शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २

स्कटल्यान्डले पहिले ब्याटिङ गर्ने

सोमबार, ०४ जेठ २०८३, ०९ : ०९
सोमबार, ०४ जेठ २०८३

सारांश

  • आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल र स्कटल्यान्डबीचको खेलमा स्कटल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
  • स्कटल्यान्ड ३८ अंकका साथ शीर्ष स्थानमा छ भने नेपाल २६ खेलबाट २० अंक जोड्दै सातौँ स्थानमा छ ।
  • नेपाल अघिल्लो खेलमा अमेरिकालाई ९ विकेटले हराएर उच्च मनोबलमा छ भने स्कटल्यान्ड पनि अमेरिकामाथि २ रनको जित निकालेर आएको छ ।

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज सोमबार हुने खेलमा नेपालले स्कटल्यान्डको सामना गर्दैछ। 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९:३० बजे सुरु हुनेछ। खेलमा स्कटल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

संयुक्त राज्य अमेरिकासहित सम्मिलित यस घरेलु त्रिकोणात्मक शृङ्खला नेपालका लागि निकै महत्त्वपूर्ण मानिएको छ। घरेलु दर्शकको अगाडि खेल्दै गरेको नेपाली टोली राइनोज तालिकामा माथि उक्लने र सोझै छनोट हुने दौडमा सामेल हुनका लागि महत्त्वपूर्ण अङ्क जोड्ने दाउमा छ।

अहिलेको तालिकामा स्कटल्यान्ड ३० खेलबाट ३८ अङ्क जोड्दै शीर्ष स्थानमा सुरक्षित छ। अर्कोतर्फ, नेपाल भने २६ खेलबाट २० अङ्क मात्र जोडेर सातौँ स्थानमा छ। नेपालले हालसम्म ८ जित र १५ हार बेहोरेको छ। शीर्ष चारभित्र पर्दै आफ्नो एकदिवसीय मान्यता जोगाउन र प्लेअफ क्वालिफायरको सङ्कट टार्न नेपालका लागि अबका खेलहरूमा लगातार जित निकाल्नुपर्ने ठुलो चुनौती छ।

यद्यपि, नेपाल अघिल्लो खेलमा अमेरिकामाथि ९ विकेटको सानदार जित निकाल्दै उच्च मनोबलका साथ मैदान उत्रनेछ। उक्त खेलमा पहिले ब्याटिङ गरेको अमेरिका १९५ रनमा समेटिएको थियो। अमेरिकाका शयन जहानगिर सस्तैमा आउट भएपछि स्मित पटेल र शेहान जयसूर्याले सम्हालिएर ब्याटिङ गर्दै क्रमशः ८३ र ५० रन जोडेका थिए। 

तर उनीहरू आउट भएपछि अमेरिकाको मध्यक्रम दीपेन्द्र सिंह ऐरीसामु पूर्ण रूपमा ध्वस्त भयो। दीपेन्द्रले २४ रन खर्चेर ४ विकेट लिँदै अमेरिकी इनिङ्सको कम्मर भाँचेका थिए।

१९६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखले जिम्मेवारीपूर्वक ब्याटिङ गरे। आसिफले ५८ रन बनाए भने भुर्तेलले ११८ बलमा १३ चौका र ४ छक्काको मद्दतमा अविजित १२० रनको शतकीय इनिङ्स खेले। भुर्तेलले नटआउट रहँदै ३७ औँ ओभरमै नेपाललाई ९ विकेटको जित दिलाएका थिए।

यता स्कटल्यान्ड पनि आफ्नो अघिल्लो खेलमा अमेरिकाविरुद्ध डीएलएस पद्दतिअनुसार २ रनको रोमाञ्चक जित हात पारेर आएको छ। वर्षाले प्रभावित उक्त खेलको अन्तिम ओभरमा स्कटिस कप्तान रिची बेरिंग्टनले उत्कृष्ट डाइभिङ क्याच लिँदै क्रिजमा जमिसकेका साइतेजा मुक्कामल्लालाई आउट गरेर टोलीको जित सुनिश्चित गरेका थिए।

लिग २ मा नेपालका लागि दीपेन्द्र सिंह ऐरी ६७५ रनसहित शीर्ष रनकर्ता र सन्दीप लामिछाने ३६ विकेटसहित शीर्ष विकेटकर्ताका रूपमा रहेका छन्। त्यस्तै, स्कटल्यान्डका लागि जर्ज मुन्से ११४४ रनसहित शीर्ष रनकर्ता र ब्राड क्युरी ३७ विकेटसहित शीर्ष विकेट लिने खेलाडी हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप