शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

पोखराको न्यूरोड क्षेत्रमा सडकपेटी अतिक्रमण हटाउन सुरु, अटेर गर्ने सवारी साधनलाई कारबाही

मङ्गलबार, ०५ जेठ २०८३, १० : ३२
मङ्गलबार, ०५ जेठ २०८३

सारांश

  • पोखरा महानगरपालिकाले न्यूरोड क्षेत्रमा पैदलयात्रीको सहजताका लागि सडकपेटीमा हुने अनधिकृत पार्किङ हटाउने अभियान सुरु गरेको छ ।
  • नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाका अनुसार फुटपाथमा सवारी साधन पार्किङ गर्दा आवागमनमा अवरोध पुग्ने र दुर्घटनाको जोखिम बढेकाले यो कदम चालिएको हो ।
  • सूचनाको अवज्ञा गरी फुटपाथमा पार्किङ गरिएका सवारी साधनमाथि कारबाही सुरु गरिएको छ, जसमा सोमवार ८ मोटरसाइकल नियन्त्रणमा लिइएका छन् ।

पोखरा । पोखरा महानगरपालिकाले न्यूरोड क्षेत्रका फुटपाथ (सडकपेटी)मा हुने अनधिकृत पार्किङ हटाउने अभियानलाई तीव्रता दिएको छ । महानगरको वडा नम्बर ८ र ९ अन्तर्गत पर्ने न्यूरोड क्षेत्रमा पैदलयात्रीको सहजताका लागि सडकपेटी खाली गराउन थालिएको हो । 

नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाकाअनुसार फुटपाथ पैदलयात्रीका लागि मात्र भएकाले त्यहाँ सवारी साधन पार्किङ गर्दा आवागमनमा अवरोध पुग्ने र दुर्घटनाको जोखिम बढ्ने हुँदा यो कदम चालिएको हो । उनले महानगरपालिकाले तोकेका निश्चित स्थानहरूमा मात्र पार्किङ गर्न र अन्य क्षेत्रमा सवारी धनी स्वयंले व्यवस्थापन गर्नुपर्ने स्पष्ट पारे । 

महानगरले यो अभियान सुरु गर्नुअघि गत शुक्रवारदेखि आइतवारसम्म तीन दिन लगातार माइकिङ गरी नगरवासीलाई यसबारे जानकारी गराएको थियो । सूचनाको अवज्ञा गर्ने सवारी साधनमाथि आजदेखि कारबाही सुरु गरिएको छ । सोमवार मात्रै फुटपाथमा पार्किङ गरिएका ८ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको नगर प्रहरीले जनाएको छ । 

नगर प्रहरी निरीक्षक थापाले मङ्गलवारदेखि थप कडाइ गरिने बताए । अबका दिनमा फुटपाथमा पार्किङ गरिएको पाइएमा सवारी धनीलाई तत्काल सवारी साधन नबुझाइने र ती साधन नियन्त्रणमा लिएर जिल्ला ट्राफिक प्रहरी कार्यालय पठाई नियमानुसार कडा कारबाही गरिने उनको भनाइ छ । महानगरले सडकपेटी खाली गराई सडकमा हुने चाप र सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउन सम्पूर्ण सवारी धनी तथा नगरवासीलाई आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप