काठमाडौँ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्दै संसदमा पुगेकी भूमिका श्रेष्ठ चर्चामा छिन् । काठमाडौँ क्षेत्र नम्बर ९ की बासिन्दा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्य (सांसद) बनाएको हो ।
सांसद भूमिकाले आफ्नो सङ्घर्ष, संसदीय यात्रा र आगामी कार्यदिशाबारे रातोपाटीसँग खुलेर कुराकानी गरेकी छन् । ‘म र मेरो सम्पूर्ण समुदायका लागि यो गर्वको विषय हो,’ एकदमै उत्साहित देखिएकी उनले भनिन्, ‘तर सदनमा पुग्नुमात्र उपलब्धि होइन, कानुन निर्माण र नीतिगत तहमा रहेर समुदायको अधिकार स्थापित गर्नु मुख्य जिम्मेवारी हो ।’
संसदमा पहिलो पटक प्रवेश गरेकी उनले आफूमाथि जिम्मेवारीको पहाड थपिएको बताइन् । उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि विशिष्ट कानुन र नीति बन्न नसक्नुलाई मुख्य चुनौतीका रुपमा लिएकी छन् ।
‘हाम्रो समुदायले नागरिकतादेखि रोजगारसम्म भोग्नुपरेको विभेद र कठिनाइको अन्त्य गर्नु अबको मेरो मुख्य काम हो,’ उनले थपिन् । आफ्नो कामलाई उनले ‘चुनौतीपूर्ण’ बताइन् । जनताका समस्या धेरै भएको र ती सबै आजको भोलि नै समाधान हुन्छन् भन्नु भ्रममात्र रहेको उनले प्रस्ट्याइन् । वर्षौंदेखिको परम्परागत र गलत प्रणालीलाई व्यवस्थित रूपमा परिवर्तन गर्ने दिशामा आफू अघि बढेको उनको भनाइ छ ।
दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम र अपाङ्गता भएका समुदायहरुको आवाज आफ्नो पनि आवाज रहेको भूमिका बताउँछिन् । हालै ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय’ को नाम परिवर्तन भएर ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय’ बन्नुमा उनी खुसी देखिइन् । यसले नेपालमा मात्र नभई विश्वभरि नै एक ऐतिहासिक सन्देश प्रवाह गरेको उनले बताइन् । मन्त्रालयको नाममा समुदायलाई नै समावेश गरिनु ठुलो उपलब्धि भएको उनी बताउँछिन् ।
‘विश्वका कुनै पनि देशमा सायद यसरी मन्त्रालयको नाममै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ शब्द राखिएको मलाई जानकारी छैन । यो विश्वकै लागि उदाहरणीय कदम हो,’ उनले भनिन् ।
हाल उनी प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा सदस्य छिन् । विशेषगरी आफ्नो समुदायको अधिकार स्थापित गर्न आवश्यक कानुन बनाउने, नीति बनाउन सहयोग गर्ने उनले बताइन् । ‘ऐनमा संशोधन गर्नुपर्ने कुराहरु छन् । कति कानुन एक–अर्कामा बाझिएका छन्, कतिलाई परिमार्जन गर्नुपर्ने छ,’ उनले भनिन्, ‘जुन क्षेत्रबाट म समानुपातिक सांसद भएmँ त्यो क्षेत्रको विकासको लागि, स्थानीयको आवाज सदनमा राख्छु ।’
यतिबेला भूमिकाले संविधान, संसद्, नियमावली लगायत आफूसँग सरोकार राख्ने विषयमा अध्ययन गरिरहेकी छन् । सांसदको कार्यकाल पाँच वर्षको भए पनि मिसन, भिजन २५ वर्षको सम्म राख्नुपर्छ भन्ने मान्यता उनले बोकेकी छन् । अहिले बनाएको नीति, कानुन दीर्घकालीन भन्ने उनको मान्यता छ ।
सांसद भूमिकाले सबै सरोकारवालाहरू समक्ष आफूलाई सहयोग गर्न आग्रह गरेकी छन् । ‘मलाई सानो–सानो कुरामा पनि मार्गदर्शनको खाँचो छ । नीति र कानुन बनाउने जटिल काममा सबैको सल्लाह, सुझाव र साथको अपेक्षा छ,’ कुराकानीलाई बिट मार्दै उनले भनिन् ।
प्रतिक्रिया