शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकी नागरिकमा पनि हान्टा भाइरस संक्रमण पुष्टि

सोमबार, २८ वैशाख २०८३, १५ : ४४
सोमबार, २८ वैशाख २०८३

पेरिस । एमभी होन्डियसमा भएको घातक हान्टा भाइरस प्रकोपपछि स्वदेश फर्काइएका यात्रुमध्ये एक अमेरिकी नागरिकमा यसको संक्रमण पुष्टि भएको छ ।

अमेरिकी स्वास्थ्य अधिकारीहरूले जहाजबाट फर्काइएका एक अमेरिकी नागरिकमा हान्टाभाइरस पोजिटिभ देखिएको बताएका छन् । साथै, अर्का अमेरिकी यात्रुमा हल्का लक्षण देखिएको र दुवैलाई सावधानीस्वरूप 'बायोकन्टेनमेन्ट युनिट' मा राखेर फर्काइएको जनाइएको छ । 

जहाजबाट आएकी एक फ्रान्सली महिलामा पनि संक्रमण पूष्टि भएको थियो । फ्रान्सका स्वास्थ्य मन्त्री स्टेफनी रिस्टले पेरिसमा उपचाररत ती महिला आइसोलेसनमा रहेको र उनको अवस्था बिग्रँदै गएको बताएका छन् । महिलाको सम्पर्कमा आएका  २२ जना व्यक्तिहरू पहिचान गरिएको छ । यो जहाजबाट हालसम्म ९० भन्दा बढी यात्रु विभिन्न देशमा फर्काइएका छन् । हालसम्म तीन यात्रुको मृत्यु भइसकेको छ, जसमा एक डच दम्पती र एक जर्मन महिला समावेश छन् । तीमध्ये दुई जनामा हान्टाभाइरस पुष्टि भइसकेको छ । 

अमेरिकी स्वास्थ्य मन्त्रालयका अनुसार सबै १७ अमेरिकी नागरिकलाई नेब्रास्कास्थित स्वास्थ्य केन्द्रमा विस्तृत परीक्षण गरिनेछ । यसअघि स्वदेश फर्किएका सात जना अमेरिकी नागरिक पनि निगरानीमा छन् ।

अमेरिकाका साथै एक बेलायती नागरिक पनि अमेरिकी यात्रुसँगै उद्धार उडानमा फर्किएका थिए । अमेरिकाले डब्ल्यूएचओका आइसोलेसन सम्बन्धी दिशानिर्देश पूर्ण रूपमा पालना नगरेको भन्दै त्यसले जोखिम बढाउन सक्ने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस अधानोम घेब्रेयससले दिएका छन् । जहाज छाड्ने यात्रुहरूका लागि यसले ४२ दिनको आइसोलेसन सिफारिस गरेको छ ।

हान्टाभाइरस सामान्यतया मुसाबाट सर्ने भाइरस हो । यसको एन्डिज स्ट्रेन मानिसबाट मानिसमा सर्न सक्ने सम्भावना पनि देखिएको छ । यस रोगका लक्षणमा ज्वरो, अत्यधिक थकान, मांसपेशी दुखाइ, पेट दुखाइ, बान्ता, पखाला र सास फेर्न गाह्रो हुने समस्या देखिन सक्छ । व्यापक प्रकोपको जोखिम अहिले धेरै कम रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप