शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

छोरीका लागि नक्कली ट्रान्सक्रिप्ट बनाउँदा ६१ वर्षीय वृद्ध पक्राउ

बुधबार, ३० वैशाख २०८३, १६ : २१
बुधबार, ३० वैशाख २०८३

सारांश

  • काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले छोरीको नक्कली शैक्षिक प्रमाणपत्र बनाएको अभियोगमा अदालतबाट दोषी ठहर भई फरार रहेका ६१ वर्षीय फरदिनान्द भ्यालेन्टाईन फेट्जलाई पक्राउ गरेको छ।
  • फेट्जले आफ्नै छोरीको कक्षा ११ र १२ उत्तीर्ण भएको नक्कली ट्रान्सक्रिप्ट लगायतका कागजात बनाएर सरकारी छाप तथा दस्तखत किर्ते गरेको पुष्टि भएको थियो।
  • भक्तपुर जिल्ला अदालतले उनलाई एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो र फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइएको छ।

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले छोरीको नक्कली शैक्षिक प्रमाणपत्र बनाएको अभियोगमा अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नं. ३ आदर्श टोल बस्ने ६१ वर्षीय क्रोडी फ्रेच क्षेत्री भन्ने फरदिनान्द भ्यालेन्टाईन फेट्ज रहेका छन्।

फेट्जले आफ्नै छोरीको कक्षा ११ र १२ उत्तीर्ण भएको नक्कली ट्रान्सक्रिप्ट लगायतका कागजात बनाएर सरकारी छाप तथा दस्तखत किर्ते गरेको पुष्टि भएको थियो। उच्च माध्यमिक शिक्षा परिषद्, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको जाहेरीका आधारमा उनी विरुद्ध सरकारी छाप दस्तखत किर्ते मुद्दा चलाइएको थियो। 

उक्त मुद्दामा भक्तपुर जिल्ला अदालतले २०८२ वैशाख ३ गते उनलाई एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो। अदालतको फैसलापछि फरार रहेका उनलाई खोजतलास गर्ने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैशाख २९ गते बिहान ११ बजे काठमाडौँको तिलगंगाबाट नियन्त्रणमा लिएको हो। 

पक्राउ परेका फेट्जलाई कैद तथा जरिवानाको फैसला कार्यान्वयनका लागि सोही दिन भक्तपुर जिल्ला अदालतमा उपस्थित गराइएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार प्रचलित मुलुकी ऐनको किर्ते कागजको महल बमोजिमको कसुरमा उनलाई सजाय तोकिएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप