‘काठमाडौँ फिल्म फेस्टिभल’ को घोषणाका लागि कार्यवाहक प्रमुख डङ्गोल फ्रान्स प्रस्थान गर्दै
सारांश
- काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन फ्रान्स जाँदै छिन्।
- उनको भ्रमणको मुख्य उद्देश्य ‘काठमाडौँ फिल्म फेस्टिभल’ को औपचारिक घोषणा र अन्तर्राष्ट्रियस्तरमा यसको प्रवर्द्धन गर्नु हो।
- डङ्गोलले आफ्नो अनुपस्थितिमा वडा नम्बर १ का वडा अध्यक्ष भरतलाल श्रेष्ठलाई कार्यवाहक प्रमुखको जिम्मेवारी हस्तान्तरण गरेकी छिन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल फ्रान्समा आयोजना हुने विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन त्यसतर्फ जाने भएकी छिन् । महानगरपालिकाले आयोजना गर्न लागेको ‘काठमाडौँ फिल्म फेस्टिभल’ को औपचारिक घोषणा तथा अन्तर्राष्ट्रियस्तरमा यसको प्रवर्द्धन गर्ने उद्देश्यले उनी फ्रान्स जान लागेकी हुन् ।
भ्रमणका बारेमा कार्यपालिका बैठकमा जानकारी दिँदै काईवाहक प्रमुख डंगोलले महानगरपालिकाले सञ्चालन गर्न लागेको फिल्म महोत्सवको विश्वव्यापी प्रचारप्रसार नै आफ्नो भ्रमणको मुख्य एजेन्डा रहेको बताइन्। अन्तर्राष्ट्रिय महोत्सवको पूर्वतयारी स्वरूप महानगरले स्थानीय स्तरमा ‘टोल टोलमा फिल्म महोत्सव’ समेत आयोजना गर्ने तयारी गरेको छ ।
डंगोलकाअनुसार यो कार्यक्रम पूर्णरूपमा समुदायमा आधारित हुनेछ । यस अभियानले टोल स्तरमा पुगेर चलचित्र, संगीत तथा समग्र सिर्जनात्मक उद्योगसँग सम्बन्धित विविध विषयमा विमर्श गर्ने र महोत्सवको रूपमा वातावरण निर्माण गर्ने लक्ष्य राखेको छ । यसले आगामी दिनमा आयोजना हुने ‘काठमाडौँ फिल्म फेस्टिभल’ का लागि सकारात्मक माहोल तयार गर्ने विश्वास लिइएको छ ।
आफ्नो वैदेशिक भ्रमणको अवधिभरका लागि कार्यवाहक प्रमुख डंगोलले कार्यवाहकको जिम्मेवारी हस्तान्तरण गरेकी छिन्। ज्येष्ठताका आधारमा वडा नम्बर १ का वडा अध्यक्ष भरतलाल श्रेष्ठलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएर उनी कान्सतर्फ प्रस्थान गर्न लागेकी हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण