सभामुख र श्रम संस्कृति पार्टीबिच द्वन्द्व : व्यवहार कहाँसम्म पुगेपछि निलम्बन हुन्छ ?
सारांश
- सभामुख देवप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई प्रतिनिधि सभा नियमावली २०७९ को नियम ३० बमोजिम आफ्नो क्रियाकलाप र व्यवहार सच्याउन चेतावनी दिएका छन्।
- श्रम संस्कृति पार्टीका सांसदहरूले मन्त्रीले उत्तर नदिएसम्म विरोध जारी राख्ने बताएका छन्।
- प्रतिनिधि सभा नियमावली २०७९ को नियम ३०, ३१ र ३२ ले अभद्र व्यवहार गर्ने सदस्यलाई चेतावनी, निष्कासन र निलम्बनको व्यवस्था गरेको छ।
काठमाडौँ । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्याल र श्रम संस्कृति पार्टीका सांसदहरूबिच पटक–पटक नोकझोक चल्यो ।
जेठ ४ गतेदेखि नै श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधि सभा बैठकमा प्लेकार्डसहित उठेर विरोध गर्दै आएका छन् । त्यो गतिविधि संसदीय मर्यादाविपरीत रहेको भन्दै सम्झाउँदै आएका सभामुखले बुधबार बिहान सदन सुरु हुँदा बित्तिकै पनि उक्त पार्टीका सांसदहरूले प्लेकार्ड प्रदर्शन र विरोध गरेपछि आफ्नो व्यवहार सच्याउन प्रतिनिधि सभा नियमावली २०७९ को नियम ३० बमोजिम आफ्नो क्रियाकलाप र व्यवहार सच्याउन चेतावनी दिएका थिए ।
त्यसपछि पनि श्रम संस्कृति पार्टीका सांसदहरूको क्रियाकलाप सच्चिएन । उनीहरूले विरोध गरिरहे पछि सदनको अन्त्यतिर सभामुख अर्यालले आफूले ३ पटक सभामुखको आसनबाट रुलिङ गर्दा पनि अभद्र व्यवहार गरिरहेको बताए ।
‘३ चोटि रुलिङ गरिसकेको छु । माननीय बस्नुस् । प्रश्न सोध्न पाउनुहुन्छ मैले समय दिन्छु,’ सभामुख अर्यालले भने, ‘तपाईंहरू हरेक दिन संविधान कानुन नियमावली भन्दा फरक व्यवहार गरिरहनु भएको छ । नियमावलीको मर्यादाविपरीतका अभद्र व्यवहार यहाँहरूले गरिरहनु भएको छ । यस विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’
त्यसपछि पनि श्रम संस्कृति पार्टीका सांसदहरू रोकिएनन् । पार्टीका अध्यक्षसमेत रहेका हर्कराज राई, महासचिवसमेत रहेका आर्यन राई र सांसद ध्रुवराज राईले उठेर विरोध गरिरहे । सभामुखले बोल्नका लागि माइक र समय नदिए पनि अध्यक्ष राईले आफूहरूले संसद्मा प्रश्न गर्न पाउनुपर्ने र आफूहरूका प्रश्नको जवाफ मन्त्रीहरूले दिनुपर्ने बताए । ‘हामीले प्रश्न गर्न पाउनुपर्छ । हाम्रा प्रश्नको मन्त्रीले उत्तर दिनुपर्छ । सत्ता पक्षका सांसदले उत्तर दिने होइन,’ सांसद राईले भने ।
उनले प्रश्नको उत्तर नआउँदासम्म विरोध गरिरहने बताए । ‘हामीले उठाएका प्रश्नको जवाफ मन्त्रीले दिँदैनन् भने कसरी हुन्छ । हामी विरोध गरिरहन्छौँ । के चाहिँ गर्नुहुन्छ, गर्नुस् । हाम्रा प्रश्नको उत्तर नआउँदासम्म हामी मान्दैनौँ,’ राईले भने ।
त्यसपछि सभामुख अर्यालले आफूले पटक–पटक सभ्य भाषामा समय माग्नुस् विषयवस्तुका आधारमा समय दिन्छु भन्दा पनि नमानेको भन्दै नियमावलीको नियमतर्फ ध्यानाकर्षण गराए । सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली २०७९ को नियम २० को खण्ड (झ) र नियम २१ को खण्ड (क)बारे सदनमा ध्यानाकर्षण गराए । ‘माननीय सदस्यहरू नियमावलीको नियम २० को खण्ड (झ) तर्फ सदस्यहरूको ध्यानाकर्षण गराउँछु,’ सभामुख अर्यालले भने, ‘नियमावलीको नियम २१ को खण्ड (क) प्रति पनि मान्य सदस्यहरूको ध्यानाकर्षण गराउँछु ।’
सभामुख अर्यालले ध्यानाकर्षण गराएको नियम २० मा ‘बैठकमा पालना गर्नुपर्ने नियम’बारे उल्लेख छ । त्यो नियमको खण्ड (झ)मा ‘कुनै सदस्यले बोलिरहेको समयमा बाधा पुग्ने वा बैठकको मर्यादा भङ्ग हुने वा अव्यवस्था उत्पन्न हुने कुनै काम गर्न नहुने,’ लेखिएको छ ।
नियम २१ मा ‘छलफलमा भाग लिने सदस्यले पालना गर्नुपर्ने नियम’बारे उल्लेख छ । त्यसको खण्ड (क) मा ‘सभामुखको ध्यानाकर्षण गर्नको निमित्त उठ्नु पर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इसारा गरेपछि मात्र बोल्नुपर्ने,’ विषय उल्लेख छ ।
तर, बुधबारको सदनपछि संसद् भवन परिसरमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति जिम्मेवार र उत्तरदायी नहुञ्जेलसम्म संसद्मा आफ्नो पार्टीको विरोध जारी रहने बताए । उनले सरकारको गृहमन्त्री समेत प्रधानमन्त्री स्वयं भएको भन्दै मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिनुपर्ने आफूहरूको माग कायमै रहेको बताए ।

‘हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ । यदि सरकारको आलोचना गर्दैमा र संसद्प्रति उत्तरदायी बनाउने कुरा आएकै आधारमा निलम्बन गरिन्छ भने पनि हामी रेडी(तयार) छौँ,’ राईले सञ्चारकर्मीहरूसँग भने ।
संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले संसद्मा अभ्यास नभएका विषयमा मन्त्रीले जवाफ दिँदादिँदै स्पष्टीकरण सोध्न पाउनुपर्ने विषयमा सभामुख र श्रम संस्कृति पार्टीका सांसदहरूबिच कुरा नमिलेको बताए ।
‘उहाँहरूको माग मन्त्रीले उत्तर दिँदादिँदै प्रश्न गर्न पाउनु पर्यो भन्नेछ,’ प्रवक्ता गिरीले रातोपाटीसँग भने, ‘आकस्मिक, विशेष र शून्य समयमा जवाफ दिँदा स्पष्टीकरण सोध्ने अभ्यास अहिलेसम्म छैन ।’
प्रवक्ता गिरीले सार्वजनिक वक्तव्यका रूपमा मन्त्रीले धारणा राख्दा भने स्पष्टीकरण सोध्न सोध्न पाउने व्यवस्था नियमावलीले गरेको बताए ।
बुधबार सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई गराएको ध्यानाकर्षण निलम्बनको तयारीस्वरुप हो भन्ने प्रश्नमा प्रवक्ता गिरीले भने, ‘सभामुखले सभा सञ्चालनबारे ध्यानाकर्षण गराउनु भएको हो । त्यसैका आधारमा तयारी हो भन्न सकिँदैन । अहिले त्यसैमा टेकेर पूर्वानुमान गर्नु उपयुक्त होइन ।’
प्रतिनिधि सभा नियमावली ०७९ को नियम ३० मा सभामुखले चेतावनी दिन सक्ने उल्लेख छ । त्यो नियममा चेतावनी शीर्षकमा लेखिएको छ, ‘बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्नेछ ।’
नियम ३१ को उपनियम १ मा बैठक कक्षबाट निष्कासनसम्बन्धी व्यवस्था छ । त्यहाँ लेखिएको छ, ‘नियम ३० बमोजिमको आदेश पालन नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्नेछ । आदेश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर जानुपर्नेछ । र निजले सो दिनको बाँकी अवधिको बैठकमा उपस्थित हुन पाउने छैन,’ भन्ने व्यवस्था छ ।
त्यसपछि नियम ३२ मा बल्ल सदस्यको निलम्बनसम्बन्धी व्यवस्था छ ।
यस्तो छ नियमावलीको व्यवस्था:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण