बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
'स्टार एन्ड स्टोरिज'मा टेरिया मगर

डान्सर टेरिया मगरले बलिउड छाडेर किन रोजिन् नेपाली फिल्म ?

‘डान्स मेरो पहिचान हो, अब कुशल अभिनेत्री बन्न चाहन्छु’

शुक्रबार, ०१ जेठ २०८३, १० : ००
शुक्रबार, ०१ जेठ २०८३

सारांश

  • टेरिया मगरले भारतीय रियालिटी शो ‘डान्स इन्डिया डान्स’ र ‘झलक दिखला जा’ जितेर नेपाली नृत्य कौशललाई विश्वमाझ चिनाएकी थिइन्।
  • उनी अब आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’ बाट नेपाली रजतपटमा अभिनेत्रीको रूपमा डेब्यु गर्दैछिन्।
  • यस फिल्ममा उनले दयाहाङ राई र सौगात मल्ल जस्ता कलाकारहरूसँग काम गर्ने अवसर पाएकी छन्।

काठमाडौँ । टेरिया मगर सन् २०१४ मा भारतीय रियालिटी शो ‘डान्स इन्डिया डान्स (डीआईडी) लिटिल मास्टर्स सिजन–३’ र २०१७ मा ‘झलक दिखला जा सिजन–९’ को ऐतिहासिक उपाधि चुम्दै नेपाली नृत्य कौशललाई विश्वमञ्चमा चिनाउने नेपाली चेली हुन् । केही भारतीय वेब सिरिजहरूमा समेत आफ्नो अभिनय क्षमता प्रदर्शन गरिसकेकी उनी अब नेपाली रजतपटमा अभिनेत्रीका रूपमा डेब्यु गर्दैछिन् । 

आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मितज्यू’ मार्फत उनी नेपाली दर्शकमाझ छाउँदैछिन् । सशक्त कथावस्तु र आफ्नो भूमिकाबाट प्रभावित भएर फिल्ममा अनुबन्धित भएकी टेरियाले डेब्यु फिल्ममै नेपाली सिनेजगतका दुई हस्ती दयाहाङ राई र सौगात मल्लसँग स्क्रिन सेयर गर्ने अवसर पाएकी छन् । दिग्गज अभिनेताहरूसँग काम गर्दाको प्रारम्भिक अनुभवमा केही त्रसित र रोमाञ्चित बनेकी नवअभिनेत्री टेरियासँग गरिएको कुराकानीको सम्पादित अंश :

डान्सको स्टेजमा कन्फिडेन्ट नै देखिन्थ्यो, फिल्म आउँदै गर्दा उत्साह बढी छ कि डर ? 

डान्स गर्दा म सधैँ आफ्नो क्षेत्रमा भएको महसुस गर्थें, तर फिल्म मेरो लागि नयाँ संसार हो । अहिले ममा उत्साह र अलिकति नर्भसनेस दुवै छ । उत्साह यसकारण छ कि स्क्रिप्ट पढ्दा र सुटिङ गर्दा टिमले जति मेहनत गरेको छ, त्यो अब पर्दामा देखिँदैछ । नर्भस चाहिँ म आफ्नो क्यारेक्टरलाई लिएर छु ।

Teriya Magar2

दर्शकले मेरो अभिनयलाई कसरी लिनुहुन्छ । फिल्ममा मैले पनर्वाह गरेको ‘उजेली’ पात्रसँग कत्तिको कनेक्ट हुन्छन् भन्ने हो । मनमा डर पैदा भएको छ । यो मेरो लागि एउटा ठुलो चुनौती हो ।

अभिनयतिर मोडिने सोच कसरी पलायो ?

अभिनयतिर अलि सिरियसली लाग्छु भन्ने सोचिरहेको थिएँ । संयोगले त्यही बेला ‘मितज्यू’को अफर आयो । खासमा फिल्मका निर्देशन अनिल बुढा मगर दाइसँग मेरो भेट काठमाडौँको एक स्टुडियोमा भएको थियो । त्यतिबेला म यत्तिकै गाउनका लागि मनोज थापा दाइको स्टुडियोमा पुगेको थिएँ । अनिल दाइसँग मेरो कुरा हुँदा उहाँको भिजन मलाई मन पर्‍यो । पछि उहाँले मलाई फिल्मको अफरसहित स्क्रिप्ट दिनुभयो । जब मैले स्क्रिप्ट पढेँ, मलाई लाग्यो । म यो कथाको हिस्सा हुनैपर्छ । त्यसपछि म अभिनयमा होमिए ।

‘उजेली’ कस्तो चरित्र र तयारी कति गर्नुपर्‍यो ?

‘उजेली’ एक टिपिकल गाउँले पात्र हो । उसको जीवनमा संघर्ष र भोगाइ धेरै छन् । सुन्दा कथा अलि दुःखद् लाग्न सक्छ, तर उजेली एकदमै बलियो र स्वाभिमानी पात्र हो । उसले समाजमा आफ्नो अस्तित्व र डिग्निटीलाई ठुलो मान्छे । यो भूमिका निभाउन मैले धेरै तयारी गरेँ । फिल्मको वर्कसप हुनुअघि नै मैले रोल्पाकी एक दिदीसँग फोनमा कुरा गरेर त्यहाँको टोन र लवज सिक्ने कोसिस गरेँ ।

Teriya Magar

सुटिङअघि १०–१२ दिन म सुटिङ युनिटसँगै रोल्पा पुगेर त्यहाँको जनजीवनको अवलोकन गरे । त्यहाँका आमाहरू र दिदीबहिनीहरूसँग सुटिङ अघिनै समय बिताएकाले मलाई पात्रमा भिज्न धेरै सजिलो भयो ।

दयाहाङ राई र सौगात मल्ल जस्ता दिग्गज कलाकारसँग काम गर्दा डर लागेन ?

वर्कसपको समयमा म धेरै डराएको थिएँ । उहाँहरू जस्तो स्थापित कलाकारसँग काम गर्दा म कतै चुक्छु कि भन्ने डर थियो । तर सेटमा पुगेपछि दया दाइ र सौगात दाइले मलाई एकदमै सहज बनाइदिनुभयो । दया दाइले फिल्ममा मेरो हजबेन्डको रोल गर्नुभएको छ । उहाँले सिनको डेप्थ बुझाउन र मलाई कन्फिडेन्स दिन धेरै मद्दत गर्नुभयो । उहाँहरू यति धेरै सहयोग गर्ने हुनुहुन्छ कि मैले सोचेभन्दा धेरै सहज अनुभव भयो । उहाँहरूबाट सानोभन्दा सानो कुरालाई कसरी सरल तरिकाले प्रस्तुत गर्ने भन्ने कुरा सिकेँ ।

तपाईं एक कुशल डान्सर हो, फिल्ममा सबै विषयवस्तु होला, तपाईंलाई कुन बढी सहज लाग्यो ?

मेरो लागि डान्स सधैँ सहज छ किनभने मैले यसमा धेरै समय बिताएकी छु । तर अभिनयले मलाई एम्पाथेटिक हुन सिकाएको छ । अर्काको जीवन बाँच्नु भनेको एकदमै भिन्न अनुभूति हो । डान्समा टेक्निक र म्युजिक बढी हुन्छ भने अभिनयमा भाव र चरित्रको गहिराइ हुन्छ ।

Teriya Magar1

डान्स गर्दा एउटा निश्चित फर्ममा रहेर गरिन्छ, तर अभिनयमा सिचुएसन अनुसार आफैँलाई बदल्नुपर्छ । त्यसैले अहिले म अभिनय सिक्दैछु र यसलाई अझै गहिराइमा बुझ्ने कोसिस गर्दैछु ।

डीआईडी यात्रा सम्झिँदा अहिले कस्तो लाग्छ ?

त्यो क्षण म कहिल्यै बिर्सन्न । डीआईडीको अडिसन भिडियो दिएर हामी मुम्बई जाने तयारीमा थियौँ । एकदिन ममीले यत्तिकै भन्नुभयो- ‘के थाहा मेरो छोरी डीआईडीको विनर पो बन्छे कि’ । त्यतिबेला म सानै थिएँ र मलाई ममीले हावा कुरा गरेको जस्तो लागेको थियो । तर ममीको त्यो विश्वास र भगवानको कृपाले म आज यहाँ छु । मलाई लाग्छ, नेपाली दर्शकको माया र सपोर्टबिना म त्यो उचाइमा पुग्न सक्दिनथेँ । डीआईडी र झलक दिखला जा मेरो लागि सपना जस्तै हुन् ।

भारतीय दुई रियालटी शो विजेता तपाई, त्यहाँको सिरिजमा पनि काम गर्नुभयो । बलिउडमा किन ट्राइ गर्नु भएन ?
 
मैले बलिउडमा ट्राई नगरेको होइन, त्यहाँ मैले ‘क्याम्पस बिट्स’ जस्तो सिरिजमा काम पनि गरेँ । तर मुम्बईमा बस्दा मलाई आफ्नो देश र यहाँको माटोको धेरै याद आयो । बोर्डर पार गरेपछि आफ्नो देशको माया अर्कै हुँदो रहेछ ।

Teriya Magar3

मैले जे–जति सिकेँ, त्यो आफ्नै देशको प्रोजेक्टमा प्रयोग गरौँ भन्ने लागेर म नेपाल आएकी हुँ । आफ्नै देशको फिल्ममा आफ्नै लवजमा काम गर्दा जुन सन्तुष्टि मिल्छ, त्यो बाहिर सायदै पाइन्छ ।

नेपालमा पनि डान्स रियालिटी शोहरू धेरै हुन्छन् नि ?

यो एकदमै राम्रो कुरा हो । हाम्रो समयमा यस्तो प्लाटफर्म कम थियो । अहिले ‘बुगीवुगी’, ‘मेरो डान्स युनिभर्स’ जस्ता शोहरूले नयाँ ट्यालेन्टलाई ठाउँ दिएका छन् । नेपालमा ट्यालेन्टको कमी छैन, बस् राम्रो एक्सपोजरको खाँचो छ । म आफैँले पनि यस्तो शो होस्ट गर्ने मौका पाएँ, जसले गर्दा डान्सरहरूको मेहनत नजिकबाट हेर्न पाएँ । यस्ता शोहरूले गर्दा नृत्यलाई हेर्ने दृष्टिकोण बदलिएको छ ।

के अब तपाईं डान्स छोडेर अभिनयमै व्यस्त हुने ?

डान्स मेरो पहिचान हो, यसलाई म कहिल्यै छोड्दिनँ । तर अब म एक असल अभिनेत्रीका रूपमा पनि आफूलाई चिनाउन चाहन्छु । मेरो सपना भनेको समाजमा रहेका लुकेका कथाहरू र पात्रहरूलाई पर्दामा ल्याउनु हो ।

Teriya Magar4

अभिनयले मलाई संसारलाई फरक नजरले हेर्न सिकाएको छ । म चाहन्छु कि मान्छेले मलाई टेरिया मगर एक राम्रो एक्टर पनि हो भनेर चिनुन् । म अझै धेरै सिक्न र फरक खालका भूमिकाहरू गर्न चाहन्छु ।

‘मितज्यू’ कस्तो फिल्म हो ? 

‘मितज्यू’ एउटा सोसल ड्रामा हो । काठमाडौँले नदेखेको, तर नेपालको कुनै भेगले भोगिरहेको कथा छ । यसमा सम्बन्ध, समाजको दबाब र एउटा नारीको साहसको कथा छ । हामी सबैले धेरै मेहनत गरेका छौँ । 

फोटो/भिडियो : मनोज खड्का/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप