बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

गगन थापालाई विश्वास नगरे पनि आफ्नै वडा सभापतिलाई त विश्वास गर्नुस् : उपसभापति शर्मा

सोमबार, ०४ जेठ २०८३, १६ : ४४
सोमबार, ०४ जेठ २०८३

सारांश

  • नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको मुख्य नीति गुट भत्काएर पार्टी बनाउनुपर्ने बताएका छन् ।
  • उनले क्रियाशील सदस्यता अद्यावधिक गर्ने काममा सभापति गगन थापालाई विश्वास नगरे पनि वडा सभापतिलाई विश्वास गर्न आग्रह गरेका छन् ।
  • शर्माले पार्टी विभाजन रोक्न विशेष महाधिवेशनमा सहभागी नभएकाहरूलाई पनि जिम्मेवारी दिएर समेट्नुपर्ने बताए ।

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अबको पार्टीको मुख्य नीति  ‘गुट भत्काउने र पार्टी बनाउने’ हुनुपर्ने बताएका छन् । काभ्रेको धुलिखेलमा आयोजित बागमती प्रदेशस्तरीय भेलामा सोमबार उपसभापति शर्माले पार्टीभित्रको आन्तरिक अविश्वास र शङ्कालाई चिर्दै एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे । 

क्रियाशील सदस्यता अद्यावधिक गर्ने विषयमा सभापति गगन थापालाई विश्वास नगरे पनि वडा सभापतिलाई विश्वास गर्न आग्रह गरे । शर्माले भने, ‘तपाईँहरू गगन थापालाई विश्वास नगर्नुस्, ठिकै छ । तर, आफ्नै वडाको पार्टी सभापतिलाई त विश्वास गर्नुस् ! क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम गगन थापाले एक्लै गर्ने होइन, वडा वडामा पुगेर त्यहीँका वडा सभापतिले गर्ने हो ।’

वडा सभापतिहरू १४ औँ महाधिवेशनबाट निर्वाचित भएका पनि शर्माले बताए । पालिका र जिल्लामा पनि १४ औँ महाधिवेशनबाट आएका सभापतिहरू भएको भन्दै शर्माले उनीहरूमाथि नै शङ्का र अविश्वास गरेर कसरी अगाडि बढ्न सकिन्छ भन्दै प्रश्न गरे । 

उपसभापति शर्माले पार्टी विभाजन रोक्न विशेष महाधिवेशनमा सहभागी नभएकाहरूलाई पनि उचित जिम्मेवारी दिएर समेट्नुपर्ने बताए । ‘यदि हामीले विशेष महाधिवेशनमा सहभागी भएकालाई मात्रै जिम्मेवारी दियौँ भने त्यसले पार्टी विभाजनलाई बल पुर्‍याउँछ । त्यसैले हामीले सहभागी नभएका साथीहरूलाई पनि क्रमशः जिम्मेवारी दिइरहेका छौँ र आगामी दिनमा थप समेट्दै लैजानेछौँ,’ शर्माले भने । 

यो कदम कुनै व्यक्ति विशेषका लागि नभई गुट भत्काउने र पार्टी बनाउने एउटा महत्त्वपूर्ण बाटो भएको शर्माले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप