भारतीय विदेश सचिवको भ्रमण आपसी समझदारीमा तय हुन्छ: भारतीय विदेश मन्त्रालय
काठमाडौँ । भारत र नेपालबिचको गहिरो र बहु आयामिक साझेदारीलाई जोड दिँदै भारतीय विदेश मन्त्रालयले विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणको निम्तो प्राप्त भएको जनाएको छ । मन्त्रालयले भ्रमणको मिति दुवै देशको आपसी समझदारीमा तय गरिने स्पष्ट पारेको छ ।
मंगलबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालमा बालेन शाह प्रधानमन्त्री बनेपछि दुई छिमेकीबीचको कूटनीतिक सम्बन्धले गति लिएको बताए । उनले दुवै देश विद्यमान बलियो सम्बन्धलाई थप प्रगाढ बनाउन मिलेर काम गरिरहेको उल्लेख गरे ।
नेपाली सञ्चारमाध्यममा प्रधानमन्त्रीले विदेशी कूटनीतिज्ञसँग भेट्न अनिच्छा देखाउँदा विदेश सचिव मिश्रीको भ्रमण रोकिएको भन्ने समाचारबारे सोधिएको प्रश्नमा प्रवक्ता जैसवालले द्विपक्षीय सम्बन्ध सकारात्मक दिशामै रहेको बताए । उनले भने, ‘नेपालसँग हाम्रो बहु आयामिक साझेदारी छ । चुनावपछि हाम्रा प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीलाई बधाई दिनुका साथै फोनमा कुराकानी गर्दै भारत–नेपालको बलियो मित्रता र परम्परागत सम्बन्धलाई अझ उचाइमा पुऱ्याउने हाम्रो दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।’
प्रवक्ता जैसवालले हालै मरिससमा भारतीय विदेशमन्त्री एस जयशंकर र उनका नेपाली समकक्षी शिशिर खनालबिच भएको सफल द्विपक्षीय भेटवार्ताको पनि स्मरण गरे ।
उनले थपे, ‘अहिले विभिन्न तहमा दुवै पक्ष हाम्रो साझेदारीलाई थप गहिरो बनाउन निकटमा रहेर काम गरिरहेका छन् । हामीले विदेश सचिवको भ्रमणका लागि नेपाली पक्षबाट निमन्त्रणा पाएका छौँ । भ्रमणको मिति आपसी समझदारीमा तय हुनेछ र यसबारे हामी तपाईँहरूलाई जानकारी गराउनेछौँ ।’
कैलाश मानसरोवर यात्राको सन्दर्भमा भारतले आफ्नो अडान पारदर्शी र ऐतिहासिक तथ्यमा आधारित रहेको बताएको छ । मन्त्रालयले यसअघि नै लिपुलेक पास सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राको पुरानो मार्ग रहिआएको र यो कुनै नयाँ विकास नभएको स्पष्ट पारिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण