एकै महिनामा २३ सयभन्दा बढी फरार प्रतिवादी र ४० जना अवैध हतियारधारी प्रहरी फन्दामा
सारांश
- नेपाल प्रहरीले गत वैशाख महिनामा देशव्यापी विशेष अभियान चलाएर विभिन्न मुद्दाका २,३१९ फरार प्रतिवादी पक्राउ गरेको छ ।
- पक्राउ परेका प्रतिवादीहरूबाट ८२५ वर्षभन्दा बढी कैद सजाय कार्यान्वयनमा आएको छ र २१ करोडभन्दा बढी जरिवाना असुल भएको छ ।
- सोही अवधिमा प्रहरीले अवैध हातहतियार मुद्दामा संलग्न ४० जनालाई पक्राउ गरी २९ थान अवैध हतियार र गोली बरामद गरेको छ ।
काठमाडौँ । नेपाल प्रहरीले गत वैशाख महिनामा देशव्यापी रूपमा सञ्चालन गरेको विशेष अभियानका क्रममा विभिन्न मुद्दाका २ हजार ३ सय १९ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।
अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गर्न बाँकी रहेका तथा लामो समयदेखि कानुनको आँखा छलेर फरार रहेका अपराधीहरूलाई प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ परेका फरार प्रतिवादीहरूमध्ये सबैभन्दा बढी मधेश प्रदेशबाट ७ सय ३० जना र काठमाडौँ उपत्यकाबाट ३ सय ६६ जना रहेका छन् । यसैगरी लुम्बिनी प्रदेशबाट ३ सय ३० जना, कोशी प्रदेशबाट ३ सय २६ जना, गण्डकी प्रदेशबाट २ सय ४ जना, बागमती प्रदेशबाट १ सय ९९ जना, सुदूरपश्चिम प्रदेशबाट ८४ जना, कर्णाली प्रदेशबाट ६८ जना र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीबाट १२ जना पक्राउ परेका छन् ।
वैशाख महिनामा पक्राउ परेका यी प्रतिवादीहरूबाट कुल ८ सय २५ वर्ष २ महिना २५ दिन कैद सजाय कार्यान्वयनमा आएको छ भने उनीहरूबाट २१ करोड ५३ लाख ६९ हजार १ सय १० रुपैयाँ जरिवाना समेत असुलउपर गरिएको छ । प्रहरीले कर्तव्य ज्यान, लागूऔषध, जबरजस्ती करणी, बैंकिङ कसुर र ठगी लगायतका मुद्दामा फैसला ठहर भएकाहरूलाई पक्राउ गर्न विशेष अभियान चलाइरहेको छ ।
यसैगरी नेपाल प्रहरीले सोही एक महिनाको अवधिमा देशभरबाट अवैध हातहतियार सम्बन्धी मुद्दामा संलग्न ४० जनालाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गण्डकी प्रदेशबाट १४ जना, लुम्बिनी प्रदेशबाट ९ जना, कर्णाली प्रदेशबाट ८ जना, काठमाडौँ उपत्यका र सुदूरपश्चिम प्रदेशबाट ३/३ जना तथा कोशी, मधेश र बागमती प्रदेशबाट १/१ जना रहेका छन् ।
पक्राउ परेका हतियारधारीहरूको साथबाट प्रहरीले कुल २९ थान अवैध हातहतियार बरामद गरेको छ । जसमा २१ थान भरुवा बन्दुक, २ थान कटुवा पेस्तोल, २ थान एयरगन, १ थान चिनियाँ पेस्तोल, १ थान सामान्य पेस्तोल, १ थान रिभल्वर र १ थान अन्य बन्दुक रहेका छन् । हतियारका साथै उनीहरूको ओसारपसार र भण्डारणबाट एसएलआरको २ सय ६३ राउण्ड गोली, विभिन्न बन्दुकमा लाग्ने ७० राउण्ड गोली र चिनियाँ पेस्तोलको १ राउण्ड गोली समेत बरामद भएको छ ।
तस्करी, हत्या, अपहरण, डकैती, लुटपाट, जबरजस्ती चन्दा असुली तथा दुर्लभ वन्यजन्तुको शिकार जस्ता गम्भीर अपराधमा यस्ता अवैध हतियार प्रयोग हुने गरेको प्रहरीको निष्कर्ष छ । अपराधमुक्त समाज निर्माणका लागि अवैध हातहतियार नियन्त्रण र कारोबारीलाई निस्तेज पार्न प्रहरीले सूचना संकलनलाई तीव्र बनाएको छ । प्रहरीले कतै अवैध हतियार लुकाइराखेको थाहा भएमा तत्काल सूचना दिन र त्यस्ता हतियार प्रहरीमा बुझाउन आम नागरिकलाई अनुरोध समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यसँग जवाफ माग्न पुगेका युवालाई निर्ममतापूर्वक कुट्नु लज्जास्पदः गगन थापा
-
विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
-
उपाधि दाबेदार इंग्ल्याण्डलाई रोक्न सक्ला त ‘डार्क हर्स’ नर्वेले ?
-
गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण