सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँका ८ स्थानमा निःशुल्क पिउने पानी, दुरुपयोग बढेपछि महानगरको चिन्ता

सोमबार, २८ वैशाख २०८३, १० : ३१
सोमबार, २८ वैशाख २०८३

सारांश

  • काठमाडौँ महानगरपालिकाले सञ्चालनमा ल्याएका निःशुल्क पिउने पानीका ८ वटा वाटर एटीएम वुथको दुरुपयोग बढेपछि महानगरले चिन्ता व्यक्त गरेको छ ।
  • महावौद्ध, खुला मञ्च, जमल, र वडा नं. ५ लगायतका स्थानमा रहेका वुथमा हातमुख धुने, लुगा धुने र बोतलमा पानी भरेर लैजाने जस्ता कार्यहरू भएका छन् ।
  • सार्वजनिक निजी साझेदारी एकाईका सहायक निर्देशक नरेन्द्रमान बज्राचार्यले वुथ विशुद्ध पिउने पानीका लागि मात्र भएको र अन्य कामका लागि प्रयोग गर्न नहुने स्पष्ट पारेका छन् ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालनमा ल्याएका निःशुल्क वाटर एटीएम वुथबाट सर्वसाधारण लाभान्वित भइरहेका छन् । तर, केही स्थानमा वुथको दुरुपयोग हुन थालेपछि महानगरले चिन्ता व्यक्त गरेको छ ।

महावौद्धमा राखिएको निःशुल्क वाटर वुथमा एक व्यक्ति आएर हातमुख धोएपछि पानी पिएर गन्तव्यतर्फ लागेको दृश्य देखिन्छ । यस्तै, खुला मञ्चस्थित वुथमा एक ज्येष्ठ नागरिकले भित्री कपडा धोएको गतिविधि सीसीटिभी क्यामरामा कैद भएको महानगरले जनाएको छ ।

वैशाख ५ गते ‘भेहिकल फ्री असन’ कार्यक्रम सुरु भएका बेला जमलस्थित वुथबाट बोतलमा पानी भरेर मःमः पकाउन लगिएको घटना पनि महानगरका अधिकारीकै सामुन्ने भएको बताइएको छ ।

वडा नं. ५ मा होलीका दिन डेढ घण्टामै ३ हजार लिटर पानी सकिएपछि कारण खोज्दा वुथको पानी होली खेल्न प्रयोग गरिएको सीसीटिभी फुटेजमा देखिएको थियो ।

काठमाडौँ महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाईका सहायक निर्देशक नरेन्द्रमान बज्राचार्यले वुथको उद्देश्य केवल पिउने पानी उपलब्ध गराउनु भएको स्पष्ट पारे । 

उनले भने, “यो वुथ विशुद्ध पिउने पानी वितरणका लागि हो । यो लुगा धुने धारो होइन । यहाँबाट पानी भरेर लैजान मिल्दैन । यहाँको पानी पिउन बाहेक अन्य कामका लागि प्रयोग गर्न हुँदैन ।” 

काठमाडौँ महानगरपालिकाले काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा ८ वटा निःशुल्क वाटर एटीएम वुथ सञ्चालनमा ल्याएको हो । निर्माण सम्पन्न भएपछि परीक्षण गरेर २०८३ वैशाख ५ गते औपचारिक रूपमा उद्घाटन गरिएको थियो ।

त्यस अवसरमा महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘भेहिकल फ्री असन’ कार्यक्रमसँगै वुथको शुभारम्भ गरेकी थिइन् । 

महानगरका अनुसार ८ वटा वुथ निर्माणमा २ करोड ६० लाख रुपैयाँ खर्च भएको छ । वुथबाट राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ अनुसारको स्वच्छ पिउने पानी निःशुल्क उपलब्ध गराइन्छ ।

नेपाली मौलिक शैलीमा निर्माण गरिएका यी वुथमा ३ हजार लिटर पानी भण्डारण क्षमता रहेको छ । खुला मञ्च, महावौद्ध, दरबार हाइस्कुल परिसर, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, वडा नं. १७ ढल्को चोक, वडा नं. ५ नरःदे, वडा नं. २६ र वडा नं. ३१ मा वुथ जडान गरिएको छ ।

महानगर र बोर्डबीच २०८१ फागुन २५ गते समझदारीपत्रमा हस्ताक्षर भएपछि खुला बोलपत्रमार्फत निर्माण कम्पनी छनोट गरिएको थियो । सम्झौताअनुसार १८ महिनासम्म निर्माण पक्षले सञ्चालन गर्ने र त्यसपछि महानगरले व्यवस्थापन सम्हाल्नेछ ।

वुथमा आधुनिक फिल्टर प्रणाली जडान गरिएको छ भने पानीको गुणस्तर नियमित परीक्षण गरिन्छ । २४सै घण्टा पानी उपलब्ध हुने व्यवस्था गरिएको छ । निगरानीका लागि सीसीटिभी क्यामरा जडान गरिएको छ भने संरचना बालमैत्री बनाइएको महानगरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप