शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

‘हिमालयन लिटरेचर फेस्टिवल एन्ड राइटर्स’ जेठ १५ देखि

आइतबार, १० जेठ २०८३, २२ : ०१
आइतबार, १० जेठ २०८३

काठमाडौँ । नेपाली साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ यही जेठ १५ गतेदेखि २२ गतेसम्म ‘हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स’ आयोजना हुने भएको छ ।

ह्वाइट लोटस बुकसप र कवि युयुत्सु शर्माको पहलमा विश्वका प्रसिद्ध कवि, उपन्यासकार, संस्करण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्धान, पत्रकारको उपस्थितिमा आठ दिने ‘हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स’ आयोजना हुने भएको हो ।

कार्यक्रमको जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा महोत्सवका संयोजक शर्माले नेपाली साहित्य र कलालाई विश्वस्तरमा चिनाउनका लागि विगत तीन वर्षदेखि यस्ता कार्यक्रम आयोजना गर्दै आइरहेको र यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको बताए ।

संयोजक शर्माले उक्त कार्यक्रममा पुलित्जर पुरस्कार विजेता कवि ट्रेसी के स्मिथ, पल मल्डुन, चर्चित उपन्यासकार जीन ह्यान्फ कोरेलिट्ज, कवि तथा अनुवादक टोनी बार्नस्टोन, आइरिस साहित्यिक सम्पादक मार्टिन डोयललगायत नेपाल, भारत, आयरल्यान्ड, अस्ट्रिया, पोल्यान्ड, संयुक्त राज्य अमेरिका तथा अन्य देशका साहित्यिक व्यक्तित्वको सहभागिता रहने जानकारी दिए।

उक्त कार्यक्रममा कविता, संस्करण, जादुई, यथार्थवाद, कृतिम बुद्धिमता, सृजनात्मक लेखन, महिला साहित्य, आदिवासी आख्यान, आघात र उपचार, ध्यान र सृजना, अनुवाद, प्रस्तुति कला तथा डिजिटल युगमा साहित्यको बारेमा विविध विषयका सत्रहरू सञ्चालन हुने कार्यक्रम संयोजक शर्माले बताए।

जेठ १५ देखि २० गतेसम्म हुने कार्यशालामा ठमेलस्थित मल्ल होटलका साथै काठमाडौँका विभिन्न ऐतिहासिक मन्दिर, गुम्बा र पर्यटकीयस्थलमा पनि सञ्चालन गरिने आयोजकले जनाएको छ । जसले सहभागीलाई नेपाली परिवेश र संस्कृतिसँग नजिक गराउने बताइएको छ ।

यस्तै, जेठ २१ र २२ गते विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरिने कार्यक्रम निर्देशक सृजना भण्डारीले जानकारी दिइन् । उक्त दुई दिन पुस्तक विमोचन, कविता वाचन र सांस्कृतिक कार्यक्रम समावेश गरिएको भण्डारीले बताइन्।

कविता वाचनलाई तीन पुस्तामा विभाजन गरिएको उनले बताइन् । पुराना पुस्ताका कवि शैलेन्द्र साकार, द्वारिका श्रेष्ठ, हरि अधिकारी, नयाँ पुस्ताका कवि अभय श्रेष्ठ, ठाकुर बेलबासे र महिला कवि राधिका कल्पित, उषा शेरचनलगायतले कविता प्रस्तुत गरिने बताइएको छ ।

कार्यक्रमको अर्को मुख्य आकर्षण ‘पोयट्री फिल्म फेस्टिभल’ रहेको छ । नेपालमा पहिलोपटक आयोजना हुन लागेको उक्त विधामा कविता र दृश्यको फ्युजन देख्न पाइने निर्देशक भण्डारीले बताइन् । हिमालयन लिटरेचर फेस्टिभलले न्युयोर्क राइटर्स वर्कशप, एसियन अमेरिकन राइटर्स वर्कशप र अस्ट्रिया एसियन फिलोसोफर राइटर्स वर्कशपजस्ता अन्तरराष्ट्रिय संस्थाहरूसँग सहकार्य गरेको आयोजकले जनाएको छ ।

महोत्सवको मुख्य उद्देश्य नेपाली साहित्यलाई अन्तरराष्ट्रिय मञ्चमा पुर्याउनु र बहुभाषिक तथा बहुसांस्कृतिक आदानप्रदानलाई सुदृढ बनाउनु रहेको उनले बताए। उक्त कार्यक्रमले नेपाली लेखकलाई विश्वस्तरका लेखकसँग जोड्ने र नेपाली कला, साहित्यको पहिचान विश्वभर फैलाउने विश्वास आयोजकले गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप