बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

सिङ्गापुरको आर्थिक वृद्धिमा निरन्तर सुधारको सङ्केत

बुधबार, १३ जेठ २०८३, ०१ : ३६
बुधबार, १३ जेठ २०८३

सारांश

  • सिङ्गापुरको आर्थिक वृद्धिदरको पूर्वानुमान बढाइएको छ।
  • एआई लगानी र निर्माण क्षेत्रको मजबुत गतिविधिले अर्थतन्त्रलाई टेवा पुगेको छ।
  • भू-राजनीतिक जोखिमका बाबजुद अर्थतन्त्र सुधारोन्मुख रहेको छ।

काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी लगानीमा तीव्र वृद्धि, निर्माण क्षेत्रको मजबुत गतिविधि र सुरक्षित लगानीका रूपमा पुँजी प्रवाह बढेकाले सिङ्गापुरको सन् २०२६ को आर्थिक वृद्धिदर पूर्वानुमान बढाइएको छ ।

मलेसियास्थित मेबैंक इन्भेस्टमेन्ट बैंकले सन् २०२६ का लागि सिङ्गापुरको कुल गार्हस्थ उत्पादन वृद्धिदर ४.२ प्रतिशत हुने अनुमान गरेको छ, जुन पहिले ३.४ प्रतिशत थियो । यो सरकारी अनुमानित २ देखि ४ प्रतिशतको दायराभन्दा माथि छ ।

उक्त अनुसन्धान संस्थाले सन् २०२७ को वृद्धिदर पूर्वानुमान पनि ३.१ प्रतिशतमा पुर्‍याएको छ ।

संस्थाका अनुसार एआई प्रविधिमा ठुलो पुँजी लगानी, निर्माण क्षेत्रमा उछाल र सुरक्षित लगानीतर्फ बढ्दो आकर्षणले अर्थतन्त्रलाई मजबुत बनाएको छ।

मध्यपूर्वमा जारी द्वन्द्वले ऊर्जा–आधारित केही उद्योगलाई असर गरे पनि त्यसको प्रभाव अन्य क्षेत्रमा कम देखिएको छ । विशेष गरी समुद्री ढुवानी र हवाई क्षेत्रले माग स्थानान्तरणबाट लाभ पाएको बताइएको छ ।

एआई सम्बन्धी पुँजीगत खर्च सन् २०२६ को दोस्रो आधासम्म जारी रहने अपेक्षा गरिएको छ । प्रमुख अमेरिकी प्रविधि कम्पनीहरूले खर्च बढाइरहेकाले सेमिकन्डक्टर र सर्भरसम्बन्धी उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ ।

निर्माण गतिविधि पनि बलियो रहने अपेक्षा गरिएको छ, जसमा ठुला परियोजना र सरकारी सहायताले सहयोग गर्ने बताइएको छ ।

अर्कोतर्फ, युनाइटेड ओभरसीज बैंक अनुसन्धान विभागले पनि सन् २०२६ को वृद्धि पूर्वानुमान २।५ प्रतिशतबाट बढाएर ३।२ प्रतिशत पुर्‍याएको छ । यसले पहिलो त्रैमासिकको अपेक्षाभन्दा राम्रो प्रदर्शन र एआई सम्बन्धी निरन्तर गति मुख्य कारण रहेको जनाएको छ ।

रिपोर्टअनुसार इलेकट्रोनिक्स क्षेत्रको सुधारले क्षेत्रीय व्यापारलाई समेत बल दिएको छ, विशेष गरी सेमिकन्डक्टर निर्यातमा ठुलो वृद्धि देखिएको छ।

रिपोर्टले एआई–आधारित प्रविधि चक्रले इलेकट्रोनिक्स निर्यातलाई निरन्तर समर्थन गर्ने अपेक्षा गरेको छ, जसले उत्पादन र व्यापार क्षेत्रमा वृद्धि ल्याउनेछ ।

तर केही विश्लेषकहरूले भू–राजनीतिक तनाव र आपूर्ति शृङ्खलामा सम्भावित अवरोधका कारण जोखिम अझै कायम रहेको चेतावनी दिएका छन् ।

सिङ्गापुरको व्यापार तथा उद्योग मन्त्रालयले भने सन् २०२६ का लागि २ देखि ४ प्रतिशतको वृद्धिदर अनुमान यथावत् राखेको छ, यद्यपि बाह्य जोखिमहरू बढेको स्वीकार गरेको छ ।

सन् २०२६ को पहिलो त्रैमासिकमा सिङ्गापुरको अर्थतन्त्र ६ प्रतिशतले विस्तार भएको छ, जुन अघिल्लो त्रैमासिकभन्दा उच्च हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप