बदलिएको भारतको प्रभावका लागि तयार होऔँ
सारांश
- भारतीय जनता पार्टी (भाजपा) ले पश्चिम बंगालमा हासिल गरेको विजयले मोदीको अधिनायकवादी शासनको सिद्धान्तलाई धक्का दिएको छ ।
- भाजपाको यो विजयले क्षेत्रीय एवं सांस्कृतिक बन्धनहरूलाई तोड्ने क्षमता प्रदर्शन गरेको छ, जसले भारतीय राजनीतिमा नयाँ अध्यायको सुरुवात गरेको छ ।
- भाजपाको सफलता हिन्दु दक्षिणपन्थको समकालीन विश्वमा सबैभन्दा सफल राजनीतिक आन्दोलनको रूपमा स्थापित भएको छ, जसले आगामी दशकमा एसियाको शक्ति सन्तुलनलाई प्रभाव पार्नेछ ।
वर्षौंदेखि पश्चिमा उदारवादी तथा भारतभित्रका विपक्षी राजनीतिक शक्तिहरू एउटा सिद्धान्तका आधारमा आशावादी थिए । उनीहरूको नजरमा नरेन्द्र मोदी अधिनायकवादी हुन् र भारतको असाधारण विविधताले अन्ततः त्यस्तो बलियो शासक वा अधिनायकवादीलाई भारतले थेग्न सक्दैन । त्यसो हुँदा मोदीको अनुदारवादी शासन स्वाभाविक रूपमा अप्ठेरोमा पर्नेछ ।
तर, गत सोमबार उनीहरूको त्यस्तो सिद्धान्तले सम्भवतः सबैभन्दा ठूलो धक्का खाएको छ । भारतको इतिहासमै सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा उदाएको भारतीय जनता पार्टीले उल्लेखनीय जित हात पारेको छ ।
अन्य प्रान्तहरूमा चलेको निर्वाचन र विजयको खबरहरूबिच पश्चिम बंगालको विजय भने साँच्चिकै महत्त्वपूर्ण छ । सामान्यतः पश्चिम बंगाललाई मोदी र उनको दलले ‘अपिल’ गर्न नसक्ने मानिन्थ्यो । क्यालिफोर्निया, टेक्सास र न्युयोर्क जोड्दा हुने जनसङ्ख्याभन्दा धेरै मानिस बस्ने, सांस्कृतिक रूपमा भारतका अन्य क्षेत्रभन्दा फरक तथा आक्रामक रूपमा स्वायत्त मानिएको पश्चिम बंगालमा भारतीय जनता पार्टीले विजय हासिल गरेको छ । पक्कै पनि भारतको प्रतिपक्षले आफ्नो पछिल्लो एवं उल्लेखनीय क्षतिबाट छिट्टै पाठ सिक्छ होला ।
गत सोमबार आएको नतिजाले एउटा राज्यमा देखिएको सामान्य सत्ता परिवर्तनको मात्रै सङ्केत गर्दैन । दशकौंदेखि भारतका बलिया क्षेत्रीय राजनीतिक दलहरू भारतीय जनता पार्टीको राष्ट्रिय विस्तारमा सशक्त अवरोध खडा गर्दै आएका छन् । स्थानीय रूपमा जनस्तरमै जोडिएका, आफ्नो प्रान्तको भाषा तथा पहिचानबारे मुखर यस्ता दलहरूकै कारण उत्तरी भारतको हिन्दी भाषी क्षेत्रमा प्रभावशाली मानिएको भाजपाले ती प्रान्तहरूमा आफ्नो पाइला राख्न सकेको थिएन ।
ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेस पश्चिम बंगालमा त्यस्तै प्रभावशाली मानिन्थ्यो । त्यसको उपस्थितिले भारतको बहुलतालाई कुनै एक पार्टीले मात्रै बाँधेर राख्न नसक्ने धारणामा तृणमूल कांग्रेसले भरपर्दो विश्वसनीयता प्रदान गरेको थियो । अझै भाजपाजस्तो एकल सांस्कृतिक राष्ट्रियताको बलियो दृष्टिकोण बोकेको दललाई त अझै अप्ठेरो मानिएको थियो । तर गत सोमबार बनर्जीलाई हराएसँगै भाजपाले अबको दिनमा क्षेत्रीय एवं सांस्कृतिक बन्धनहरू पनि सहजै तोड्न सक्ने देखाएको छ ।
भाजपाका प्रतिद्वन्द्वीहरू भाजपाको ओह्रालो लाग्ने दिन पर्खिरहन सक्छन् तर त्यस्तो दिन तत्काल आउने कुनै छाँटकाँट देखिँदैन । समग्र परिस्थितिलाई नजिकैबाट नियाल्दा आगामी दशकका लागि तयार हुनुपर्ने अवस्था छ ।
यो जितभन्दा अघि नै भारतमा भाजपाले जितेका प्रान्तहरूको सङ्ख्या धेरै ठूलो भइसकेको थियो । अन्य धेरै आँकडामा भाजपा माथि देखिइसकेको थियो । आजका दिनमा भाजपाले १४ करोड पार्टी सदस्य रहेको दाबी गरेको छ । धरतीमा भएका कुनै पनि पार्टीको भन्दा यो सङ्ख्या धेरै ठूलो हो । सदस्य सङ्ख्याको हकमा यसको निकटतम प्रतिद्वन्द्वी मानिएको चिनियाँ कम्युनिस्ट पार्टीको सदस्य सङ्ख्या केवल ४० प्रतिशतको हाराहारीमा छ ।
मोदीको नाममा इतिहासमै सबैभन्दा धेरै मत खसेको छ । अन्य विश्व नेताहरूको तुलनामा उनले करोडौँ मत बेसी पाइसकेका छन् । ‘मर्निङ कन्सल्ट’ नामको वैश्विक नेताहरूको स्वीकार्यताबारे अध्ययन गर्ने संस्थाका अनुसार मतको आधारमा हेर्दा नरेन्द्र मोदीले अन्य लोकतान्त्रिक रूपमा निर्वाचित नेताहरूलाई सहजै पछि पारेका छन् ।

यी सबै आँकडालाई लोकतन्त्रमा शक्तिका रूपमा रूपान्तरण गरेको आधारमा हिन्दु दक्षिणपन्थ समकालीन विश्वको सबैभन्दा सफल राजनीतिक आन्दोलन बनिसकेको छ ।
आलोचकहरू भने केही फरक मत राख्ने गर्छन् । उनीहरूको फरक मत तर्कहीन भने छैन । उनीहरूका अनुसार निर्वाचनको सफलताले मात्रै लोकतन्त्रको तागत देखाउँदैन । साथै भाजपा र भारतको विस्तारित हिन्दु राष्ट्रवादी आन्दोलनले त्यहाँका उदार संस्थाहरू, प्रेस स्वतन्त्रता तथा बहुल सामाजिक एकतामा नकारात्मक प्रभाव पारिरहेको उनीहरूको तर्क छ ।
अल्पसङ्ख्यकहरू मोदी शासनमा हिंसा र विभेदको सिकार हुँदै गरेको बताइएको छ । उनीहरूका अनुसार मतपत्र र मतदानको अवस्था पनि बाहिर देखिएजस्तो छैन । भाजपाले निर्वाचनका नियमहरू तोडमरोड गर्दै खेलका नियमहरू नै आफू अनुकूल बनाएको छ । निर्वाचन आयोगलाई स्वतन्त्र रहन दिएको छैन । निर्वाचनमा चन्दा वा दान सहयोग गर्ने प्रणालीलाई आफ्नो अनुकूलतामा ढाल्दै अन्य प्रतिद्वन्द्वीको तुलनामा ठूलो वित्तीय लाभ हासिल गर्ने प्रबन्ध मिलाउने गरेको छ । पश्चिम बंगालमा निर्वाचनभन्दा अघि करिब ९० लाख मतदातालाई मताधिकारबाट वञ्चित गर्नेगरी नामावलीबाट नाम हटाएको भनिएको छ ।
त्यो सङ्ख्या कुल मतदाताकै करिब १२ प्रतिशत हाराहारी हुन आउँछ । निर्वाचन आयोगले दोहोरिएको, अयोग्य तथा मृत मतदाताको नाम हटाएको बताए तापनि आलोचकहरू भने त्यसरी हटाइएकाहरूमा ठूलो सङ्ख्यामा मुसलमान मतदाता रहेको उल्लेख गर्छन् । ती मतदाताहरूको ठूलो हिस्साले भाजपाको विपक्षमा मतदान गर्ने भएकाले उनीहरूलाई मतदाताको सूचीबाट हटाइएको बताइएको छ ।
ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेस पश्चिम बंगालमा प्रभावशाली मानिन्थ्यो तर मोदीका नाममा इतिहासमै सबैभन्दा धेरै मत खसेको छ । अन्य विश्व नेताहरूको तुलनामा उनले करोडौँ मत बेसी पाइसकेका छन् ।
तर भाजपाको सफलतालाई हामीले निर्वाचनको चलाख परिचालनसँग मात्रै जोडेर हेर्न मिल्दैन । पश्चिम बंगालमा भाजपाले करिब दुई तिहाइ स्थानमा विजय हासिल गरेको छ । आफ्नो स्थापनाको ५० वर्ष पुग्दा नपुग्दै कुनै समय नगण्य राजनीतिक शक्ति ठानिएको भाजपा अहिले भारतका २१ वटा प्रान्तमा सरकार बनाउन सफल भएको छ । भारतको स्वतन्त्रताकै नेतृत्व गरेको भारतीय राष्ट्रिय कांग्रेस भने जम्मा ४ प्रदेशमा सीमित हुन पुगेको छ ।
भाजपा र कांग्रेसको भिन्नता पनि चर्चायोग्य छ । आजको कांग्रेसले राजनीतिक प्रभाव आफ्नो विरासतमा पाएको हो । भारतको स्वतन्त्रता सङ्ग्राममा उसको अगुवाइ थियो । भारतभित्रका अङ्ग्रेजी बोल्ने सम्भ्रान्तहरूमा उसको पकड थियो । उसले आधा शताब्दी लामो आफ्नो शासनको दौरान विभिन्न संस्थाहरू बनायो । समाजलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे संसारभर चलेका विचारहरूबाट छानेर उसले भारतमा त्यसको प्रयोग गर्यो ।

उता भाजपाको कथा अलिक भिन्न छ । उसले आफ्नो वर्चस्वको निर्माणमा धेरै अप्ठेरो बाटो अपनायो । दशकौंसम्म जनस्तरमा सङ्गठन निर्माणको अभियान चलायो । विभिन्न जाति, भाषा, क्षेत्र तथा धर्ममा आफ्नो विचार अनुकूल मसिनो गठबन्धन बनाउँदै गयो । यो सबै मिहिनेतलाई मतमा रूपान्तर गर्यो ।
आज भाजपाको सफलताको जगका रूपमा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) मातहतका सङ्गठनहरूको समूह अर्थात् संघ परिवार छ । आरएसएस सय वर्ष पुरानो विवादास्पद हिन्दु राष्ट्रवादी स्वयंसेवक सङ्गठन हो । यसको ध्यान हिन्दु समाजको पुनर्जागरणका लागि करोडौँ कार्यकर्ताहरू तथा दर्जनौँ सङ्गठनहरू हुर्काउनेमा छ । भाजपा उसैको मातहतको सङ्गठन हो । भाजपाको अलावा आरएसएसले अन्य धेरै सङ्गठनहरूमार्फत आफ्नो सन्देश फैलाउँछ ।
आजका दिनमा भारतमा सबैभन्दा ठूलो मजदुर युनियन, निजी विद्यालयको सञ्जाल, विद्यार्थी युनियन तथा हिन्दु धार्मिक अगुवाहरूको प्रभावशाली सङ्गठन सबै आरएसएसको मातहतका सङ्गठन हुन् । यही मौलिक स्वरूपको सञ्जाल, भारतीय समाजमा तिनीहरूबिचको वैचारिक तथा सामाजिक सम्बन्धलाई सम्झौता र गठबन्धन निर्माणको मसिनो काममार्फत आजको भाजपाको असाधारण उदयको आधार तयार पारिएको थियो ।
विश्व महाशक्तिहरूको बिचमा भारतले आफ्नो भूमिका बढाएसँगै भाजपाले पनि आफ्नो शक्ति थप सुदृढ गरिरहेको छ । सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक, सेनाको सङ्ख्याको हिसाबले दोस्रो ठूलो सैन्य शक्ति, तेस्रो ठूलो अर्थतन्त्र बन्ने सम्मुखमा रहेको मुलुक एवं एसियामा चीनलाई सन्तुलनमा राख्न सक्ने सम्भावना बोकेको मुलुकका रूपमा भारतले आफूलाई विश्व राजनीतिमा प्रस्तुत गरिरहेको छ ।
यी तमाम परिस्थितिहरूको बिचमा पश्चिम बंगालमा भाजपाको जितले अझै उसको विस्तार नरोकिने देखाउँदैछ । भाजपाका प्रतिद्वन्द्वीहरू त अझै उनीहरूले आशा गरेजस्तो भाजपाको ओह्रालो लाग्ने दिन पर्खिरहन सक्छन् । त्यस्तो दिन तत्काल आउने कुनै छाँटकाँट भने देखिँदैन । समग्र परिस्थितिलाई नजिकैबाट नियालिरहेकाहरू भने अब भारतको आगामी दशकका लागि तयार हुनुपर्ने अवस्था छ । आगामी दशकमा एसियाको शक्ति सन्तुलन हिन्दु दक्षिणपन्थको व्यापक जगमा निर्माण हुँदै गरेको हेर्न र भोग्न तयार हुनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
-
सातै प्रदेशका ‘टपर’ नेताहरू को–को हुन् ? हेर्नुहोस् सर्वाधिक मत ल्याउने ७ उम्मेदवार
-
रास्वपा उपसभापतिमा ‘हेभिवेट’ महिला नेतृहरूको रोचक भिडन्त
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
-
रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
-
रास्वपा भूगोलतर्फको चुनावी नतिजा: प्रदेशबाट कसले कति मत पाए ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण