खड्का र डा. कोइरालाले स्विकारेनन् वरिष्ठ नेता बन्ने प्रस्ताव
सारांश
- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालालाई वरिष्ठ नेता बन्ने प्रस्ताव गरेका थिए, तर उनीहरूले सो प्रस्ताव अस्वीकार गरेका छन् ।
- खड्का र कोइरालाले पद नचाहिएको भन्दै निष्पक्ष महाधिवेशनका लागि संयन्त्र निर्माण र सामूहिक वातावरण बनाउन सुझाव दिएका थिए ।
- वरिष्ठ नेताको प्रस्ताव अस्वीकार गरिएपछि संस्थापन पक्षले देउवा र शेखर समूहसँगको सल्लाहमा १९ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ, जसले पार्टीमा थप असन्तुष्टि बढाएको छ ।
काठमाडौँ । गत पुस अन्तिम साता विशेष महाधिवेशनबाट आएको नेतृत्वले नेपाली कांग्रेसको वरिष्ठ नेता बन्न गरेको प्रस्ताव निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालाले अस्वीकार गरेका छन् ।
यो प्रस्ताव कांग्रेस महामन्त्री प्रदीप पौडेलले खड्का र डा. कोइरालालाई भेटेरै गरेको तथ्य ढिलोगरी बाहिरिएको हो । खड्कालाई उनकै निवास गोल्फुटारमा र डा. कोइरालालाई विशालनगरस्थित सम्पर्क कार्यालयमा पुगेर महामन्त्री पौडेलले यो प्रस्ताव गरेका थिए ।
महामन्त्री पौडेलले खड्का र डा. कोइरालालाई वरिष्ठ नेता बनाउने प्रस्ताव गरिएको स्विकारे । ‘वरिष्ठ नेता बनाउन सकिने कुराकानी गरिएको हो,’ महामन्त्री पौडेलले रातोपाटीसँग भने, ‘उहाँहरू (खड्का र डा. कोइराला) यथार्थमै वरिष्ठ नेताहरू हो । वर्तमान सभापतिजी र हामीहरूभन्दा पुराना र पार्टीमा योगदान गरेका नेताहरू हो । तसर्थ उहाँहरूलाई वरिष्ठ नेता मान्न र भन्न हामीलाई गाह्रो छैन । हामी पुरानो नेतृत्वलाई सम्मान गर्न चाहन्छौँ ।’
त्यो प्रस्तावको हुन्छ÷हुन्न जबाफ नआएको पौडेलले बताए । ‘हामीले यो प्रस्ताव गरेको केही समय भयो । त्यसको जबाफ पाएका छैनौँ,’ उनले भने ।
खड्का र डा. कोइरालाले संस्थापनको त्यो प्रस्ताव अस्वीकार गरेका छन् । उनीहरूले आफूहरूलाई पद नचाहिएको भन्दै निष्पक्ष महाधिवेशन हुने संयन्त्र निर्माण गर्न, सामूहिक र सहमतिमा महाधिवेशन गर्ने वातावरण निर्माण गर्न भनेका थिए ।
वरिष्ठ नेता बन्न प्रस्ताव आएपछि डा. कोइरालाले महामन्त्री पौडेललाई आफूलाई लोभ्याउने काम नगर्न र निष्पक्ष १५औँ महाधिवेशन हुने वातावरण र संयन्त्र निर्माण गर्न सुझाएका थिए । ‘मलाई तपाईंलाई यो पद दिन्छौँ भनेर लोभ्याउने काम नगर्नुस् । पार्टी एक हुन प¥यो । फुट्न भएन,’ कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले रातोपाटीसँग भन्यो, ‘१५औँ महाधिवेशन निष्पक्ष हुने वातावरण र संयन्त्र निर्माण गर्नुस् । असन्तुष्ट साथीहरूको चित्त बुझाएर अगाडि बढ्नुस् ।’
कोइरालाको त्यो जबाफपछि महामन्त्री पौडेल कुनै प्रतिक्रिया नदिई फर्किएका थिए ।
डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले महामन्त्री पौडेलसँग भेट भएको, तर छलफलको विषय यही हो भन्ने जानकारी आफूलाई नभएको बताए । ‘उहाँले केही समय अगाडि भेट्नु भएको हो । केही समय कुराकानी गरेर फर्कनुभएको थियो,’ थपलियाले रातोपाटीसँग भने, ‘विषय यही हो भन्नेबारे जानकारी छैन ।’
अर्कोतिर निवर्तमान कार्यवाहक सभापति खड्काले आफूलाई पद नभई पार्टीलाई एकताबद्ध हुने प्रस्ताव चाहिएको बताएका थिए । ‘मलाई पद चाहिएको छैन । पार्टीलाई एकताबद्ध बनाउने प्रस्ताव र योजना चाहिएको छ । त्यो लिएर आउनुस् । तपाईंलाई यो पद दिन्छौँ । बस्दिनप¥यो भनेर नआउनुस्,’ महामन्त्री पौडेललाई खड्काले दिएको जबाफ उद्धृत गर्दै स्रोतले रातोपाटीलाई भन्यो ।
पौडेललाई खड्का र डा. कोइरालाले पार्टीलाई एकताबद्ध बनाउन दुई विकल्प दिएका थिए । ती दुई विकल्प थिए– दुवै पक्षलाई समेटेर छुट्टै महाधिवेशन तयारी समिति बनाउने र अर्को, १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई विशेष महाविधेशनबाट आएको समितिमा समावेश गर्ने ।
महामन्त्री पौडेलले दुई प्रस्ताव नेताहरूले आफूलाई गरेको स्विकार्दै त्यो गर्न आफूहरूले नचाहेको बताए । ‘उहाँहरूले महाधिवेशन तयारी समिति बनाउने र १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई अहिलेको केन्द्रीय समितिमा समायोजन गर्ने भन्नुभएको थियो,’ पौडेलले भने, ‘त्यो गर्न हामीले चाहेनौँ ।’
देउवा समूहका नेता तथा पूर्वसहमहामन्त्री डा.प्रकाशशरण महतले आफूहरूको मुख्य चासो दुवै पक्षलाई मिलाएर महाधिवेशन तयारी समिति बनाउनेसहितको रहेको बताए । ‘हाम्रो मुख्य कन्सर्न दुवै पक्षलाई मिलाएर महाधिवेशन आयोजक समिति बनाउने हो,’ उनले रातोपाटीसँग भने, ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति, निर्वाचन समितिमा पनि हाम्रो सहभागिता होस् भन्ने हाम्रो भनाइ छ । महाधिवेशन आयोजक समितिले विधानलाई परिवर्तन गर्न प्रस्ताव गर्ने महाधिवेशनसम्बन्धी प्रस्ताव तयार पारोस् भन्ने हामीले भनिरहेका छौँ ।’
त्यो बाहेक देउवा र शेखर समूहले १५औँ महाधिवेशनका लागि भनेर नवीकरण गरिसकिएका क्रियाशील सदस्यता पुनः अध्यावधिक गर्नु व्यावहारिक नभएकोले गर्न नहुने पनि बताइरहेको छ । तर, संस्थापनले भने सदस्यता अध्यावधिक गर्ने भनेको पुनः नवीकरण गर्ने नभई ‘डिजिटलाइजेशन’ गर्ने भनेको छ ।
प्रवक्ता देवराज चालिसेले पुनः नवीकरण गर्नका लागि नभई पार्टीलाई ‘डिजिटलाइजेशन’ गर्न अध्यावधिक गर्न सुरु गरिएको जानकारी दिए । ‘बाहिर पुनः नवीकरण गर्न लागियो भन्ने भ्रम परेको छ । हामीले पुनः नवीकरण गर्न भनेका होइनौँ । अध्यावधिक गरेर पार्टीलाई समय सापेक्ष बनाउन डिजिटलाइज्ड गरौँ भनेका हौँ,’ प्रवक्ता चालिसेले रातोपाटीसँग भने, ‘कम्तिमा डिजिटल्ली पार्टी सदस्यहरूको तथ्याङ्क राखियो भने त आवश्यक पर्दा सहजै भेट्टाउन सकिन्छ भन्ने हाम्रो योजना र लक्ष्य हो ।’
दुई नेताले वरिष्ठ नेताको प्रस्ताव अस्वीकार गरेपछि संस्थापनले देउवा र शेखर समूहसँगको सल्लाहमा भनेर व्यक्तिगत रूपमा कुरा गरेर १९ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । यो मनोनयनपछि कांग्रेसमा थप असन्तुष्टि बढेको छ । सभापति गगन थापाले दुई पूर्वसहमहामन्त्रीहरू महेन्द्र यादव र जीवन परियार तथा पूर्वकोषाध्यक्ष उमेश श्रेष्ठसहित १९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।
मनोनीत हुनेमा विशेष महाधिवेशनमा सहभागी नभएका देउवा समूहका १२ र कोइराला समूहमा ७ जना छन् । उनीहरूलाई समूहको सिफारिसमा नभई व्यक्तिगत रूपमा मनोनयन गरिएको खड्का र डा. कोइरालाले विज्ञप्तिमार्फत प्रष्टीकरण दिइसकेका छन् ।
तत्कालीन केन्द्रीय समिति र सभापति सभापति शेरबहादुर देउवाको असहमतिबिच पुस २७ देखि ३० गतेसम्म गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन भएको थियो । महाधिवेशनले थापाको नेतृत्वमा पदाधिकारीसहितको नयाँ केन्द्रीय समिति ल्याएको थियो ।
विशेष महाधिवेशन विधानविपरीत भन्दै आधिकारिकता नदिन माग गर्दै देउवा र शेखर समूह निर्वाचन आयोग र सर्वोच्च अदालतमा पुगेका थिए । दुवै निकायले विशेष महाधिवेशनलाई नै आधिकारिक भएको निर्णय दिएका छन् । तर, अहिलेसम्म विशेष महाधिवेशनपछि सुरु भएको कांग्रेस विवाद मथ्थर भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण