शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बहस

विकास कि पर्यावरणको विनाश ?

धुलो उड्ने खानीदेखि हरियालीसम्म : आन्जीको पुनर्जन्मको कथा
शनिबार, २६ वैशाख २०८३, १५ : ००
शनिबार, २६ वैशाख २०८३

सारांश

  • चीनको आन्जी काउन्टीले ढुंगाखानीको प्रदूषणबाट मुक्त भई ग्रामीण विकास र वातावरणीय संरक्षणको अनुपम मोडल बनेको छ।
  • सन् २००५ मा सी जिनपिङले 'सफा पानी र हरिया पहाडहरू अमूल्य सम्पत्ति हुन्' भन्ने सिद्धान्त प्रतिपादन गरेपछि यहाँको विकासले नयाँ दिशा पाएको छ।
  • हरित विकास र वातावरणीय संरक्षणलाई प्राथमिकता दिँदा आन्जी काउन्टीका बासिन्दाको प्रतिव्यक्ति आय सात गुणाले बढेको छ।

तपाईंले अहिले के चाहिएको छ ? नेपालमा जो कोहीलाई सोध्यो भने सायद एउटै उत्तर आउँछ होला– विकास । 

तर विकास त्यति सजिलै आउँदैन । यसका लागि हामीले धेरै मूल्य चुकाउनुपर्छ । यो कुरा सबैभन्दा धेरै कसले बुझेको छ भने त्यहो हो, हाम्रो छिमेकी राष्ट्र चीन ।

china anji county (2)

चीनले विकासमा अद्भूत प्रगति गरे पनि उसले पर्यावरणको मामिलामा ठुलो मूल्य चुकाउनु परिरहेको छ । त्यही भएर उसले अहिले आफ्नो विकासको रणनीतिमा परिवर्तन गरिरहेको छ ।

china anji county (3)

चीनको झेजियाङ प्रान्तको उत्तरी भागमा अवस्थित आन्जी काउन्टी आज देशकै लागि मात्र नभएर विश्वकै लागि ग्रामीण विकास र वातावरणीय संरक्षणको एउटा अनुपम मोडल बनेको छ। यसलाई चीनको ‘ब्युटी रुरल डेभलपमेन्ट मोडल’ अर्थात् सुन्दर ग्रामीण विकास ढाँचाको जन्मस्थान मानिन्छ। 

china anji county (11)

सन् १८५ मा स्थापना भएको यो काउन्टीको इतिहास दुई हजार वर्षभन्दा लामो छ। चिनियाँ प्राचिन कविता संग्रह ‘बुक अफ सङ्स’ मा उल्लेख भएको ‘सुन्दर र उपयुक्त’ भन्ने अर्थ लाग्ने शब्दबाट यसको नाम ‘आन्जी’ राखिएको हो। १ हजार ८ सय ८६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा करिब ४ लाख ६० हजार मानिस बसोबास गर्छन्। यो चीनको पहिलो राष्ट्रिय मान्यता प्राप्त इकोलोजिकल काउन्टी हो। साथै, संयुक्त राष्ट्रसंघको युएन-ह्याबिट्याटबाट सम्मानित हुने यो चीनको एक मात्र काउन्टी पनि हो।

दुई दशकअघि ढुंगाखानीको धुलो र प्रदूषणले ढाकिएको आन्जी काउन्टी आज चीनकै पहिलो राष्ट्रिय इकोलोजिकल काउन्टी बनेको छ।

आज यहाँका हरिया पहाड, कञ्चन नदी र नीलो आकाश देख्दा जो-कोही मन्त्रमुग्ध हुन्छन्। तर, २० वर्षअघि यो सुन्दर ठाउँको अवस्था यस्तो थियो भनेर कल्पना गर्न पनि गाह्रो हुन्छ। सन् १९९० को दशकमा यहाँको अवस्था बिलकुल फरक थियो। हरियाली र प्रकृतिको साटो यहाँ धुलो, धुवाँ र कोलाहलको साम्राज्य थियो। त्यस समयमा यस क्षेत्रमा ढुंगाखानी उद्योग फस्टाएको थियो। 

