राप्रपाका नेताहरुको भेला : राजतन्त्रको मुद्दालाई सशक्त बनाउन सक्ने नेतृत्वलाई सघाउने निर्णय
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूले राजतन्त्र र हिन्दु राष्ट्रको मुद्दालाई अगाडि बढाउन सक्ने नेतृत्वलाई सघाउने निर्णय गरेका छन् ।
- राजधानीमा आयोजित भेलाले पार्टीलाई एकढिक्का बनाउने र राष्ट्रवादी नेतृत्वलाई अगाडि बढाउने निर्णय गरेको छ ।
- नेताहरूले आगामी महाधिवेशनबाट पार्टी विभाजन हुन नदिई 'पक्का राजावादी' एवं राष्ट्रवादी छविको व्यक्तिलाई नेतृत्वमा पुर्याउनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी महाधिवेशनलाई लक्षित गर्दै गतिविधिहरु बढ्न थालेको छ ।
यही क्रममा सोमबार नेता जगत गौचनको संयोजकत्वमा राजधानीमा भएको नेताहरुको भेलाले राजतन्त्र र हिन्दु राष्ट्रको मुद्दालाई प्रखर रूपमा अगाडि बढाउन सक्ने नेतृत्वलाई सहयोग गर्ने निर्णय गरेको छ ।
भेलाले पार्टीलाई एकढिक्का बनाएर लैजाने र राजतन्त्रको एजेन्डामा स्पष्ट अडान राख्ने राष्ट्रवादी नेतृत्वलाई अगाडि बढाउने निर्णय गरेको गौचनले बताए ।
भेलामा करिब दुई दर्जनभन्दा बढी केन्द्रीय सदस्यसहितका नेताहरुको उपस्थिति रहेको थियो । गौचनका अनुसार बैठकमा पार्टीको आगामी महाधिवेशनका रणनीति र नेतृत्वको विषयमा गम्भीर छलफल भएको छ ।
सहभागी सदस्यहरूले आगामी महाधिवेशनबाट पार्टीलाई विभाजन हुन नदिई एकताबद्ध बनाउने र 'पक्का राजावादी' एवं राष्ट्रवादी छविको व्यक्तिलाई नेतृत्वमा पुर्याउनुपर्नेमा जोड दिएको उनको भनाइ थियो ।
भेलामा नेता भरत रायमाझी, प्रकाशजङ्ग कार्की, प्रल्हाद शाह, मीनबहादुर शाही, गोपीचन्द्र शर्मा, केदार कोइराला, पूजा राणालगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
बैठकमा सहभागी नेताहरूले अबको नेतृत्व केवल पदका लागि नभई राजतन्त्र र हिन्दुत्वको मुद्दालाई गन्तव्यमा पुर्याउन सक्ने प्रखर व्यक्तिको हुनुपर्ने धारणा राखेका थिए ।
गौचनले भने, 'हाम्रो मुख्य उद्देश्य पार्टीलाई एकढिक्का बनाएर महाधिवेशनमा जाने हो । हामीले कुनै व्यक्तिको नाम अहिल्यै किटान नगरे पनि महाधिवेशनमा राजतन्त्र, राष्ट्रवादी र हिन्दुवादी सोच भएको प्रखर व्यक्तिलाई नेतृत्वमा ल्याउने विषयमा सहमति गरेका छौँ ।' उनले पार्टीको महाधिवेशन छिटोभन्दा छिटो सम्पन्न गरी नेतृत्वको टुङ्गो लगाउनुपर्ने माग समेत गरे ।
विशेषगरी युवा र प्रखर राजावादी नेताहरूलाई नेतृत्वको अग्रपङ्क्तिमा ल्याउनुपर्ने आवाज भेलामा उठाइएको थियो । बैठकमा सहभागी नेताहरुले पार्टीको मूल सिद्धान्त र जनताको भावनालाई समेट्न सक्ने नेतृत्व नै अहिलेको आवश्यकता भएको धारणा राखेका थिए ।
राप्रपाका नेताहरुले तत्काल महाधिवेशनको मिति घोषणा गर्न माग गरेपनि हालसम्म मिति भने घोषणा हुन सकेको छैन । बरु जेठ १ गतेको केन्द्रीय कार्यसमिति बैठकले कार्यतालिका बनाउन समिति गठन गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको प्रशंसा
-
मधेस सरकारकाे बजेट पुनर्लेखनकाे माग
-
राष्ट्रिय हाप्किडो प्रतियोगितामा दाङ च्याम्पियन
-
पाराग्वेको 'फोहोरी खेल', एम्बाप्पेलाई मैदानमै प्रशिक्षकले दिए दुई गार्ड
-
आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा
-
पर्खाल भत्किएपछि महानगरपालिकाको प्रतिकार्य टोलीबाट क्षति रोकथाम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण