शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पुस्तक समीक्षा

अस्तित्व र युद्धका कथा : अन्तिम साँझ

शनिबार, २६ वैशाख २०८३, १५ : २७
शनिबार, २६ वैशाख २०८३

सारांश

  • केदार सङ्केतको कथासङ्ग्रह 'अन्तिम साँझ' पहिचानको अन्तर्सम्बन्धलाई अन्वेषण गर्ने संवेदनात्मक खोज हो ।
  • यसमा प्रवासी जीवनको अस्थिरता, पारिवारिक द्वन्द्व, युद्धको भयावह यथार्थ र सांस्कृतिक विचलनजस्ता विषयहरूलाई समेटिएको छ ।
  • कथासङ्ग्रहले मानवीय अस्तित्वका दार्शनिक, सामाजिक र मनोवैज्ञानिक आयामहरूलाई प्रयोगशील शैलीमार्फत प्रस्तुत गरेको छ ।

मानिसलाई एकसूत्रको कथा वा स्थिर पहिचानको रूपमा किमार्थ व्याख्या गर्न सकिँदैन, किनकि मानिसको जीवन निरन्तर उद्घाटित, विघटित र पुनर्गठित हुँदै जाने जटिल महाआख्यान हो । 

यसैकारण मानिस एकल चरित्रमा सीमित रहँदैन, ऊ बहुचरित्रताको जटिल अन्तरसंरचनामा अवस्थित हुन्छ । कहिले कथाकार बनेर अर्थ निर्माण गर्छ, कहिले आफ्नै कथाको पात्र बनेर नियतिलाई भोग्छ । कहिले त्यही कथाभित्र मौन साक्षी बनेर आफ्नै अस्तित्वलाई सुदूरबाट अवलोकन गर्छ ।

यही मानवीय अस्तित्वलाई केन्द्रमा राखेर साहित्यकार केदार सङ्केतद्वारा रचित ‘अन्तिम साँझ’ कथासङ्ग्रह आएको छ । यो कृति केवल कथाहरूको सङ्ग्रह नभएर पहिचानको अन्तर्सम्बन्धलाई अन्वेषण गर्ने गहिरो संवेदनात्मक खोज भएर आएको छ ।

बेलायत भूमिमा तीन दशकदेखि साहित्य साधनामा सक्रिय साहित्यकार सङ्केत प्रवासी नेपाली साहित्यिक परिदृश्यमा एक स्थापित र विशिष्ट नाम हुन् । यस कृतिभित्र पनि सङ्केतले आफ्ना सृजनात्मक प्रवृत्ति र लेखन दृष्टिलाई सोही सन्दर्भमा आत्मपरक तर विश्लेषणयोग्य ढङ्गले प्रस्तुत गरेका छन् ।

‘समयसँगको निरन्तर संवाद’ भन्ने अभिव्यक्तिले कृतिमा समयबोध र अनुभवबीचको अन्तरसम्बन्धलाई सूचित गर्दछ, जहाँ विगत, वर्तमान र भवितव्यका प्रवाह आपसमा गाँसिएका देखिन्छन् । यसैगरी, शब्दहरूलाई केवल अभिव्यक्तिको माध्यमभन्दा आत्माभित्रका मौन वेदना, अनुत्तरित प्रश्न र भोगाइका प्रत्यक्ष साक्ष्यका रूपमा प्रस्तुत गरिनुले कृतिमा आत्मस्वीकृति र अन्तर्मुखी संवेदनशीलताको गहिरो उपस्थिति प्रकट गर्दछ ।

जीवन र मृत्यु, मिलन र विछोड, प्रेम र घृणा, भ्रम र भय, मृगतृष्णा र सम्झनाहरू–यी सबै केवल भावनात्मक अवस्थाहरू नभएर मानवीय अस्तित्वका परस्पर विरोधाभासी तर अपरिहार्य आयामहरू हुन् । यिनै आयामहरूबीचको सूक्ष्म द्वन्द्व र समन्वयले जीवनलाई एकरेखीय घटनाक्रमबाट बाहिर निकालेर बहुरङ्गी अनुभवको कोलाजमा रूपान्तरण गर्छ । प्रत्येक कथा अनुभूतिको एक पृथक् आयाम हो ।

नेपालीको ठूलो घनत्वमा बसोबास रहेको यो क्षेत्र ‘सानो नेपाल’को प्रतिरूप बुझ्न सकिन्छ ।

पहिलो शीर्षक ‘फ्रेडको घरको त्यो छाया’मा चित्रित पात्र केबी विशेषतः प्रवासी जीवनको अस्थिरता र आवासीय संघर्षको प्रतिनिधि स्वरूपमा उभिन्छ । बेलायतमा बारम्बार कोठा सर्नुपर्ने बाध्यता, अस्थिर बसोबास र त्यससँग जोडिएको मानसिक तथा सामाजिक असुरक्षाले प्रवासी समुदायको यथार्थपरक अनुभवलाई सङ्केत गर्दछ । यस दृष्टिले कथा व्यक्तिगत अनुभवभन्दा पनि संरचनागत सामाजिक अवस्थाको प्रतिबिम्ब बन्न पुग्दछ । सन् २०१२ देखि २०२६ सम्म आइपुग्दा लन्डनका कैयौं कुनाकाप्चामा डेरा सर्दै म र मेरी श्रीमती हिँड्यौँ होला– म स्वयं भुक्तभोगी हुँ ।

‘सम्बन्धको जगेर्ना’ शीर्षक कथामा बेलायतको सुप्रसिद्ध स्थान ‘अल्डरसट’को परिवेश देखाइएको छ । 

नेपालीको ठूलो घनत्वमा बसोबास रहेको यो क्षेत्र ‘सानो नेपाल’को प्रतिरूप बुझ्न सकिन्छ । कथामा फिराधन माइलाको जटिल वैवाहिक जीवनमा कान्छी श्रीमती कोजीको आगमन र सन्तान प्राप्तिपछि उत्पन्न पारिवारिक द्वन्द्व तथा त्यसले ल्याएको विघटनमार्फत जेठी पत्नीका सन्तानहरूलाई नेपालबाट ल्याइने प्रसङ्ग प्रस्तुत गरिएको छ । 

यस क्रममा हाम्रो समाजमा अझै जीवित रहेको पुरातनवादी सोच, सौतिनी आमाको विभेद र हेलाको प्रवृत्ति गहिरो रूपमा उजागर भएको छ, जुन बाँकी अन्य पछील्ला कथाहरूमा पनि पुनरावृत्ति भएको पाइन्छ  ।

यस सन्दर्भमा प्रश्न उठ्छ–के हामी लेखक अझै पनि यस्तै कथात्मक विषयवस्तु लेखिरहन अभिशप्त छौँ ? के सौतेनी आमा भन्ने पात्रलाई सधैँ विभेदकारी छविमै सीमित गर्नु न्यायसङ्गत हुन्छ ? यस्तो पुनरावृत्त चित्रणले समाजका जटिल सम्बन्धहरूलाई उजागर गरे पनि कतिपय अवस्थामा एउटै पूर्वनिर्धारित छविलाई निरन्तर दोहोर्‍याउने जोखिमले समाजलाई यथास्थितिमा फर्काइरहेको हुन्छ ।

यस सन्दर्भमा अभिभावकीय अनुशासन र बालअधिकार संरक्षणसम्बन्धी कानुनी प्रावधानबीचको असन्तुलन स्पष्ट रूपमा देखिन्छ ।

यस कथामा नयाँ शैलीका उखान–टुक्काहरूको सिर्जनात्मक प्रयोग उल्लेखनीय छन् जस्तै ‘के खोज्छस् भक्त देवता’, ‘जसको घाँस खायो उसैको बारी मल्नु’, र ‘घिउ कहाँ पोखियो आफ्नै भागमा’ । यी अभिव्यक्तिहरूले परम्परागत लोकबोधलाई समकालीन सन्दर्भसँग जोड्दै कथात्मक अर्थलाई थप तीक्ष्ण र प्रभावकारी बनाएका छन् ।

कथाको सबैभन्दा वेदनादायक पक्ष अभिभावकहरूले आफ्ना सन्तानलाई नेपालकै जस्तो संस्कार, अनुशासन र मूल्य–मान्यताअनुसार हुर्काउने प्रयास गर्दा युकेको कानुनी तथा सामाजिक संरचनासँग उत्पन्न हुने टकरावमा निहित छ । 

यस सन्दर्भमा अभिभावकीय अनुशासन र बालअधिकार संरक्षणसम्बन्धी कानुनी प्रावधानबीचको असन्तुलन स्पष्ट रूपमा देखिन्छ ।

माइनरमाथि हुने शारीरिक वा मनोवैज्ञानिक हिंसाका घटनामा राज्यका सम्बन्धित निकायले हस्तक्षेप गरी बालबालिकालाई अभिभावकबाट अलग गर्ने अवस्थासम्म पुग्न सक्छ, जसले पारिवारिक सम्बन्ध र सांस्कृतिक मूल्यहरूबीचको संवेदनशील द्वन्द्वलाई अझ जटिल बनाउँछ । यही पीडादायी यथार्थ कथाको अन्त्यमा प्रकट हुन्छ, जसले सम्पूर्ण घटनाक्रमलाई अझ मार्मिक निष्कर्षतर्फ डोर्‍याउँछ ।

‘शिकारी मुखिया’ तुलनात्मक रूपमा कथासङ्ग्रहभित्र सबैभन्दा कमजोर लागेको कथा हो । यद्यपि यसको प्रारम्भिक संरचना असामान्य देखिए पनि अन्त्यतिर लेखकले रहस्यलाई अप्रत्याशित मोड दिने कथात्मक चतुरता देखाउन सफल भएका छन्, जसले कथालाई अन्तिम क्षणमा पुनः सशक्त बनाउँछ ।

‘सिङ्गापुरे सारी’ कथामा मोहन र आस्थाको असफल वैवाहिक सम्बन्धलाई केन्द्रमा राख्दै आस्थाको दुर्गेशसँगको गुप्त सम्बन्ध, झुटो प्रेम, यौनप्रतिको आसक्ति र अमर्यादित लोकाचारजस्ता विरोधाभासहरूलाई अत्यन्त संवेदनशील ढङ्गले प्रस्तुत गरिएको छ ।

घात–प्रतिघात र द्वन्द्वले सम्बन्धको भित्री अस्थिरता तथा मानवीय इच्छाहरूको जटिल मनोविज्ञानलाई अझ गहिरोसँग उजागर गरेको छ । यो कथा पढिसकेपछि बीपी कोइरालाको ‘नरेन्द्र दाइ’ उपन्यासको स्मरणमा आउँछ जहाँ त्रिकोणात्मक प्रेमको संरचना भेटिन्छ । तर यहाँ फरक के देखिन्छ भने लेखकले नारी पात्रलाई केन्द्रमा राख्दै उनलाई कथाको निर्णायक र गतिशील भूमिकामा उभ्याएका छन्, जसले कथालाई परम्परागत दृष्टिबाट अलग पहिचान दिएको छ । 

‘अन्तिम साँझ’ पुस्तकको शीर्षक कथाले युद्धको भयावह यथार्थलाई केन्द्रमा राख्दै मानवीय संवेदनामाथि परेको गहिरो आघातलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ । 

कथाको अन्त्यमा परिवारको महत्त्व र अस्तित्वलाई पुनःस्थापित गर्दै सम्बन्धको पुनर्स्थापनातर्फ उन्मुख देखाइनुले कथालाई निश्चित सदाचार–शिक्षात्मक दिशातर्फ अग्रसर गराएको छ । यस सन्दर्भमा क्षमा गर्न कठिन वा असम्भवजस्तो देखिने गल्तीहरू वैवाहिक सम्बन्धको यथार्थमा अस्वाभाविक रूपमा उत्पन्न हुन सक्ने पक्ष हुन् तर तिनलाई स्वीकार गर्दै सुधारतर्फ अग्रसर हुनु नै जीवनलाई अर्थपूर्ण बनाउने आधारका रूपमा कथा प्रस्तुत गरिएको छ ।

यस कथामा साँचो प्रेमलाई साँचो क्षमासँग जोडेर हेरिएको छ, जहाँ क्षमा नै वैवाहिक सम्बन्धलाई टिकाइराख्ने प्रमुख आधार बन्न पुग्छ । यदि कुनै सम्बन्धमा साँचो हृदयले क्षमा गर्न सक्ने क्षमता छैन भने त्यस्तो प्रेम अपूर्ण ठहरिन्छ भन्ने विचार यहाँ अभिव्यक्त हुन्छ । साँचो प्रेमले धोका, बदला वा प्रतिशोधको भाषा बोल्दैन । यसले ईर्ष्या, डाहा वा नकारात्मकतामा अडान लिँदैन, बरु कमजोरी र त्रुटिहरूलाई बुझ्दै सम्बन्धलाई पुनःसन्तुलित गर्ने समझदारी खोज्छ । यही नै यस कथाबाट प्राप्त हुने मूल्यगत र व्यवहारिक पाठ हो ।

‘अन्तिम साँझ’ पुस्तकको शीर्षक कथाले युद्धको भयावह यथार्थलाई केन्द्रमा राख्दै मानवीय संवेदनामाथि परेको गहिरो आघातलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ । 

कथाको भावभूमि अत्यन्त विदारक र पीडादायी देखाइएको छ । युद्धलाई केवल घटनात्मक नभई अस्तित्वगत सङ्कटका रूपमा उजागर गरेको छ ।

लेखक स्वयं युद्धको प्रत्यक्ष अनुभवमा संलग्न भएका हुन सक्ने वा पात्रहरूको अनुभूतिबाट प्रभावित भएर लेखिएको हुन सक्ने सम्भावना देखिन्छ । तथापि, कथामा युद्धको स्पष्ट राजनीतिक वा धार्मिक वा जातीय कुनै पनि पृष्ठभूमि अझ सशक्त रूपमा प्रस्तुत गरिएको भए यसको प्रभावकारिता अझ गहिरो बन्न सक्थ्यो ।

कथामा प्रयोग गरिएका पात्र–नामहरूको चयनले केही सांस्कृतिक र सन्दर्भगत प्रश्नहरू उठाउँछ । उदाहरणका लागि, इभान मुस्लिम समुदायमा सामान्यतया नपाइने नाम हो भने इल्दा इसाई सन्दर्भमा पनि अपेक्षाकृत असामान्य देखिन्छ । तथापि, नामहरूको यथार्थभन्दा पनि कथाको भाव, प्रतीकात्मकता र सन्देश नै यहाँ प्रमुख तत्त्वका रूपमा स्थापित हुन्छ ।

यसरी कथा केवल एक भौगोलिक वा ऐतिहासिक युद्धको पुनर्कथनमा सीमित नरही, स्थानीय र वैश्विक द्वन्द्व–अनुभवबीच संवाद स्थापित गर्ने माध्यमका रूपमा उभिन्छ ।

यस कथामा दुई धार्मिक दृष्टिले संवेदनशील–ब्लासफेमी मानिने घटनाहरू प्रस्तुत गरिएको देखिन्छ । मुसलमान पात्र इभानले इस्लाम धर्मले निषेध गरेको रक्सी सेवन गरेको प्रसङ्ग र इसाई धर्मको ‘टेन कमान्डमेन्ट्स’मा स्पष्ट रूपमा उल्लेख गरिएको 'झुट नबोल्नु' भन्ने आज्ञाविपरीत स्लोभानिजले आफ्ना सन्तानलाई झुट बोल्न सिकाएको प्रसङ्ग यसका उदाहरण हुन् । यी प्रसङ्गहरू कथाको संवेदनशील पक्षका रूपमा उभिन्छन् ।

यद्यपि, सम्भवतः लेखकले युद्धको त्रासदी र अस्तित्वको सङ्कटलाई पृष्ठभूमिमा राख्दै धार्मिक नियमभन्दा जीवन बाँच्ने प्राथमिकता कहिलेकाहीँ अघि आउन सक्छ भन्ने अर्थतर्फ सङ्केत गर्न खोजेको हुन सक्छ ।

बोस्नियाली युद्धका क्रममा देखिएको सम्भावित जातीय हिंसासँग सम्बन्धित यो कथा, जसमा सिङ्गो गाउँ नै अस्तित्वबाटै विनाश हुने जस्ता घटनाहरू समेटिएका छन् । युद्धलाई मानवताविरोधी, समाज–विनाशकारी र सभ्यता–विघटनको प्रक्रियाका रूपमा प्रस्तुत गरिएको छ । 

यस सन्दर्भमा कथाले बोस्नियाली युद्धको अनुभूतिलाई मात्र चित्रण नगरी नेपालको जनयुद्धसँग पनि गहिरो र अप्रत्यक्ष समानान्तरता स्थापित गरेको देखिन्छ ।

यसरी कथा केवल एक भौगोलिक वा ऐतिहासिक युद्धको पुनर्कथनमा सीमित नरही, स्थानीय र वैश्विक द्वन्द्व–अनुभवबीच संवाद स्थापित गर्ने माध्यमका रूपमा उभिन्छ । यसले पाठकलाई युद्धको सार्वभौमिक मानवीय पीडा, यसको संरचनागत हिंसा र स्मृतिगत प्रभावबारे पुनर्विचार गर्न बाध्य बनाउँछ ।

विषयवस्तु र रूपविन्यासगत दृष्टिले यो शीर्षकीय कथा अत्यन्त शक्तिशाली भए पनि यसलाई कथासङ्ग्रहभित्र समावेश गर्नु उपयुक्त हो वा छुट्टै विशुद्ध युद्धकथाका रूपमा प्रस्तुत गरिएको भए यसको प्रभाव अझ सशक्त र युद्ध–साहित्यको निश्चित विधामा केन्द्रित हुन सक्थ्यो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्दछ ।

  • प्रतीकात्मक र साङ्केतिक शैली

धेरै कथाहरूमा इरोटिक तहको उपस्थिति देखिए पनि ती सबै प्रतीकात्मक र साङ्केतिक शैलीमार्फत प्रस्तुत गरिएका छन् । यौनिक अनुभूतिलाई प्रत्यक्ष दृश्यात्मक रूपमा नभई भाषिक कल्पनाशीलतामार्फत अभिव्यक्त गर्नु स्वयंमा चुनौतीपूर्ण सृजनात्मक अभ्यास हो ।

सांस्कृतिक संवेदनशीलता तथा नारी अस्मितासँग सम्बन्धित सम्भावित प्रश्नहरूलाई ध्यानमा राखिएको दृष्टिकोणबाट लेखकले सम्भवतः प्रत्यक्ष प्रस्तुतीकरणभन्दा इतर मार्ग रोजेको देखिन्छ । धेरै स्थानमा यस्ता प्रसङ्गहरू जानाजानी धुमिल, सङ्केतात्मक वा ‘ब्लर’ शैलीमा प्रस्तुत गरिएको अनुभूति हुन्छ, जसले अर्थलाई खुला छोड्दै पाठकीय व्याख्यालाई स्वतन्त्र बनाइदिएको छ ।

मलाई सबैभन्दा प्रभावकारी लागेको र मनपरेको कथा ‘सुनकोशी नदीको कथा’ हो, जसमा सुनुवार (कोईँच) जातिको इतिहास, उत्पत्ति, संस्कार र संस्कृतिलाई नाटकीय विन्यासमार्फत प्रस्तुत गर्दै पुस्तागत दूरी र सांस्कृतिक विघटनका प्रश्नहरू उठाइएका छन् ।

कथाका प्रमुख पात्र देम्बाकाजीद्वारा अघि सारिएको सांस्कृतिक अनुष्ठान हराउँदै गएको कोईँच सांस्कृतिक विरासतको पुनर्जागरणको सशक्त अभियानका रूपमा व्याख्या गर्न सकिन्छ ।

तर कथाको ऐतिहासिक पक्ष हेर्दा केही स्थानमा यसको सम्भावनाको पूर्ण उपयोग नभएको अनुभूति हुन्छ । विशेषगरी सुन ढुकुर (होमाचिरी) सम्बन्धी मिथकीय प्रसङ्गलाई मुक्दुम परम्पराको गहिरो प्रतीकात्मक तथा अनुष्ठानिक सन्दर्भभित्र अझ विस्तृत रूपमा विकास गरिएको भए कथा अझ सशक्त र बहुआयामी बन्न सक्थ्यो ।

कोईँच परम्परामा प्रकृति, पुर्खा र आत्माबीचको सम्बन्धलाई अत्यन्त जीवित र अनुभूतिजन्य रूपमा स्थापित गर्दै अनुष्ठानलाई केवल सांस्कृतिक प्रदर्शन मात्र नभई सामूहिक स्मृति, पहिचान र अस्तित्वको निरन्तरताको दस्ताबेजका रूपमा रूपान्तरण गर्न सके कथाको मर्म र कोईँच जातिको गौरव अझ उच्च तहमा उक्लिन सक्थ्यो ।

‘शान्तिको खोजी’ शीर्षक कथामा अध्यात्मवादी चिन्तन र भौतिकवादी दृष्टिकोणबीचको द्वन्द्वलाई सूक्ष्म रूपमा चित्रित गरिएको पाइन्छ । मानिस भौतिक सुख सुविधाले सम्पन्न भए पनि अन्तरआत्मामा शान्ति प्राप्त गर्न असमर्थ हुँदा ऊ या त मुक्ति खोज्दै भौतिक संसारबाट पलायनतर्फ उन्मुख हुन्छ वा भ्रमपूर्ण तथा सतही आध्यात्मिक अभ्यासतर्फ आकर्षित हुन्छ । जसले व्यक्तिमात्र होइन समग्र सामाजिक परिवेशलाई पनि प्रभावित पार्छ ।

कथाभित्र ‘कार्नल डिजायर’ र ‘इटरनल सिईकिङ’ बीचको विरोधाभासलाई उठाउने प्रयास गरिएको छ, जसले मानवीय इच्छाको द्वैध स्वभावलाई उजागर गर्छ । एकातिर भोग र इन्द्रीयजन्य तृष्णा छ भने अर्कोतिर अनन्त अर्थको खोजउन्मुख अस्तित्ववादी आकाङ्क्षा देखिन्छ ।

त्यस्तै, धार्मिक पाखण्डलाई आवरणका रूपमा प्रयोग गरी समाजमा भ्रम फैलाउने प्रवृत्ति पनि कथामा पाइन्छ । यस्तो प्रवृत्तिले अध्यात्मको मूल उद्देश्य–आत्मबोध र मुक्तिलाई नै विकृत पार्दै त्यसलाई सामाजिक शक्ति-सन्तुलनको उपकरणमा परिणत गर्छ ।

ओशोको दर्शनमा वैराग्यलाई संसार त्याग होइन, संसारभित्रै जागरूक अनुभवका रूपमा र भोगलाई चेतनापूर्वक जीवन–ऊर्जाका रूपमा ग्रहण गर्ने दृष्टिकोण पाइन्छ । यसले परम्परागत धार्मिक संरचनालाई चुनौती दिँदै व्यक्तिगत स्वतन्त्रतालाई केन्द्रमा स्थापित गर्छ ।

समग्रमा, कथालाई पूर्ण रूपमा सफल वा असफल भनी निष्कर्षमा सीमित गर्नु सहज छैन । तथापि, यसले धार्मिक विचलन र आध्यात्मिक सन्तुष्टिबीचको अन्तरद्वन्द्वलाई केही हदसम्म वस्तुपरक र यथार्थपरक ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ ।

‘उर्मिला उर्फ रोनी’ यस कथासङ्ग्रहभित्रको सबैभन्दा लामो र सम्भावनायुक्त कथा हो । यसलाई सशक्त पटकथामा रूपान्तरण गर्न सकियो भने निश्चित रूपमा प्रभावशाली लघु चलचित्र बन्न सक्ने सम्भावना देखिन्छ । किनकि यसमा भाव, सङ्घर्ष र सम्बन्धगत जटिलताहरू सन्तुलित रूपमा उपस्थित छन् ।

‘कथा भित्रको कथा’ले डायस्पोरिक जीवन–अनुभवलाई केन्द्रमा राख्दै प्रवास, स्मृति र पहिचानबीचको जटिल सम्बन्धलाई उद्घाटन गरेको छ । विजय र सबिताको बेलायत पलायनसँगै प्रारम्भ हुने यो कथा केवल भौगोलिक स्थानान्तरणको घटना मात्र नभई समग्र जीवन–अस्तित्वको पुनःपरिभाषाको प्रक्रिया बनेको छ ।

नेपाली समाज सामूहिकता, पारिवारिक सहअस्तित्व र उत्सवमय जीवन–संस्कृतिमा रमाउने समाज हो । एकल वा एकाङ्की जीवन–प्रवृत्तिमा होइन । तर बेलायतजस्तो पश्चिमी समाजमा १८ वर्ष नाघेपछि ‘मेरो जीवन, मेरो अधिकार, मेरो स्वतन्त्रता’ भन्ने व्यक्तिगततावादी दृष्टिकोणले पारिवारिक सम्बन्धमा दूरी र विच्छेद उत्पन्न गर्ने सम्भावना रहन्छ, जसका कारण यहाँको जीवन प्रायः आत्मकेन्द्रित स्वरूपमा विकसित भएको देखिन्छ ।

यसै सन्दर्भमा बेलायतको संघर्ष, सन्तानसँगको सांस्कृतिक विचलन र पुस्तागत दूरीले डायस्पोरिक जीवनका अन्तरविरोधहरूलाई गहिरो रूपमा उजागर गरेका छन् । एकातिर भौतिक समृद्धिको खोज छ भने अर्कोतिर सांस्कृतिक विच्छेद र भावनात्मक रिक्तताको भार स्पष्ट रूपमा अनुभूत हुन्छ । 

यसैबीच स्वदेशप्रतिको तीव्र नोस्टाल्जिया कथाको अन्तर्निहित भावधाराका रूपमा निरन्तर प्रवाहित हुन्छ ।

कथाले नेपाली संस्कार, संस्कृति, धर्म, रीतिथिति र चाडपर्वलाई मन, माटो र पहिचानप्रतिको गहिरो लगावसँग जोड्दै, प्रवासको पीडा र स्वदेशको बदलिँदो यथार्थलाई एकसाथ उभ्याएको छ । यद्यपि यो अनुभव सबैका लागि समान नहुन सक्छ, यसले एउटा गहिरो प्रश्न उठाउँछ– आफ्नो देश र माटोबाट टाढिनु नै पहिचान गुमाउनु हो कि होइन ? 

लेखकले आफ्ना उकुसमुकुस, पीडा र भावनात्मक द्वन्द्वलाई विभिन्न पात्रहरूमार्फत अभिव्यक्त गर्दैगर्दा कथा व्यक्तिगत अनुभूतिबाट सामूहिक संवेदनातर्फ रूपान्तरित हुन्छ । यस प्रक्रियामा लेखन केवल अभिव्यक्तिको माध्यम नभई आत्म–मुक्तिको एक सशक्त माध्यमको रूपमा पनि स्थापित हुन्छ ।

लेखकको दृष्टिकोण स्पष्ट रूपमा स्वान्त सुखाय केन्द्रित देखिन्छ, जहाँ लेखन स्वतन्त्रता, आन्तरिक आनन्द र आत्म–सन्तुष्टिका लागि गरिन्छ । यसमा लेखनलाई बाह्य अपेक्षा वा सामाजिक दबाबभन्दा बढी आफ्नै भावनात्मक आवश्यकतासँग जोडेर बुझिन्छ ।

यदि यस्तो व्यक्तिगत लेखनबाट समाजमा सकारात्मक सन्देश वा प्रभाव उत्पन्न हुन्छ भने त्यसलाई स्वाभाविक रूपमा स्वीकार्य परिणामका रूपमा लिन सकिन्छ । तर सबै स्वान्त सुखाय केन्द्रित सृजनाले सधैं सकारात्मक प्रभाव मात्र छोड्छन् भन्ने पनि हुँदैन । लेखकको लेखन–दृष्टि व्यक्तिगत स्वतन्त्रता र सामाजिक उत्तरदायित्वबीचको सन्तुलनमा उभिएको देखिन्छ, जहाँ आत्म–अनुभूति नै अभिव्यक्तिको मूल आधार बनेको छ ।

यस कृतिमा अधिकांश सिनेम्याटिक प्रविधिको उपयोग गर्ने स्पष्ट प्रयास देखिन्छ, जसले कथालाई केवल लिखित ढाँचामा सीमित नराखी दृश्यात्मक र अनुभूतिमूलक तहसम्म विस्तार गरेको छ । यसमध्ये ‘म्यानसनभित्र पहिचानको मृत्यु’ विशेष रूपमा सशक्त प्रयोगात्मक तथा दार्शनिक कथा हो । कथाले पहिचानजस्तो अमूर्त र जटिल विषयलाई जितेदास्ती कवि पात्रमार्फत व्यङ्ग्य, कविता तथा भावनात्मक उतारचढावका माध्यमबाट क्रमशः उजागर गर्छ ।

प्लुटोक्रेसीसँग जोडिएको रात्रिभोजमा उज्जलजंगको रहस्यमय देहान्तपछि मानसिक रूपमा विचलित बनेको कविको चेतनामा पहिचान निरन्तर विघटन र पुनर्निर्माणको प्रक्रियामा रहन्छ, जुन चल–अचल भित्तेघडीको बिम्बमा उनिएको छ । यो पहिचान केवल बाह्य घटनाप्रतिको प्रतिक्रिया नभई अस्तित्वगत सङ्कटको तहमा विघटित हुने र पुनःनिर्मित हुने अवस्था पनि हो ।

कथाको अन्त्यतिर बेलायतको विलासी तर रिक्त जीवनलाई अस्वीकार गर्दै जितेदास्ती गाउँ फर्किनु केवल भौगोलिक पुनःप्रस्थान मात्र नभई वैचारिक पुनर्जन्मको अनुभूति ठानिएको छ । 

‘अन्तिम साँझ’ कथासङ्ग्रह पहिचान, प्रवास र स्मृतिको बहुस्तरीय आख्यानका रूपमा आएको छ । कृतिभित्रका कथाहरू केवल घटनात्मक संरचनामा सीमित नरही मानवीय अस्तित्वका दार्शनिक, सामाजिक तथा मनोवैज्ञानिक आयामहरूसँग गहिरो रूपमा सम्बन्धित छन् ।

यस कथाभित्र केही ससाना अनइन्टेनसनल त्रुटि उल्लेखनीय देखिन्छन् । लेखकले समय, स्थान र पात्रको वस्तुगत यथार्थलाई सम्भवतः भावनात्मक आवेगले बढी हस्तक्षेप दिएको हो कि भन्ने प्रश्न उठ्छ । विशेषतः काठमाडौँ र लन्डनबीचको सांस्कृतिक चित्रणमा विरोधाभास भेटिन्छ । भट्टी–संस्कृतिजस्तो अतिसामान्यीकृत कल्पना, कोठा भाडा उठाउने प्रसङ्गको सरलीकरण, र ‘इन्स्पेक्टर अर्जुन’ जस्ता पात्रको सतही निर्माणले यथार्थपरक विश्वसनीयता कमजोर पारेको अनुभूति हुन्छ । 

कतिपय आलंकारिक उखानहरूको अनावश्यक र बारम्बार प्रयोगले पाठकलाई थकित बनाउने जोखिम पनि उत्तिकै रहन्छ, जसले कथाको मुड, गति, इमेजरी, न्यारेटिभ, टोन र समग्र ट्युनिङलाई धेरै ठाउँमा विच्छिन्न र असन्तुलित बनाएको अनुभूति दिन सक्छ । अनपेक्षित शैलीको विनिर्माण जब मानकजस्तै स्थापित हुन थाल्छ, तब पाठक बिच्किने र कथाबाट टाढिने सम्भावना अझ बढ्छ । 

यति भन्न सकिन्छ–यो कथासङ्ग्रहले हाम्रो समाजकै यथार्थलाई प्रतिनिधित्व गरेको छ । समग्रमा, यो कथासङ्ग्रह सामाजिक यथार्थवादी परम्पराभित्रै उभिएर पनि आख्यानात्मक रहस्य र प्रयोगशील शैलीमार्फत आफ्नै विशिष्ट पहिचान निर्माण गर्न सफल देखिन्छ । कहीँ न कहीँ, कतै न कतै, पाठकले आफ्नै जीवनको केही अंश कुनै पात्रमा अवश्य प्रतिबिम्बित भएको अनुभव गर्न सक्छ ।

  • पुस्तक : अन्तिम साँझ 
  • लेखक : केदार सङ्केत
  • विधा : कथा 
  • प्रकाशन : मिलाप प्रकाशन काठमाडौं

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खुपेन सुनुवार
खुपेन सुनुवार
लेखकबाट थप