उच्च गुणस्तरको चुनढुंगा पाइने यहाँका पहाडहरूलाई मानिसहरूले ‘सुनको पहाड’ का रूपमा हेर्न थालेका थिए। २ हजार वर्ग किलोमिटरभन्दा कम क्षेत्रफल भएको यस काउन्टीमा २ सयभन्दा बढी खानी कम्पनीहरू सञ्चालनमा थिए। यसको अर्थ, हरेक आठ वर्ग किलोमिटरमा एउटा खानी उद्योग थियो।

china anji county (10)

खानीबाट निस्कने खनिज पदार्थ बेचेर गाउँलेहरू रातारात धनी त भइरहेका थिए, तर उनीहरूले आफूलाई एउटा भयानक वातावरणीय संकटको भुमरीमा धकेलिरहेका थिए। निरन्तरको दोहनले पहाडहरू खोक्रा भइसकेका थिए, नदीको पानी प्रदूषित बनेको थियो अनि हावामा विषालु धुलो मिसिएको थियो। 

china anji county (4)

खानीमा बारम्बार हुने दुर्घटना र बिग्रँदो वातावरणले गाउँलेहरूलाई त्रसित बनाउन थाल्यो। आर्थिक विकासको यो बाटो दिगो छैन भन्ने उनीहरूलाई महसुस भयो। उनीहरूले आर्थिक रूपान्तरण अनिवार्य छ भन्ने बुझे। तर समस्या यति मात्र थिएन। प्रदूषण गर्ने कारखानाहरू कसरी बन्द गर्ने ? प्रकृतिको संरक्षण गर्दै मानिसहरूको आम्दानी कसरी सुरक्षित गर्ने ? यी गम्भीर प्रश्नहरूले सिङ्गो गाउँलाई अन्योलमा पारेको थियो।

china anji county (5)

यही अन्योल र संघर्षको केन्द्रमा थियो– युकुन गाउँ। झेजियाङ प्रान्तको तियानमु पहाडको उत्तरी फेदीमा अवस्थित यो गाउँले आज सिङ्गो देशलाई बाटो देखाइरहेको छ। तियानमु पहाडको एउटा हाँगा ‘यु रिज’ र यहाँको ‘युकुन उपत्यका’ बाट यस गाउँको नाम राखिएको हो। जम्मा ४.८६ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यस गाउँमा ४०० हेक्टर पहाडी जंगल छ, जसमध्ये ३४७ हेक्टरमा बाँसका घारीहरू मात्र छन्। २८० घरधुरी रहेको यस गाउँमा करिब एक हजार ६० जना बसोबास गर्छन्।

china anji county (7)

आज युकुन गाउँ सुन्दर ग्रामीण क्षेत्र र इकोलोजिकल विकासको मामिलामा प्रान्त र राष्ट्रकै नेतृत्व गरिरहेको छ। यसले संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको ‘सर्वोत्कृष्ट पर्यटन गाउँ’ लगायत थुप्रै राष्ट्रिय सम्मानहरू प्राप्त गरिसकेको छ। धुलो उड्ने खानी गाउँबाट ग्रामीण पुनरुत्थान र हरित विकासको नमुना बन्नुसम्मको युकुनको रूपान्तरणले विगत दुई दशकमा दिगो विकासमा चीनले दिएको उच्च प्राथमिकतालाई प्रतिविम्बित गर्छ।

सन् २००५ मा तत्कालीन प्रान्तीय कमिटी सचिव सी जिनपिङले यहीँबाट ‘सफा पानी र हरिया पहाडहरू अमूल्य सम्पत्ति हुन्’ भन्ने ऐतिहासिक सिद्धान्त प्रतिपादन गरेका थिए।
  • निराशाको त्यो मोड र एउटा ऐतिहासिक सन्देश

सन् २००५ को कुरा हो। युकुन गाउँ एउटा ठुलो दोबाटोमा उभिएको थियो। गाउँको अन्तिम ढुंगाखानी भर्खरै बन्द गरिएको थियो। खानी बन्द हुँदा गाउँलेहरू आफ्नो रोजगारी र भविष्यलाई लिएर अत्यन्तै चिन्तित थिए। त्यस वर्ष गाउँको सामूहिक आम्दानी ३० लाख युआनबाट ह्वात्तै घटेर जम्मा ३ लाख युआनमा झर्‍यो। धनी बन्ने बाटो बन्द भएपछि गाउँमा चरम निराशा छायो।

ठीक यही संवेदनशील मोडमा, १५ अगस्ट २००५ का दिन तत्कालीन चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) झेजियाङ प्रान्तीय कमिटीका सचिव सी जिनपिङले यस गाउँको भ्रमण गरे। उनले निराश गाउँलेहरूलाई एउटा शक्तिशाली र आशावादी सन्देश दिए। 

china anji county (9)

गाउँलेहरूसँगको भेटमा सीले खानी बन्द गर्ने निर्णयलाई ‘बुद्धिमानी कदम’ भनेर प्रशंसा गरे। उनले त्यहीँबाट चीनको वातावरणीय नीतिको मार्गदर्शक सिद्धान्त बन्ने एउटा ऐतिहासिक भनाइ राखे, ‘सफा पानी र हरिया पहाडहरू अमूल्य सम्पत्ति हुन्।’

भ्रमणको एक हप्तापछि झेजियाङ डेली पत्रिकामा प्रकाशित एउटा लेखमा सीले यो विचारलाई अझ विस्तार गर्दै लेखे, ‘पारिस्थितिक र वातावरणीय शक्तिहरूलाई इको-कृषि, इको-उद्योग र इको-पर्यटनको फाइदामा रूपान्तरण गरेर सफा पानी र हरिया पहाडहरू साँच्चै अमूल्य सम्पत्ति बन्न सक्छन्।’

गाउँलेहरूको प्रतिव्यक्ति आय २० वर्षको अवधिमा सात गुणाले वृद्धि हुँदै ७ हजार युआनबाट ४८ हजार युआनभन्दा माथि पुगेको छ।

पन्ध्र वर्षपछि, सन् २०२० मा सी जिनपिङ चिनियाँ राष्ट्रपति र सीपीसी केन्द्रीय कमिटीको महासचिवको हैसियतमा पुनः सोही काउन्टीमा फर्किए। त्यतिबेलासम्म ‘सफा पानी र हरिया पहाडहरू अमूल्य सम्पत्ति हुन्’ भन्ने भनाइ राष्ट्रिय सहमति र चीनको नयाँ विकास दर्शनको मुख्य सिद्धान्त बनिसकेको थियो। दोस्रो पटक गाउँलेहरूलाई सम्बोधन गर्दै सीले भने, ‘वातावरणलाई नष्ट गरेर गरिने आर्थिक वृद्धि दिगो हुँदैन भन्ने कुरा अनुभवले देखाइसकेको छ।’

china anji county (8)

  • हरित क्रान्तिको प्रतिफल : वातावरणसँगै अर्थतन्त्रको उडान

आन्जी काउन्टीले हरित, न्यून कार्बन विकास र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर आफ्ना प्राकृतिक सम्पत्तिहरूलाई वास्तविक आर्थिक र सामाजिक लाभमा परिणत गरेको छ। वातावरणीय संरक्षणलाई पहिलो प्राथमिकतामा राखेका कारण यहाँको वायुको गुणस्तर वर्षको ९० प्रतिशतभन्दा बढी दिनहरूमा उत्कृष्ट रहन्छ। सतहको पानी, पिउने पानी र सीमापार बहने पानी सबैले निरन्तर रूपमा राष्ट्रिय गुणस्तर मापदण्ड पूरा गरेका छन्।

china anji county (6)

आर्थिक आँकडाले पनि यो सफलताको पुष्टि गर्छ। विगत २० वर्षमा आन्जीका ग्रामीण बासिन्दाहरूको औसत वार्षिक प्रतिव्यक्ति खर्चयोग्य आम्दानी ७ हजार ३४ युआनबाट बढेर ४८ हजार ८ सय ७९ युआन पुगेको छ। यो झण्डै सात गुणाको वृद्धि हो। खानीबाट आउने क्षणिक पैसाभन्दा प्रकृति जोगाएर आउने दिगो पैसा धेरै हुन्छ भन्ने कुरा आन्जीले प्रमाणित गरिदिएको छ।

आज आन्जीको ७० प्रतिशतभन्दा बढी भूभाग जंगलले ढाकेको छ, जसमा अधिकांश बाँसका घारीहरू छन्। कुनै समय धुलो र प्रदूषणका कारण बेवास्ता गरिएका गाउँहरू अहिले पकेट पार्क, हाइकिङ ट्रेल, खुला चिया पसल र हातले कफी बनाउने आर्टिसनल कफी सपहरूको घर बनेका छन्।

दिगो विकासको यो बाटो त्यति सजिलो भने थिएन। हरित र न्यून कार्बन विकास हासिल गर्न आन्जीले वैज्ञानिक र प्राविधिक आविष्कारको माध्यमबाट हरित विकासको बाटो खोज्यो। 

china anji county (12)

यस क्रममा काउन्टीले वातावरण मैत्री नभएका र मापदण्ड नपुगेका १५० वटा ठूला परियोजनाहरूलाई ठाडै अस्वीकार गरिदियो। यसको अर्थ ठूलो मात्रामा जीडीपी (कुल गार्हस्थ्य उत्पादन) गुमाउनु थियो। यद्यपि, उच्च ऊर्जा खपत गर्ने र उच्च प्रदूषण फैलाउने ती परियोजनाहरूले स्थानीय वातावरणीय मूल्याङ्कन मापदण्ड पूरा गर्न नसकेपछि सरकारले सम्झौता गरेन। 

ग्रामीण क्षेत्रमा कफी सप, ट्रेकिङ ट्रेल र आधुनिक सुविधाहरू विकास भएसँगै ५० हजारभन्दा बढी युवा र ‘डिजिटल नोम्याड’ हरू गाउँ फर्किएका छन्।

सन् २०१८ यता लगानी समीक्षा संयन्त्रलाई निरन्तर परिमार्जन गरिएको छ, तर आन्जीमा वातावरणीय संरक्षण सधैं सबैभन्दा महत्त्वपूर्ण सर्त रहने गरेको छ।

  • बाँस र चियाको बलमा युवाहरूको पुनरागमन

china anji county (13)

काउन्टीले आर्थिक विकास र वातावरणीय संरक्षणबिच सन्तुलन कायम गरिरहेको छ। कृषि र पर्यटनको क्षेत्रमा हरित विकासलाई जोडतोडका साथ अघि बढाइएको छ। वर्षौंदेखि आन्जीले बाँस प्रशोधन उद्योगलाई आक्रामक रूपमा विकास गरिरहेको छ। यहाँ बाँसको अधिकतम उपयोग गरिन्छ। बाँसका भाँडाकुँडा, बाँसको फिल्म ब्याग र बाँसका स्ट्रहरू उत्पादन गरी विदेशमा समेत निर्यात गरिन्छ।

यसका साथै, डिजिटल चिया बगानले सेतो चिया (ह्वाइट टी) उत्पादनको सम्पूर्ण प्रक्रियामा गतिशील सुपरिवेक्षण हासिल गरेको छ। सहरबाट आफ्नो गाउँ फर्किएका युवाहरूको समूहले आन्जीमा मेसिनरी, विज्ञान, प्रविधि र डिजिटल व्यवस्थापन भित्र्याएका छन्। सन् २०२२ मा आन्जीले ‘ग्लोबल पार्टनरसिप इनिसिएटिभ’ सुरु गर्‍यो। यसको उद्देश्य डिजिटल नोम्याड, हरित स्टार्टअपहरू र रिमोट वर्करहरूलाई काउन्टीमा बस्न आकर्षित गर्नु थियो।

स्थानीय अधिकारीहरूलाई नै आश्चर्यमा पार्दै यो पहलले निकै छिटो गति लियो। सन् २०२४ को अन्त्यसम्ममा ५० हजारभन्दा बढी युवाहरू व्यवसाय सुरु गर्न वा रोजगारीको अवसर खोज्दै आन्जी आएका छन्। सहर छाडेर गाउँ पस्ने युवाहरूको यो लहरले ग्रामीण अर्थतन्त्रलाई पूर्ण रूपमा चलायमान बनाएको छ।

वातावरणीय मापदण्ड पूरा नगर्ने १५० वटा ठूला परियोजनालाई अस्वीकार गर्दै आन्जीले बाँस र चियाको हरित अर्थतन्त्रबाट सफलता हासिल गरेको छ।

यसको अर्को सफल उदाहरण हो दाझुयुवान गाउँ। आन्जीको लिङ्फेङ सब-डिस्ट्रिक्टको दक्षिणी प्रवेशद्वारमा अवस्थित यो गाउँ काउन्टीको केन्द्रबाट १० किलोमिटर टाढा छ। प्राचिन कालमा अर्कै नामले चिनिने यो गाउँलाई सन् १९४९ पछि यसको ठूला बाँसका जंगलहरूकै कारण ‘दाझुयुवान’ (ठूलो बाँसको बगैँचा) भनेर नामकरण गरिएको थियो। जम्मा ८.७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँमा करिब २ हजार ९३ मानिस बसोबास गर्छन्।

china anji county (1)

पछिल्ला वर्षहरूमा दाझुयुवान गाउँले ‘सुगन्धित खेत र शान्त जीवन’ को अवधारणालाई आत्मसात् गर्दै कृषि पर्यटन र सांस्कृतिक पर्यटनको संयुक्त रणनीति अपनाएको छ। ‘सुगन्धित तरकारी भूमि’ नामक कृषि पहलको सफलतामा टेकेर गाउँले आफ्नो राजस्वका स्रोतहरू बढाएको छ र नवीन ‘ग्रामीण सपनाको कारखाना’ ब्रान्ड सुरु गरेको छ। 

china anji county (21)

उत्कृष्ट आवास, प्रकृतिमा आधारित पर्यटन र स्थानीय परम्परामा आधारित प्रामाणिक सांस्कृतिक अनुभवहरू प्रदान गरेकै कारण यो गाउँले थुप्रै राष्ट्रिय र प्रान्तीय सम्मानहरू प्राप्त गरेको छ। सन् २०२५ सम्ममा यस गाउँले ५३ लाख ८० हजार युआन सामूहिक व्यापार राजस्व संकलन गरेको छ भने किसानको औसत आम्दानी ६३ हजार ८ सय ५२ युआन पुगेको छ।

  • नयाँ युगको मार्गदर्शक सिद्धान्त

यही युकुन गाउँबाट सुरु भएको ‘दुई पहाड’ को सिद्धान्तले आज चीनको पारिस्थितिक संरक्षणमा दूरगामी र गहिरो प्रभाव पारेको छ। सोह्र वर्षपछि ‘सफा पानी र हरिया पहाडहरू नै सुन र चाँदीका पहाड हुन्’ भन्ने भनाइ ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादमा सी जिनपिङ विचारधारा’ को एउटा महत्त्वपूर्ण हिस्सा बनिसकेको छ। यसलाई चिनियाँ जनतामाझ व्यापक रूपमा मान्यता दिइएको छ र यसले देशको हरेक भागमा हरित विकासको प्रयासलाई मार्गदर्शन गरेको छ।

china anji county (17)

नयाँ परिस्थिति, कार्य र आवश्यकताहरूको सामना गर्दै ‘पारिस्थितिक सभ्यताको विकास र सुन्दर चीन निर्माणको प्रणालीमा सुधारलाई गति दिने’ नयाँ दर्शनलाई पछ्याउनु आजको समयको माग बनेको छ। वातावरणीय दोहनलाई रोकेर प्रकृतिसँगको सहअस्तित्वबाट मात्रै दिगो समृद्धि हासिल गर्न सकिन्छ भन्ने कुरा आन्जीले प्रमाणित गरेको छ। 

खानीको धुलोले निसास्सिएको एउटा गाउँले प्रकृतिको बाटो रोज्दा कसरी विश्वकै लागि प्रेरणाको स्रोत बन्न सक्छ भन्ने यो कथा विकासोन्मुख देशहरूका लागि एउटा महत्त्वपूर्ण पाठ हो। आन्जीको यो मोडलले नयाँ युगमा हरित विकासको एउटा नयाँ र सुनौलो अध्याय सुरु गरेको छ।

china anji county (14)china anji county (15)china anji county (16)china anji county (18)china anji county (19)china anji county (20)china anji county (22)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप