सौर्य आँधी बुझ्न अन्तरिक्ष अभियान
काठमाडाैँ । पृथ्वीमाथि पर्ने सौर्य आँधीको प्रभावबारे गहिरो अध्ययन गर्न युरोपेली सङ्घ (इयु) र चीनले संयुक्त रूपमा विकास गरेको ‘स्माइल’ अन्तरिक्ष यान मङ्गलबार सफलतापूर्वक अन्तरिक्षतर्फ प्रक्षेपण गरिएको छ। सूर्यबाट निस्कने तीव्र हावा र प्लाज्माको विशाल विस्फोट पृथ्वीको चुम्बकीय क्षेत्रमा ठोक्किँदा के हुन्छ भन्ने बुझ्न यो महत्त्वाकांक्षी वैज्ञानिक अभियान सुरु गरिएको हो।
विशेषज्ञहरूका अनुसार शक्तिशाली सौर्य आँधीले पृथ्वी वरिपरिका उपग्रह प्रणाली, सञ्चार सञ्जाल, अन्तरिक्ष स्टेशन तथा अन्तरिक्ष यात्रीहरूलाई गम्भीर असर पुर्याउन सक्छ । यस्तै घटनाकै कारण उत्तरी र दक्षिणी ध्रुवीय क्षेत्रमा आकाशमा देखिने चम्किला अरोरा अर्थात् ‘नर्दन लाइट्स’ र ‘सदर्न लाइट्स’ सिर्जना हुने गर्छन्।
यही रहस्यमय अन्तरिक्षीय मौसमबारे थप जानकारी सङ्कलन गर्न ‘स्माइल’ नामक अन्तरिक्ष यानलाई पृथ्वीको चुम्बकीय क्षेत्रको पहिलो एक्स–रे अवलोकन गर्ने जिम्मेवारी दिइएको छ। ‘स्माइल’ अर्थात् ‘सोलार विन्ड म्याग्नेटोस्फेयर आयनोस्फेयर लिङ्क एक्सप्लोरर’ नाम दिइएको यो मिसन युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) र चिनियाँ विज्ञान प्रतिष्ठानबिचको संयुक्त परियोजना हो।
अन्तरिक्ष यानलाई मङ्गलबार ग्रिनविच समयअनुसार बिहान ०३ः५२ बजे दक्षिण अमेरिकाको उत्तरपूर्वी तटमा रहेको फ्रान्सेली गुयानाको कौरूस्थित युरोपको स्पेसपोर्टबाट भेगा–सी रकेटमार्फत प्रक्षेपण गरिएको थियो।
उडानको करिब ५५ मिनेटपछि अन्तरिक्ष यान रकेटबाट सफलतापूर्वक अलग भएको थियो । त्यसपछि यो पृथ्वी वरिपरि अत्यन्त अण्डाकार कक्षामा प्रवेश गर्दै आफ्नो निर्धारित यात्रातर्फ अघि बढेको जनाइएको छ।
मिसनका अनुसार ‘स्माइल’ दक्षिणी ध्रुवमाथि पुग्दा पृथ्वीको सतहबाट करिब पाँच हजार किलोमिटर उचाइमा रहनेछ । त्यस क्रममा यसले अन्टार्कटिकास्थित बर्नार्डो ओ’हिगिन्स अनुसन्धान केन्द्रमा डाटा पठाउनेछ।
त्यसैगरी उत्तरी ध्रुवतर्फ पुग्दा यो पृथ्वीबाट करिब एक लाख २१ हजार किलोमिटर माथि रहनेछ । इएसएका अनुसार यस किसिमको कक्षाले पहिलोपटक लगातार ४५ घण्टासम्म उत्तरी ध्रुवीय अरोराको अवलोकन सम्भव बनाउनेछ।
सौर्य हावा सूर्यबाट निरन्तर बाहिरिने ऊर्जा र सूक्ष्म कणहरूको तीव्र प्रवाह हो । कहिलेकाहीँ सूर्यमा हुने शक्तिशाली विस्फोट, जसलाई ‘कोरोनल मास इजेक्सन’ भनिन्छ, ले यही हावालाई विशाल सौर्य आँधीमा रूपान्तरण गर्छ।
यी विस्फोटहरू प्रतिघण्टा करिब २० लाख किलोमिटरको गतिमा अन्तरिक्षमा फैलिन्छन् र पृथ्वीसम्म आइपुग्न एकदेखि दुई दिन लाग्न सक्छ। यस्ता सौर्य आँधी पृथ्वीमा आइपुग्दा पृथ्वीको चुम्बकीय क्षेत्रले ढालझैँ काम गर्दै सूर्यबाट आएका अधिकांश कणलाई रोकिदिन्छ । तर अत्यधिक शक्तिशाली आँधीका बेला केही कण पृथ्वीको वायुमण्डलभित्र प्रवेश गर्न सक्छन्।
वैज्ञानिकहरूका अनुसार त्यस्ता घटनाले विद्युत् प्रसारण प्रणाली, सञ्चार नेटवर्क तथा उपग्रह सेवामा गम्भीर अवरोध ल्याउन सक्छ । अहिले पृथ्वी वरिपरि घुमिरहेका सयौँ उपग्रह र अन्तरिक्ष स्टेशनमा रहेका अन्तरिक्ष यात्रीहरू पनि सौर्य आँधीको जोखिममा पर्ने गरेका छन्।
इतिहासकै सबैभन्दा शक्तिशाली भू–चुम्बकीय आँधी सन् १८५९ मा रेकर्ड गरिएको थियो । त्यस बेला अरोरा दक्षिणमा पानामासम्म देखिएको थियो भने विश्वभरका टेलिग्राफ अपरेटरहरूले विद्युतीय झट्का महसुस गरेका थिए।
यिनै सम्भावित जोखिमका कारण वैज्ञानिक समुदाय अन्तरिक्षीय मौसमको अझ गहिरो अध्ययन गर्न चाहन्छ, जसबाट भविष्यमा आउने ठुला सौर्य विस्फोटको पूर्वानुमान गर्न र पृथ्वीलाई सम्भावित क्षतिबाट जोगाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
यस अभियानअन्तर्गत ‘स्माइल’ ले सूर्यबाट आएका ऊर्जा बोकेका सूक्ष्म कण र पृथ्वीको माथिल्लो वायुमण्डलमा रहेका तटस्थ कणबीचको अन्तक्र्रियाबाट निस्कने एक्स–रे सङ्केत पत्ता लगाउनेछ । वैज्ञानिकहरूले ती डाटामार्फत पृथ्वीको चुम्बकीय क्षेत्रले सौर्य आँधीसँग कसरी प्रतिक्रिया जनाउँछ भन्ने अध्ययन गर्नेछन्।
अन्तरिक्ष यानले कक्षामा स्थापित भएको करिब एक घण्टापछि नै डाटा सङ्कलन सुरु गर्ने अपेक्षा गरिएको छ। प्रारम्भिक रूपमा यो मिसन तीन वर्षका लागि तय गरिएको भए पनि सबै प्रणाली सफलतापूर्वक सञ्चालन भए अवधि थप लम्ब्याउन सकिने जनाइएको छ।
यसअघि यो प्रक्षेपण अप्रिल ९ मा गर्ने तयारी गरिएको थियो । तर प्राविधिक समस्याका कारण अन्तिम समयमा उडान स्थगित गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण