सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

महाशिलाको बेरुजु शून्य, ६ पालिकाको २ लाखभन्दा कम

मङ्गलबार, ०५ जेठ २०८३, १९ : २४
मङ्गलबार, ०५ जेठ २०८३

सारांश

  • पर्वतको महाशिला गाउँपालिकाको बेरुजु शून्य भएको छ।
  • गण्डकी प्रदेशका ६ वटा गाउँपालिकाको बेरुजु २ लाखभन्दा कम छ।
  • प्रदेशका नगरपालिका तर्फ तनहुँको भिमाद नगरपालिकाको बेरुजु सबैभन्दा कम ०.३१ प्रतिशत छ।

पोखरा । पर्वतको महाशिला गाउँपालिकाको बेरुजु शून्य भएको छ । महालेखा परीक्षकको ६३‍‌ ‌औँ प्रतिवेदन अनुसार महाशिलाको ८१ करोड ८४ लाख रुपैयाँको लेखा परीक्षण गरिएकोमा कुनै पनि रकम बेरुजु नदेखिएको हो। 

आर्थिक वर्ष २०८१।०८२ मा महाशिला गाउँपालिकाले २४ करोड ८२ लाख सङ्घको अनुदान पाएको थियो भने १ करोड ३५ लाख प्रदेशबाट अनुदान पाएको थियो । ३ करोड १६ लाख अघिल्लो वर्षको जिम्मेवारी सरेकोमा ५ करोड २३ लाख राजस्व बाँडफाँटबाट प्राप्त गरेको थियो।

८ करोड ३९ लाख अन्य आय र करिब २७ लाख आन्तरिक गरी ४० करोड हाराहारी आम्दानी गरेको थियो । चालूतर्फ २४ करोड ५० लाख र पूँजीगत तर्फ ७ करोड १६ लाख तथा १० करोड अन्य खर्च गरी ४१ करोड ७६ लाख रुपैयाँ खर्च गरेको देखाइएको छ । यो वर्ष महाशिलाले १ करोड ४७ लाख रुपैयाँ मौज्दात राखेको थियो ।

यस्तै, गण्डकीका ६ वटा गाउँपालिकाको बेरुजु २ लाख भन्दा पनि कम छ । म्याग्दीको मंगला गाउँपालिकाको ७२ हजार, मुस्ताङको लोमन्थाङ गाउँपालिकाको १ लाख ४४ हजार, नवलपुरको बौदीकालीको १ लाख ४४ हजार, सोही जिल्लाको हुप्सेकोट गाउँपालिकाको १ लाख ४९ हजार र कास्कीको अन्नपूर्ण गाउँपालिकाको १ लाख ९८ हजार मात्रै बेरुजु देखिएको हो । यहाँका ५८ गाउँपालिकामध्ये प्रतिशतका हिसाबमा महाशिलापछि सबैभन्दा कम बेरुजु हुने पालिका हुप्सेकोट र अन्नपूर्ण हो । दुवैको बेरुजु ०.०१ प्रतिशत छ ।

प्रदेशबाट सबैभन्दा बढी बेरुजु हुनेमा स्याङ्जाको हरिनास गाउँपालिका छ । यो पालिकाको बेरुजु ३.२९ प्रतिशत छ भने तनहुँको आँबुखैरेनी गाउँपालिकाको ३.३६ प्रतिशत देखिएको छ । आँबुखैरेनीको बेरुजु ४ करोड २ लाख १९ हजार रुपैयाँ पुगेको छ।

नगरपालिका तर्फ तनहुँको भिमाद नगरपालिकाको बेरुजु सबैभन्दा कम ०.३१ प्रतिशत छ । नवलपरासीको मध्यविन्दु नगरपालिका पनि अब्बल देखिएको छ । यो नगरपालिकाको बेरुजु ०.३९ प्रतिशत मात्रै छ । गोरखाको गोरखा नगरपालिकामा पनि ०.६२ प्रतिशत बेरुजु देखिएको छ । पर्वतको कुश्मा नगरपालिकाको बेरुजु सबैभन्दा बढी देखिएको छ । ३.५३ प्रतिशत बेरुजु कुश्माको छ ।

कुश्माको बेरुजु ७ करोड ६४ लाख २९ हजार रुपैयाँ छ । यस्तै, तनहुँको व्यास नगरपालिका को २.९१ प्रतिशत अर्थात् ९ करोड ५४ लाख र गोरखाको पालुङटार नगरपालिकाको २.९४ प्रतिशत बेरुजु देखिएको छ । एकमात्रै महानगर पोखराको बेरुजु १.३९ प्रतिशत अर्थात २१ करोड ८ लाख रुपैयाँ छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप