गृहमन्त्री नहुँदा प्रहरीमा ठुलो संख्यामा सरुवा रोकियो
सारांश
- गृहमन्त्री नहुँदा नेपाल प्रहरीमा ठुलो संख्यामा सरुवा रोकिएको छ ।
- प्रहरी नियमावली २०७१ अनुसार अधिकृतहरूको सरुवा हरेक एक वर्षमा हुन्छ ।
- प्रधानमन्त्रीको सचिवालयबाट सरुवा सम्बन्धी सहमति नआउँदा प्रहरी अधिकृतहरूको सरुवा प्रक्रिया अघि बढ्न सकेको छैन ।
काठमाडौँ । वैशाख ९ गते तत्कालीन गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नै गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
गृहमन्त्री नहुँदा नेपाल प्रहरीमा ठुलो संख्यामा सरुवा रोकिएको छ । गत वर्ष सरुवा भएका र अवधि पुगेका प्रहरी निरीक्षकदेखि वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मको सरुवा रोकिएको हो ।
प्रहरी नियमावली २०७१ अनुसार अधिकृतहरूको सरुवा हरेक एक वर्षमा हुन्छ । २०८२ वैशाख १० मा प्रहरी प्रधान कार्यालयले ३११ जना प्रहरी निरीक्षकको सरुवा गरेको थियो । कार्यअवधि पूरा भएका ती इन्स्पेक्टरमध्ये चैत २ मा २४ जनालाई काज सरुवा गरिएको छ । अरुको सरुवा भएको छैन ।
गत वर्ष वैशाख १० मा प्रहरी प्रधान कार्यालयले १२१ जना डीएसपीको सरुवा गरेको थियो । उनीहरूको कार्यअवधि पूरा भए पनि सरुवा भएको छैन । अघिल्लो वैशाखमा गएका इन्स्पेक्टर र डीएसपीहरू धेरै ठाउँमा इन्चार्जको रूपमा कार्यरत छन् ।
जिल्ला कमाण्ड गरिरहेका र एक वर्ष पूरा भएका एसपीहरूको पनि सरुवा हुन सकेको छैन । बाग्लुङ्ग, सुदूरपश्चिम ट्राफिक, सिन्धुली, काभ्रे, सर्लाही, महोत्तरी, सुर्खेत, चितवन, पश्चिम नवलपरासी, कपिलवस्तु र कञ्चनपुरमा कार्यरत एसपीहरूको अवधि पूरा भएको छ । त्यसबेला पाल्पा पठाइएका पवन भट्टराईलाई जेनजी आन्दोलनपछि काठमाडौँमा ल्याइएको थियो ।
प्रहरी प्रधान कार्यालयले एसएसपी र प्रदेशका केही डीआईजी पनि फेरबदल गर्ने तयारी गरिरहेको छ । अधिकृतहरूलाई सरुवा गर्नेबारे गृहकार्य भइरहेको प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेले रातोपाटीलाई बताए । उनले भने, ‘सिलसिलेबार रिपोर्टिङ गर्नुपर्ने विषयहरू हुन्छन्, अवधि पुगेका अधिकृतहरूको सरुवा प्रक्रियामै छ ।’
सरुवाका लागि प्रहरी प्रधान कार्यालयले यसअघि नै तयार गरेको मापदण्डलाई आधार मान्दै आएको छ । प्रहरीको नेतृत्व र गृहको नेतृत्व परिवर्तन भएसँगै मापदण्ड फेरबदल हुनसक्ने आकलन गरिए पनि अहिले मापदण्ड परिवर्तन नहुने डीआईजी काफ्लेले बताए ।
प्रहरी नियमावली अनुसार एसपीसम्मको सरुवाको निर्णय आईजीपीले गर्छन् । एसएसपी र डीआईजी सरुवाको निर्णय गृहमन्त्रीले गर्ने व्यवस्था छ ।
गृह मन्त्रालयमा जेम्स कार्की स्वकीय सचिवको रूपमा कार्यरत छन् । सरुवा गर्नुपर्ने प्रहरी अधिकृतहरूको सूची प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुवास शर्माकोमा पठाइएको प्रहरीका एक जना उच्च अधिकृतले बताए । उनका अनुसार प्रधानमन्त्रीको सचिवालयबाट सरुवा सम्बन्धी सहमति आएको छैन । प्रहरीका एक जना उच्च अधिकृतले भने, ‘उताबाट सहमति आएपछि सरुवा अघि बढ्ला ।’
काठमाडौँ जान प्रतिस्पर्धा
प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँको नेतृत्व पनि परिवर्तन गर्न खोजेको छ । काठमाडौँमा अहिले एसएसपी रमेश थापा छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्व पनि परिवर्तन गर्नेगरी गृहकार्य थालिएको छ ।
काठमाडौँमा जान एसएसपीहरूको बिचमा प्रतिस्पर्धा सुरु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको कमाण्ड सम्हाल्न एसएसपीहरू दयानिधी ज्ञवाली, सुरेश काफ्ले, बीर बहादुर बुढा, सुवास बोहरा र अजय केसीले रुचि देखाएका छन् ।
ज्ञवाली र बोहरा प्रहरी हेड्क्वार्टरको कार्य विभागका कार्यरत छन् । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबारे रणनीति तय गर्न गठन गरिएको विश्लेषण महाशाखाको नेतृत्व ज्ञवालीले गरेका थिए ।
बोहरा र ज्ञवालीले जेनजी प्रदर्शन हुँदा हेड्क्वार्टर जोगाउन भूमिका खेलेका थिए । विशेष ब्यूरोमा कार्यरत एसएसपी काफ्लेले जेनजी आन्दोलनमा आगजनी सुरु भएपछि न्यायाधीशहरूलाई सुरक्षित स्थानमा लैजान नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । त्यसबेला काफ्ले सर्वोच्च अदालतस्थित सुरक्षा युनिटमा कार्यरत थिए ।
बीरबहादुर बुढा अख्तियारमा र अजय केसी साइबर ब्यूरोमा कार्यरत छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा कार्यरत प्रविण धितालले पनि काठमाडौँको कमाण्ड गर्न रुचि देखाएको अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कप भलिबल : टिप टप न्यु डायमन्ड र न्यु डायमन्ड एकेडेमी फाइनलमा
-
कङ्गोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा
-
बाँसबारी माध्यमिक विद्यालयले जित्यो अन्तर विद्यालय खुला फुटसलको उपाधि
-
एनओसी अवार्ड : करातेकी एरिका र उसुका विजय वर्ष उत्कृष्ट खेलाडी
-
सरकार एमालेप्रति पूर्वाग्रही बन्यो : भट्ट
-
तीन दिन कोशी, बागमती र गण्डकीका स-साना नदीमा बहाव बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण