शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
विश्व

अमेरिका–क्युबा तनाव फेरि सतहमा

१९९६ घटना ‘ब्रदर्स टु द रेस्क्यु’ देखि कास्त्रोमाथि अभियोगसम्म
बिहीबार, ०७ जेठ २०८३, १२ : १८
बिहीबार, ०७ जेठ २०८३

सारांश

  • अमेरिकी प्रशासनले सन् १९९६ को एक घटनामा पूर्व क्युबाली राष्ट्रपति राउल कास्त्रोविरुद्ध अभियोग दर्ता गरेपछि अमेरिका र क्युबाबीचको पुरानो तनाव फेरि सतहमा आएको छ ।
  • सन् १९९६ मा क्युबाली आकाशमा 'ब्रदर्स टु द रेस्क्यु' समूहका दुई विमान खसाल्दा चार जनाको मृत्यु भएको थियो, जसलाई अमेरिकाले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन मानेको थियो ।
  • अमेरिकी राष्ट्रपति ट्रम्पले तत्काल ठूलो तनाव नबढ्ने बताए पनि विश्लेषकहरूले यो घटनाले दुई देशबीचको सम्बन्ध थप जटिल बन्ने चेतावनी दिएका छन् ।

काठमाडौँ । अमेरिका र क्युबाबिचको सम्बन्ध इतिहासमै सबैभन्दा जटिल र तनावपूर्ण कूटनीतिक सम्बन्धमध्ये एक मानिन्छ । शीतयुद्धकालीन वैचारिक टकराव, आर्थिक प्रतिबन्ध, राजनीतिक अविश्वास र गुप्त कारबाहीहरूको लामो शृङ्खलाका कारण यी दुई देशबिचको तिक्त दूरी दशकौँदेखि उस्तै छ ।

यसै पृष्ठभूमिमा हालै फेरि एउटा नयाँ राजनीतिक घटना बाहिर आएको छ, जसले दुई देशबिचको पुरानो तिक्ततालाई फेरि ब्युँझाइदिएको छ । अमेरिकी प्रशासनले पूर्व क्युबाली राष्ट्रपति राउल कास्त्रोविरुद्ध सन् १९९६ को एक विवादास्पद घटनासँग सम्बन्धित अभियोग यही २० मेमा दर्ता गरेपछि अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा फेरि अर्को नयाँ बहस सुरु भएको छ ।

त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबासँग त्यति ठुलो तनाव नबढ्ने प्रतिक्रिया दिँदै परिस्थिति काबुमै रहेको दाबी गरेका छन् । तर विश्लेषकहरू भने यो घटनाले अमेरिका–क्युबा सम्बन्ध पुनः तनावपूर्ण दिशातर्फ जान सक्ने चेतावनी दिइरहेका छन् ।

  • १९९६ को घटना: ब्रदर्स टु द रेस्क्यु काण्ड

यो विवाद बुझ्न सन् १९९६ मा फर्किनु आवश्यक हुन्छ । त्यस वर्ष अमेरिकी भूमिबाट सञ्चालन भइरहेको क्युबाली निर्वासित समूह ब्रदर्स टु द रेस्क्युका दुई साना विमान क्युबाली आकाशमा खसालिएका थिए ।

यो घटना आज पनि १९९६ ब्रदर्स टु द रेस्क्यु सटडाउन नामले चिनिन्छ । घटनामा चार जना क्युबाली निर्वासितको मृत्यु भएको थियो ।

अमेरिकाले त्यसबेला क्युबाली सरकारमाथि अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको आरोप लगाएको थियो । क्युबाले भने ती विमानहरू आफ्नो हवाई क्षेत्र उल्लङ्घन गर्दै सैन्य प्रकृतिका गतिविधि गरिरहेको दाबी गरेको थियो ।

यो घटनाले दुई देशबिचको कूटनीतिक सम्बन्ध झन् बिग्रियो र दशकौँसम्म विश्वासको सङ्कट गहिरिँदै गयो ।

  • अहिलेको मुद्दा किन फेरि उठ्यो ?

हाल अमेरिकी अदालतले पूर्व क्युबाली राष्ट्रपति राउल कास्त्रोमाथि सोही १९९६ घटनामा प्रत्यक्ष वा परोक्ष संलग्न रहेको आरोप लगाउँदै अभियोग दर्ता गरेको बताइएको छ । यद्यपि यसको कानुनी प्रक्रिया अझ प्रारम्भिक चरणमै रहेको छ, तर त्यसको राजनीतिक प्रभाव भने निकै ठुलो देखिएको छ । राउल कास्त्रो क्युबाको क्रान्तिकारी नेतृत्व संरचनाका प्रमुख व्यक्तिहरूमध्ये एक मानिन्छन् । उनले लामो समयसम्म सत्ता संरचनामा निर्णायक भूमिका निभाएका थिए ।

यस अभियोगलाई केही अमेरिकी राजनीतिक समूहहरूले ऐतिहासिक न्याय भन्दै स्वागत गरेका छन् भने क्युबाली पक्षले यसलाई राजनीतिक नाटकको संज्ञा दिइएको छ ।

  • ट्रम्पको प्रतिक्रियाः युद्ध हुँदैन

यो घटनापछि राष्ट्रपति ट्रम्पले सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै भने कि अमेरिका क्युबासँग ठुलो सैन्य वा कूटनीतिक तनाव बढाउने पक्षमा छैन । उनले ‘हामी क्युबालाई स्वतन्त्र बनाइरहेका छौँ’ भन्ने वाक्य प्रयोग गर्दै क्युबाली शासन प्रणालीप्रति अमेरिकी दबाब जारी रहने संकेत पनि दिएका छन् ।

तर उनले स्पष्ट रूपमा क्युबासँग त्यति ठुलो तनाव नबढ्ने भन्दै तत्काल युद्ध, सैन्य कारबाही वा ठुलो कूटनीतिक टकरावको सम्भावना कम रहेको दाबी गरेका छन् । 

राजनीतिक विश्लेषकहरूका अनुसार ट्रम्पको यो बयान दुई उद्देश्यले आएको हुन सक्छः एक उ अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्न चाहन्छ भने अर्को, घरेलु राजनीतिक आधारलाई सन्तुलित राख्न चाहन्छ ।

  • ‘हामी क्युबालाई स्वतन्त्र बनाइरहेका छौँ’को राजनीतिक अर्थ

ट्रम्पको ‘हामी क्युबालाई स्वतन्त्र बनाइरहेका छौँ’ भन्ने अभिव्यक्ति नयाँ होइन । अमेरिकी विदेश नीतिमा क्युबालाई लामो समयदेखि कम्युनिस्ट शासनबाट मुक्त पार्ने लक्ष्य रहेको देखिन्छ । तर यस वाक्यांशलाई धेरैले क्युबामाथि आर्थिक प्रतिबन्ध, मानव अधिकार मुद्दामा दबाब, विपक्षी समूहलाई समर्थन, क्युबा सरकारको अन्तर्राष्ट्रिय वैधता कमजोर पार्ने प्रयासको रूपमा हेरेका छन् ।

क्युबाले भने यस्ता अभिव्यक्तिलाई आफ्नो राष्ट्रिय सार्वभौमिकतामाथिको हस्तक्षेपका रूपमा व्याख्या गर्दै आएको छ ।

  • खराब इतिहास

अमेरिका र क्युबाको सम्बन्ध १९५९ को क्युबाली क्रान्तिपछि तीव्र रूपमा बिग्रिएको हो । जतिबेला फिडेल कास्त्रोको नेतृत्वमा कम्युनिस्ट शासन स्थापित भयो । त्यसपछि अमेरिका र क्युबाबीच कूटनीतिक सम्बन्ध विच्छेद, आर्थिक प्रतिबन्ध, गुप्तचर गतिविधि र राजनीतिक टकराव जस्ता घटनाहरू निरन्तर भइरहे ।

राउल कास्त्रो पछि फिडेल कास्त्रोको स्थानमा आएपछि पनि क्युबाको नीतिमा ठुलो परिवर्तन भएन ।

  • कानुनी दृष्टिकोण: अभियोगको अर्थ के ?

अमेरिकी कानुनी प्रणालीमा इनडिचमेन्ट भन्नाले औपचारिक आरोपपत्र दर्ता हुनु हो, जसले कुनै व्यक्तिलाई अदालतमा मुद्दा चलाउन अनुमति दिन्छ । तर यसको अर्थ तत्काल गिरफ्तारी गर्नु वा सजाय दिनु भन्ने चाहिँ होइन । विशेषगरी विदेशी नेताहरूको मामिलामा यसको कार्यान्वयन अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्धमा निर्भर हुन्छ ।

राउल कास्त्रो अहिले पनि क्युबामा छन् र उनीमाथि अमेरिकी अदालतको अधिकार क्षेत्र लागू गर्न कठिन हुने देखिन्छ ।

यस मामलामा क्युबाली सरकारको प्रारम्भिक प्रतिक्रिया कडा रहेको छ । उनीहरूले यस मुद्दालाई राजनीतिक उद्देश्यले प्रेरित कदम भनेका छन् ।

क्युबाका अनुसार यो १९९६ को घटना आत्मरक्षाको परिणाम थियो । अमेरिकी निर्वासित समूहले आकाशीय सीमा उल्लङ्घन गरेको थियो । अहिलेको अभियोग ऐतिहासिक घटनालाई राजनीतिक रूपमा प्रयोग गर्ने प्रयास हो ।

अन्तर्राष्ट्रिय समुदाय यस विषयमा विभाजित देखिन्छ । केही पश्चिमी देशहरूले मानव अधिकार र न्यायको पक्षमा मुद्दा उठाउनु उचित भएको बताइरहेका छन् भने केहीले यसले पुरानो तनाव पुनः चर्काउन सक्ने चेतावनी दिएका छन् ।

विशेषगरी ल्याटिन अमेरिकी देशहरूमा यो विषय संवेदनशील छ, किनकि क्युबा लामो समयदेखि अमेरिका विरुद्धको वैचारिक संघर्षको प्रतीकको रूपमा परिचित हुँदै आएको छ ।

  • मिश्रित प्रतिक्रिया 

क्युबाली मुलका अमेरिकी सिनेटर कार्लोस गिमेनेजले कास्त्रोमाथिको अभियोजनलाई समर्थन गर्दै एएफपीसँग भनेका छन, ‘क्युबाली तानाशाहीले अन्ततः आफ्ना अपराधहरूको जवाफ दिनैपर्छ ।’ उनले थपे, ‘ब्रदर्स टु द रेस्क्यु विमानमाथि गरिएको क्रूर आक्रमण कुनै दुर्घटना वा भवितव्य थिएन, त्यो निर्दोष अमेरिकीहरूविरुद्ध क्यास्ट्रो शासनले मानवीय सहायता मिसनका क्रममा गरेको योजनाबद्ध हत्या थियो ।’ गिमेनेजले आफू क्युबामा जन्मिएका अमेरिकी कांग्रेस सदस्य भएकाले यो अभियोग व्यक्तिगत रूपमा पनि आफ्नो लागि महत्त्वपूर्ण रहेको बताएका छन् । ‘सही र अत्यन्त न्यायपूर्ण’ भन्दै अधिकांश क्युबाली–अमेरिकीहरूले गिमेनेजले यो अभियोजनको स्वागत गरेका छन् ।

६७ वर्षीया फाबेलोले भनिन्, ‘मलाई लाग्छ यो अभियोग सही र अत्यन्त न्यायपूर्ण छ । हामी सबै क्युबालीहरूले ६० वर्षभन्दा बढी समयदेखि यसको प्रतीक्षा गरिरहेका थियौं ।’ उनले थपिन्, ‘धेरै मानिसहरू क्यास्ट्रोले दुःख भोगोस् भन्ने चाहन्छन् ।’

तर फेरि, हवानामा भने क्युबाली नागरिकहरूले क्यास्ट्रोलाई समर्थन गर्दै अमेरिकाविरुद्ध प्रतिरोध गर्न तयार रहेको बताएका छन् । ६४ वर्षीय निर्माण मजदुर रेने सिएराले भने, ‘यसको कुनै तुक छैन । उनीहरू (अमेरिका) यहाँ आएर केही गर्न सक्दैनन्, किनकि हामी उनीहरूको प्रतीक्षामा हुनेछौं । हामी भेनेजुएला होइनौं । यहाँ बच्चादेखि वयस्कसम्म सबैलाई बन्दुक चलाउन आउँछ । उनीहरूलाई आउन दिऔं—हामी सबै ध्वस्त पारिदिनेछौँ ।’

त्यसो त क्युबाको न्याय मन्त्रालयबाट अवकाश प्राप्त ७६ वर्षीय अगस्टिन सनाब्रियाले पनि अभियोगको कुनै अर्थ नभएको बताए । उनले भने, ‘उनीहरूले मादुरोमाथि गरेजस्तै यहाँ पनि गर्न सकिन्छ भन्ने ठानेका छन् । तर मादुरोलाई आन्तरिक रूपमा धोका दिइएको थियो । यहाँ त्यस्तो हुनेवाला छैन ।’ त्यसैगरि, ६५ वर्षीया कानुनी सल्लाहकार रोजमेरी पेञाले क्यास्ट्रो र उनका सहकर्मीहरूले विमान खसालिएको समयमा क्युबाको हवाई क्षेत्रको रक्षा गर्ने अधिकार रहेको बताइन् । उनले भनिन्, ‘यदि उनीहरूको हवाई क्षेत्र उल्लंघन गरिएको थियो भने, फेरि त्यस्तो हुन नदिन उनीहरूले उचित ठानेको कदम चाल्न सक्छन् । मेरो विचार यही हो ।’

  • के यो नयाँ सङ्कट हो ?

हालको घटनालाई पूर्ण रूपमा नयाँ सङ्कट भन्दा पनि पुरानो तनावपूर्ण इतिहासको पुनरावृत्तिका रूपमा परिभाषित गर्न सकिन्छ । र यस मामलामा केही प्रस्ट आयाम देखिन्छन्ः ती हुन्, ऐतिहासिक न्यायको प्रश्न (१९९६ घटनाको जिम्मेवारी), राजनीतिक सन्देश (अमेरिका–क्युबा नीति कडा रहने संकेत) तथा घरेलु राजनीति (अमेरिकी प्रशासनभित्रको शक्ति सन्तुलन) । राउल कास्त्रोमाथिको अभियोग र ट्रम्पको प्रतिक्रिया केवल कानुनी वा कूटनीतिक विषय मात्र होइन, यो दुई देशबिचको दशकौँ लामो अविश्वासको नयाँ अध्याय पनि हो । तत्काल सैन्य वा कूटनीतिक तनाव नबढ्ने संकेत दिइए पनि, अमेरिका–क्युबा सम्बन्ध अझै पनि अनिश्चितताको अवस्थामा छ । अस्थिरता कायम राख्न वा तनावलाई अझ अघि तन्काउन अमेरिका कुनै न कुनै बहानाको खोजीमा रहिरहन्छ । 

— एएफपी लगायत एजेन्सीहरूको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप