नेतृत्वमा आउन हतार भयो भन्दैमा पार्टीको विधि र विधान मिच्न पाइँदैन : प्रकाशमान सिंह
सारांश
- कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी सभापति गगन थापालाई लक्षित गर्दै नेतृत्वमा आउन हतार भयो भन्दैमा पार्टीको विधि र विधान मिच्न नपाइने टिप्पणी गरेका छन्।
- उनले पार्टीको १४औँ महाधिवेशनका प्रतिनिधिहरूको फर्जी हस्ताक्षरमार्फत पार्टी कब्जा गर्न खोजेको गम्भीर आरोप लगाएका हुन्।
- नेता सिंहले पार्टीका सबै तह र पक्षका नेताहरूलाई एकताबद्ध गराएर विधिपूर्ण ढङ्गले पार्टी सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति गगनकुमार थापालाई लक्षित गर्दै कसैलाई नेतृत्वमा आउन हतार भयो भन्दैमा पार्टीको विधि र विधान मिच्न नपाइने टिप्पणी गरेका छन्।
बागमती प्रदेशस्तरीय विशेष भेलालाई सम्बोधन गर्दै नेता सिंहले पार्टीको १४औँ महाधिवेशनका प्रतिनिधिहरूको फर्जी हस्ताक्षरमार्फत पार्टी कब्जा गर्न खोजेको गम्भीर आरोप समेत लगाएका हुन्।
सम्बोधनका क्रममा नेता सिंहले मुलुकमा लोकतन्त्र र जनताको अधिकार स्थापना गर्न पार्टी र अग्रज नेताहरूले खेलेको भूमिका नभुल्न सभापति थापालाई आग्रह गरे। पार्टीको विधि र विधानमा भएको व्यवस्था मिचेर सङ्गठनलाई कमजोर बनाउने कार्य आफूहरूले टुलुटुलु हेरेर नबस्ने उनले चेतावनी दिए। नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले यहाँ हरेक मुद्दामा बहस हुने भए पनि नेतृत्व हात पार्ने हतारोमा नियम मिच्नु स्वीकार्य नहुने उनको तर्क छ।
आफ्नो धारणा राख्दै नेता सिंहले भने, ‘हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो। यो पार्टीमा कुन मुद्दालाई प्राथमिकतामा राख्ने र कुन मुद्दा नराख्ने भन्ने विषयमा समेत डिबेट हुन्छ। तर यहाँ त कस्तो भइरहेको छ भनेदेखि कसैलाई नेतृत्व लिनको लागि हतार भयो भन्दैमा यस्तो हुँदैन। हामीले के बुझ्नुपर्यो भन्दाखेरी नेपाली कांग्रेस पार्टीले ऐतिहासिक आवश्यकता अनुसार जनतालाई अधिकार दिलाउनको लागि सबैभन्दा अग्र भूमिकामा बसेको र पार्टीका नेताहरूले जनताको अधिकार सुरक्षित गर्नको लागि खेलेको भूमिका महत्त्वपूर्ण छ।’
उनले थपे, ‘तर अहिले पार्टीभित्र जुन प्रकारको विधि र प्रक्रिया अपनाउनुपर्ने हो, नेपाली कांग्रेसको विधानअनुसार, नियमअनुसार गर्नुपर्नेमा त्यसको विधि मिचेर पार्टीलाई कमजोर बनाउने कार्य हामीले टुलुटुलु हेरेर बस्नुपर्ने ? अदालतले गर्यो होला, निर्वाचन आयोगले गर्यो होला। तर पार्टी र पार्टीमार्फत मुलुकको हितका लागि पार्टीका अग्रज नेताहरूले गरेको योगदानलाई उपेक्षा गर्न मिल्दैन। पार्टी सदस्यहरूको फर्जी हस्ताक्षरबाट पार्टीलाई कब्जा गर्न खोजिन्छ भने यहाँ कुन पार्टी राम्रोसँग सञ्चालन हुनसक्छ।’
नेता सिंहले पार्टीका सबै तह र पक्षका नेताहरूलाई एकताबद्ध गराएर मात्र पार्टीको नियमित महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन्। उनले निषेधको राजनीति भन्दा पनि सबैलाई समेटेर विधिपूर्ण ढङ्गले पार्टी सञ्चालन गर्न नेतृत्वको ध्यानाकर्षण गराए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण