अग्रता दोब्बर, ट्रसयार्डको दोस्रो गोल
-
बजेट कार्यान्वयन सुधारका लागि कर्णालीमा सधैँ उस्तै नीति, अवस्था ज्युँका त्युँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण