शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सडक दुर्घटना

मधेसमा ‘अकाल’ मृत्युको कारक बन्दै छ मोटरसाइकल दुर्घटना, ज्यान गुमाउनेमा युवा उमेरका बढी

शनिबार, २६ वैशाख २०८३, १९ : ३०
शनिबार, २६ वैशाख २०८३

सारांश

  • मधेसमा मोटरसाइकल दुर्घटना कुल सवारी दुर्घटनाको झन्डै दुई तिहाइ रहेको छ ।
  • चालु आव २०८२/८३ को चैत मसान्तसम्म मधेस प्रदेशमा ५९७५ वटा मोटरसाइकल दुर्घटना भएका छन् जसमध्ये धनुषामा सबैभन्दा बढी १०४८ दुर्घटना भएको छ ।
  • मोटरसाइकल दुर्घटना बढ्नुको मुख्य कारण तीव्र गति, लाइसेन्स नभएका युवाहरूले चलाउनु, लागूऔषध र मादक पदार्थ सेवन गर्नु हो ।

जनकपुरधाम । मधेसमा सडक दुर्घटनाको सबैभन्दा ठुलो जोखिम मोटरसाइकल बनेको देखिएको छ । कुल सवारी दुर्घटनामध्ये झन्डै दुई तिहाइ मोटरसाइकल दुर्घटना नै हुने गरेका प्रहरीको तथ्यांकले देखाउँछ ।

चालु आव २०८२/८३ को चैत मसान्तसम्म ८६२४ वटा सवारी साधन दुर्घटनामध्ये ५९७५ वटा मोटरसाइकल रहेका छन् । 

मधेस प्रहरीका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाका अनुसार चैत मसान्तसम्म मधेसका जिल्लामध्ये धनुषामा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको छ । धनुषामा १०४८ वटा मोटरसाइकल दुर्घटना भएको तथ्यांक छ । सवारी दुर्घटनामा परी ३९८ जनाको मृत्यु भएको छ भने १४०९ जना गम्भीर घाइते र ८३२९ जना सामान्य घाइते भएका छन् । तथ्यांकअनुसार सवारी दुर्घटनामा मृत्यु हुनेमध्ये अधिकांश मोटरसाइकल दुर्घटनामा परेका व्यक्तिहरू नै रहेका छन् । 

चालु आवको चैत मसान्तसम्म अन्य जिल्लामध्ये सप्तरीमा २९४, सिराहामा ७४०, महोत्तरीमा ५६८, सर्लाहीमा ९९४, रौतहटमा ८२१, बारामा ८४२ र पर्सामा ७१८ मोटरसाइकल दुर्घटना भएका छन् । 

गत आर्थिक वर्ष २०८१/८२ मा १०६७९ वटा सवारी साधन दुर्घटनामा परेकोमा ७२०१ वटा मोटरसाइकल नै रहेका थिए भने आव २०८०/८१ मा ८५२९ वटा सवारी साधन दुर्घटनामा परेकोमा ५९२६ वटा मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

आव २०७९/८० मा ८३७६ वटा सवारी साधन दुर्घटनामा परेकोमा ५७४५ वटा मोटरसाइकल रहेका छन् । त्यस्तै आव २०७८/७९ मा ८३०२ वटा सवारी साधन दुर्घटनामध्ये ५४१८ वटा मोटरसाइकल थिए । आव २०७७/७८ मा ५८११ वटा सवारी साधन दुर्घटनामा परेकोमा ३७३७ वटा मोटरसाइकल रहेका थिए । 

यी पाँचवटै आवमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना धनुषा जिल्लामै भएको देखिएको छ । तथ्यांकअनुसार धनुषामा २०८१/८२ मा ११८७, २०८०/८१ मा १०८२, २०७९/८० मा ९५८ र २०७८/७९ मा ९०२ मोटरसाइकल दुर्घटना भएको देखिन्छ । 

traffic-checking (2)

प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी गोविन्द थपलियाका अनुसार मोटरसाइकल दुर्घटना बढ्नुको प्रमुख कारण तीव्र गति, लाइसेन्स नभएका युवाहरूले चलाउनु तथा लागूऔषध र मादक पदार्थ सेवन गरी चलाउनु हो । उनले उमेर नपुगेका र लाइसेन्स नभएका युवाहरूले तीव्र गतिमा चलाउँदा तथा लागूऔषध र मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा अनियन्त्रित भई अन्य सवारीको तुलनामा मोटरसाइकल दुर्घटना बढी हुने गरेको बताए । 

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले समयसमयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । दुर्घटनाको प्रमुख कारणमध्ये लागू पदार्थ सेवन न्यूनीकरणका लागि प्रदेशका सबै जिल्लामा सेवनकर्तालाई सुधार र पुनःस्थापनामा ल्याउने लक्ष्यसहित प्रदेश प्रहरी कार्यालयले ‘लागूऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान २०८३’ वैशाख २५ गते शुक्रबार नगराइन नगरपालिकाबाट गृह तथा सञ्चारमन्त्री फकिरा महतोको प्रमुख आतिथ्यमा सुरु गरेको छ । 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका ट्राफिक प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार मोटरसाइकल दुर्घटना बढी हुनुको मुख्य कारण तीव्र गति हो । उनका अनुसार लागूऔषध र मादक पदार्थ सेवन गरी आफूलाई बढी स्मार्ट देखाउने उद्देश्यले तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना बढ्ने गरेको छ । यसमा अधिकांश उमेर नपुगेका तथा २५र३० वर्ष उमेर समूहका युवाहरू बढी संलग्न हुने गरेका छन् । 

यही वैशाख महिनाभित्र पनि विभिन्न ठाउँमा मोटरसाइकल दुर्घटनाका घटना भएका छन् । वैशाख १२ गते धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा महोत्तरीको पिपरा गाउँपालिका–७ निवासी २१ वर्षीय अतुल चौधरीको मृत्यु भएको थियो । प्रहरीका अनुसार चितवनबाट पूर्व गाईघाटतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख १०११ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०२-०१० प १२३७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । 

वैशाख ८ गते धनुषाको ढल्केबरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु हुनुका साथै शिशुसहित ३ जना घाइते भएका थिए । धनुषा प्रहरीले जनाएको अनुसार मिथिला नगरपालिका–६ ढल्केबरकी ३१ वर्षीया विनिता कुमारी महतोको मृत्यु भएको थियो भने दुर्घटनामा १६ वर्षीया अनुष्का कुमारी महतो र आठ महिनाकी बालिका घाइते भएका थिए । 

traffic-checking (3)

वैशाख १६ गते पथलैया–वीरगञ्ज सडकखण्डअन्तर्गत डाबर नेपाल अगाडि मोटरसाइकल दुर्घटनामा परी पर्साको पोखरिया नगरपालिका वडा नं ३ बसन्तपुरका राम चमारको मृत्यु भएको थियो । प्रहरीका अनुसार वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको ना २७ प ३०२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो । 

वैशाख २५ गते लक्ष्मीनिया गाउँपालिका–४ सपही, जनकपुर–ढल्केबर सडकखण्डमा ढल्केबरबाट जनकपुरतर्फ आउँदै गरेको बाप्र ०१–०३१ च ९०६३ नम्बरको स्कर्पियो गाडीले बाटो काट्ने क्रममा सपहीकी ३० वर्षीया पुनमदेवी साह सवार स्कुटीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा उनको मृत्यु भएको थियो ।

यी घटनामा मोटरसाइकल दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको र दुर्घटनामा पर्ने अधिकांश युवा वर्ग नै रहेको देखिन्छ । प्रहरीको तथ्यांकअनुसार पनि मोटरसाइकल दुर्घटनामा पर्ने अधिकांश युवा नै हुने गरेका छन् । तीमध्ये धेरैजसो लाइसेन्स नभएका हुने ट्राफिक व्यवस्थापनका प्रवक्ता वकिलबहादुर सिंहले बताए । 

मोटरसाइकल दुर्घटना न्यूनीकरण प्रभावकारी नहुनुको प्रमुख कारण सरकार न्यूनीकरणतर्फ नलागी राजस्व सङ्कलनमा केन्द्रित हुनु, ठोस कानुनको अभाव तथा सामाजिक व्यवहारिकता रहेको जनकपुरधाम उपमहानगरपालिका–२३ का स्थानीय अभी ठाकुरले बताए । ठाकुरका अनुसार सरकारले राजस्व सङ्कलनका लागि मोटरसाइकल बढीभन्दा बढी बिक्री गर्न दिने तर लाइसेन्स सीमित सङ्ख्यामा मात्रै वितरण गर्ने गरेको छ । यसबाट सरकारलाई मोटरसाइकल बिक्री र लाइसेन्स नभएका कारण लाग्ने जरिवाना दुवैबाट राजस्व उठाउने अवसर मिलेको छ । 

traffic-checking (1)

जलेश्वर नगरपालिका–४ की सुनेना यादवका अनुसार लाइसेन्स नभएको व्यक्तिले दुर्घटना गरेको वा ट्राफिक नियम उल्लङ्घन गरेको अवस्थामा तथा लापसे वा मापसे गरेको अवस्थामा पनि ठोस कारबाही नगरी जरिवाना मात्रै लिएर छाड्ने गरिएकोले चालकहरूको मनोबल बढ्दै दुर्घटना बढिरहेको छ । 

ट्राफिक कार्यालय धनुषाका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीका अनुसार मोटरसाइकल दुर्घटना न्यूनीकरणका लागि विद्यालय तथा सडकहरूमा सचेतना अभियान जारी रहेको छ । लाइसेन्स नभएका, लापसे मापसे गरी तथा तीव्र गतिमा मोटरसाइकल चलाउने चालकसँग जरिवाना लिएर मात्रै छोड्ने गरिएको उनले स्वीकार गरे । 

उनका अनुसार लाइसेन्स नभएका चालकलाई जरिवानाबाहेक अन्य कारबाहीको व्यवस्था छैन । यद्यपि सवारीधनीलाई सचेत गराउने तथा दुर्घटना भएका अवस्थामा कारबाहीको व्यवस्था रहेको छ । लापसे मापसे गरेको अवस्थामा जरिवाना वा सुधार केन्द्रमा पठाउने कानुनी व्यवस्था भए पनि न्यून कारबाहीका कारण मोटरसाइकल दुर्घटना बढ्दै गएको देखिएको छ । 

गम्भीर रूप लिएको मोटरसाइकल दुर्घटना न्यूनीकरणका लागि मोटरसाइकल बिक्रीको सङ्ख्याको आधारमा लाइसेन्स वितरण, उमेर नपुगेका वा लाइसेन्स नभएका अवस्थामा सवारीधनीलाई कारबाही, र लापसे मापसे गर्ने चालकलाई कडा कानुनी कारबाहीको आवश्यकता देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नवीन प्रियदर्शी
नवीन प्रियदर्शी
लेखकबाट थप