शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सिनामङ्गल क्षेत्रबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

शनिबार, ०२ साउन २०८३, १२ : ०८
शनिबार, ०२ साउन २०८३

काठमाडौँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ ६८८ हप्ताअघिदेखि जारी बागमती सफाइ महाअभियानका क्रममा सिनामङ्गल पुलमुनिको वाग्मती किनारबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको छ । सफाइका क्रममा उठाइएको साढे तीन मेट्रिक टन नकुहिने फोहर महानगरपालिका वातावरण विभागले व्यवस्थापन गरेको हो ।

सफाइमा काठमाडौँ महानगरपालिका-११ का वडाध्यक्ष हीरालाल तन्डुकार, वडा नं ९ का वडासदस्य टेकराज अधिकारी, रोटरी क्लब अफ काठमाडौँ हेरिटेजका अभियानकर्मी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी, वाग्मती सफाइ अभियानकर्मीलगायत स्थानीयवासीको सहभागिता थियो ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान अहिलेसम्म जारी छ । सफाइ महाअभियान सुरु भएपछि प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा अभियानकर्मी वाग्मती नदी किनारमा उपस्थित भएर सफाइ गर्दै आएका छन् । साउने झरी, गर्मी, जाडो, दसैँ, तिहारजस्ता ठूला चाडपर्व, भूकम्प, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि सफाइ अभियानले निरन्तरता पाउँदै आएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

अर्को हप्ताको सफाइ कार्यक्रम पनि यसै स्थानमा हुने सफाइ महाअभियानले जनाएको छ । महाअभियानबाट प्रभावित भएर राजधानीका सबै नदी, चक्रपथका विभिन्न खण्ड र सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । यसैगरी राजधानी बाहिरका मुख्य मुख्य सहरका साथै ठूला नदी सभ्यतास्थलमा पनि सफाइ अभियान सञ्चालन भइरहेको छ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर हाल देशभरका १०८ भन्दा बढी स्थानमा सफाइ अभियान सञ्चालन भइरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप