शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
नेपाली चलचित्र

जेठमा आउँदैछन् ६ फिल्म : स्टारहरूको भिडन्तदेखि दक्षिण भारतीय कलाकारसम्म

सोमबार, २८ वैशाख २०८३, ०६ : २०
सोमबार, २८ वैशाख २०८३

सारांश

  • वैशाखमा प्रदर्शनमा आएका 'परालको आगो' फिल्मले लगानी सुरक्षित गर्दै ४ करोडको व्यवसाय गरेको छ ।
  • जेठमा ६ नयाँ नेपाली फिल्म प्रदर्शनमा आउँदै छन्, जसमा 'एक मुठ्ठी बादल', 'लाइफ ड्यामेज', 'काजी', 'मितज्यु', 'रोल नं १' र 'कुम्भ' रहेका छन् ।
  • जेठ १ गते 'एक मुठ्ठी बादल' र 'लाइफ ड्यामेज', जेठ ८ गते 'काजी' र 'मितज्यु', र जेठ १५ गते 'रोल नं १' र 'कुम्भ' प्रदर्शनमा आउनेछन् ।

काठमाडौं । नयाँ वर्षको अवसर पारेर वैशाख १ गते निकै तामझामका साथ प्रदर्शनमा आएको फिल्म ‘पहाड’ले सोचेजस्तो दर्शकको साथ पाउन सकेन ।

राम्रो व्यवसायको आश गरिएको फिल्म बक्सअफिसमा असफल सावित भयो, तर फिल्म क्षेत्रमा छाएको यो सन्नाटालाई वैशाख ११ गते प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले तोडिदियो । रिलिज भएको तेस्रोसातासम्म ४ करोडको व्यवसाय गर्दै अगाडि बढिरहेको फिल्मले लगानी सुरक्षित गरिसकेको छ । अबको व्यवसाय पूरै नाफा हो ।

गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’मा बनेको फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी लगायतको अभिनय छ । मौलिक कथावस्तु र नेपाली समाजको परिवेशलाई टपक्क टिपेका कारण फिल्मप्रति दर्शकहरू आकर्षित देखिए ।

वैशाखको अन्त्यतिर प्रदर्शनमा आएका तीन फिल्महरू; ‘लालीबजार’, ‘मालती मंगले’ र ‘गुरुआमा’ अहिले प्रदर्शनरत छन् । यी तीनै फिल्मको सुरुवाती व्यापार उत्साहजनक रहेको निर्माण युनिटको दाबी भए पनि फिल्मले कति नाफा कमाउँछन्, लगानी सुरक्षित गर्छन् वा गर्दैनन् भन्ने थाहा पाउन अझै केही दिन कुर्नुपर्ने हुन्छ ।

जेठमा पनि ६ नयाँ नेपाली फिल्म आउँदै छन् । ती हुन्– ‘एक मुठ्ठी बादल’, ‘लाइफ ड्यामेज’, ‘काजी’, ‘मितज्यु’, ‘रोल नं १’ र ‘कुम्भ’ । यीमध्ये ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ जेठ १ मा, ‘काजी’ र ‘मितज्यु’ जेठ ८ मा र ‘रोल नं १’ र ‘कुम्भ’ जेठ १५ मा आपसमा भिड्दै छन् । जेठको चौथो शुक्रबार २१ गते र पाँचौँ शुक्रबार २८ गते भने अहिलेसम्म कुनै फिल्मको रिलिज तालिका छैन ।

  • परिवारिक कथामा सन्देश

जेठको सुरु अर्थात् १ गते दुई फिल्म एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ भिड्दैछन् । फरक कथा र कलाकारको अभिनय रहेका यी दुवै फिल्ममा पारिवारिक कथा भएको बताइन्छ ।

‘एक मुठ्ठी बादल’ नेपाली समाजमा गहिरो गरी जकडिएको दाइजो प्रथा र पारिवारिक जटिलतालाई उठान गरिएको फिल्म हो । फिल्मको पृष्ठभूमि एउटा विवाहको उत्सवमय वातावरण हो, तर त्यसभित्र लुकेका सम्पत्तिको लोभ, घरभित्रको राजनीति र महिलाको सामाजिक स्थानका बारेमा फिल्मले गम्भीर प्रश्नहरू तेस्र्याएको बताइन्छ ।

आँचल शर्मा, निशा शर्मा, उषा रजक र भीमा मैनालीको मुख्य अभिनय रहेको फिल्म अभिमन्यु दीक्षित र निकुन श्रेष्ठले निर्माण गरेका हुन् । गौँथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको सहकार्य रहेको फिल्म कलात्मक र व्यावसायिक दुवै दृष्टिकोणले सशक्त रहेको दाबी गरिएको छ । फिल्म साहारा शर्माले निर्देशन गरेकी हुन् ।

‘लाइफ ड्यामेज’ले पनि पारिवारिक कथा फरक तवरबाट पस्किएको छ । ‘फेन्टासी कमेडी ड्रामा’ जनरामा बनेको फिल्ममा सुरक्षा पन्त निमेष श्रेष्ठ, ईशा थापा र सञ्जना महर्जनको अभिनय छ । नेपाली फिल्ममा फेन्टासी जनरामा कमै फिल्म बन्ने गरेकाले यो फिल्मले दर्शकका लागि नयाँ स्वाद दिने निर्देशकको विश्वास छ । फिल्मको निर्देशन निमेष श्रेष्ठले गरेका हुन् ।

  • स्टारको भिडन्त

जेठको दोस्रो साता अर्थात् ८ गते ‘काजी’ र ‘मितज्यु’ प्रदर्शनमा आउँदै छन् । यी दुई फिल्ममार्फत पछिल्लो समयका ठुला स्टारहरू विपिन कार्की, दयाहाङ राई र सौगात मल्ल एक अर्कासँग भिड्दै छन् ।

‘काजी’ भर्सटाइल अभिनेता विपिन कार्कीको शीर्ष भूमिका रहेको फिल्म हो । लक्ष्मण रिजालको निर्देशनमा बनेको यो फिल्म एक ‘क्लासिक लभस्टोरी’ भएको बताइन्छ । फिल्ममा विपिनका अलावा केकी अधिकारी, गरिमा शर्मा, प्रकाश घिमिरे र हेमन्त बुढाथोकीको अभिनय छ । प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा कालीप्रसाद बास्कोटाको संगीत छ । फिल्म  रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।

‘मितज्यु’मा दयाहाङ राई र सौगात मल्लको जोडी देख्न सकिन्छ । यी दुई अभिनेताको उपस्थिति नै फिल्म सफल बनाउन पर्याप्त मानिन्छ । यो फिल्मबाट डान्सर तेरिया फौजा मगरले अभिनेत्रीका रूपमा डेब्यु गर्दैछिन् । अनिल बुढा मगरको निर्देशन रहेको फिल्मले मित्रता र सामाजिक द्वन्द्वको कथा भन्नेछ । शिशिर वाङ्देल र राज थापालगायत कलाकारहरूको अभिनय रहेको यो फिल्मले व्यावसायिक रूपमा ठुलो प्रभाव पार्ने अनुमान गरिएको छ ।

  • शिक्षा र प्रेमकथा एकसाथ

जेठको तेस्रो साता अर्थात् जेठ १५ गते (गणतन्त्र दिवस) दुई फरक धारका फिल्महरू प्रदर्शनमा आउनेछन् । फिल्म हुन् ‘रोल नं १’ र ‘कुम्भ’ । ‘रोल नं १’ ‘पूर्ण बहादुरको सारङ्गी’जस्तो सफल फिल्मका निर्माता विनोद पौडेलले निर्माण गरेका हुन् । शिक्षा क्षेत्रको विकृतिलाई पर्दामा उतारिएको फिल्मका निर्देशक जोन योञ्जन रहेका छन् । फिल्मले सरकारी छात्रवृत्ति र रोल नम्बर १ हुनैपर्ने दबाबले बाल मनोविज्ञानमा कस्तो असर पार्छ भन्ने विषय उठाएको छ ।

मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारीको मुख्य भूमिका रहेको यो फिल्म विशेषगरी अभिभावक र विद्यार्थीका लागि लक्षित छ । म्याग्दीका सुन्दर दृश्यहरूमा खिचिएको यो फिल्मले सामाजिक बहस सिर्जना गर्ने निर्माताको दाबी छ ।

‘कुम्भ’ भने इन्डो–नेपाल सहकार्यको फिल्म हो । एक्सन र लभ स्टोरीको समिश्रण फिल्म लामो समय म्युजिक भिडियोमा काम गरेका रन्धिर श्रेष्ठको डेब्यु निर्देशन हो । यसमा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको अभिनय र दक्षिण भारतीय फिल्मको जस्तै मेकिङ शैली रहेको बताइन्छ । अशोक आर्यन, सुनिल थापा र सुशील पोखरेलको मुख्य अभिनय रहेको यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप