बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

पूर्वी डीआर कंगोमा इबोलाको नयाँ प्रकोप, ६५ जनाको मृत्यु

शुक्रबार, ०१ जेठ २०८३, १६ : ४१
शुक्रबार, ०१ जेठ २०८३

किन्सासा । कंगो प्रजातान्त्रिक गणराज्यको पूर्वी इतुरी प्रान्त क्षेत्रमा इबोलाको नयाँ प्रकोप फैलिएको छ ।

अफ्रिकाको प्रमुख स्वास्थ्य निकाय रोग नियन्त्रण र रोकथामका लागि अफ्रिका केन्द्रहरू (सीडीसी अफ्रिका)ले शुक्रबार इबोला संक्रमणको प्रकोप घोषणा गर्दै हालसम्म २४६ संक्रमित फेला परेको र कम्तीमा ६५ जनाको मृत्यु भएको जनाएको हो । यद्यपि यो संख्यामा भएका मृत्यु कति दिन वा समयमा भएका हुन् भन्ने समाचारहरूमा उल्लेख छैनन् । 

संक्रमण विशेषगरी सुनखानीका लागि परिचित मोङ्गवालु र र्वामपारा क्षेत्रमा तीव्र रूपमा फैलिएको बताइएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार प्रकोप सीमावर्ती क्षेत्रमा फैलिन सक्ने जोखिम उच्च भएकाले निगरानी र नियन्त्रण प्रयास तीव्र बनाइएको छ । सीडीसी अफ्रिकाले डीआर कंगो, युगान्डा, दक्षिण सुडान तथा अन्य अन्तर्राष्ट्रिय साझेदारहरूसँग संयुक्त बैठक बोलाएको छ । उक्त बैठकमा सीमा क्षेत्रको निगरानी, आपतकालीन स्वास्थ्य प्रतिक्रिया र संक्रमण रोकथामबारे छलफल हुने बताइएको छ ।

राजधानी किन्शासास्थित इंस्टिट्युट नेसनल डे रिसर्च बायोमेडिकल (आईएनआरबी)मा गरिएको प्रारम्भिक परीक्षणमा जाँच गरिएका २० नमुनामध्ये १३ वटामा इबोला भाइरस पुष्टि भएको छ । यी परीक्षणहरू डीआर कंगोको स्वास्थ्य मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य संस्थासँगको समन्वयमा गरिएको थियो । हालसम्म मृत्यु भएका ६५ जनामध्ये चार जनामा प्रयोगशालाबाट इबोला पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । बाँकीमा पनि इबोलासँग मिल्दोजुल्दो लक्षण देखिएको जनाइएको छ ।

इटुरी प्रान्तको राजधानी बुनियामा समेत थप शंकास्पद संक्रमित भेटिएको बताइएको छ । ती नमुनाको प्रयोगशाला परीक्षणको नतिजा आउन बाँकी छ । डीआर कंगो सरकारले अहिलेसम्म औपचारिक रूपमा राष्ट्रिय आपतकाल घोषणा गरेको छैन । तर सरकारी अधिकारीहरूले शुक्रबार नै पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी सार्वजनिक गरिने बताएका छन् । 

इबोला पहिलोपटक सन १९७६ मा अहिलेको डीआर कंगोमै पत्ता लागेको थियो । वैज्ञानिकहरूका अनुसार यो भाइरस चमेरोबाट मानिसमा सरेको हुनसक्ने विश्वास गरिन्छ । अहिले देखिएको प्रकोप देशमा पुष्टि भएको १७औँ इबोला प्रकोप हो । यो भाइरस संक्रमित व्यक्तिको शरीरबाट निस्किने तरल पदार्थसँग प्रत्यक्ष सम्पर्क हुँदा फैलिन्छ । इबोलाले अत्यधिक रक्तस्राव, अंग फेल हुने समस्या तथा गम्भीर शारीरिक जटिलता निम्त्याउँछ ।

पछिल्ला ५० वर्षमा अफ्रिकाका विभिन्न देशहरूमा इबोलाबाट करिब ५० हजार मानिसको मृत्यु भइसकेको छ । 

डीआर कंगोको सबैभन्दा घातक इबोला प्रकोप सन २०१८ देखि २०२० बिच भएको थियो, जसमा करिब २,३०० जनाको मृत्यु भएको थियो । त्यसबेला पनि पूर्वी क्षेत्रमा हिंसा, अविश्वास र कमजोर स्वास्थ्य सेवाका कारण महामारी नियन्त्रण गर्न ठूलो चुनौती सामना गर्नुपरेको थियो । 

गत वर्ष देशको मध्य प्बकबष् एचयखष्लअभ क्षेत्रमा फैलिएको अर्को इबोला प्रकोपमा ४५ जनाको मृत्यु भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप