‘बोल्न दे सरकार’ भनि गीत गाउने बालेन आफै किन मौन ?
सारांश
- नेपालले गणतन्त्रको १९औं वर्षमा प्रवेश गर्दा सरकार प्रमुखको मौनताले जनस्तरमा प्रश्न उठेको छ ।
- गणतान्त्रिक शासनमा पारदर्शिता, जवाफदेहिता र जनसम्पर्क महत्त्वपूर्ण मानिन्छ, तर प्रधानमन्त्रीको मौनताले यसमाथि प्रश्न उठाएको छ ।
- लोकतन्त्रमा नेतृत्वको निरन्तर संवाद र स्पष्टता आवश्यक छ, जसले जनतामा विश्वास बढाउँछ ।
नेपालले ०६५ जेठ १५ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्रको औपचारिक यात्रा सुरु गरेसँगै देशको शासन व्यवस्था जनताको प्रतिनिधित्वमा आधारित बन्यो । आज १८ वर्ष पूरा भएर १९औँ वर्षमा प्रवेश गरेको छ । देशभर गणतन्त्र दिवस मनाइँदै छ । गणतन्त्रको मूल आत्मा भनेकै पारदर्शिता, जवाफदेहिता, अभिव्यक्तिको स्वतन्त्रता र जनउत्तरदायी शासन हो ।
यस व्यवस्थामा प्रधानमन्त्री देशको कार्यकारी प्रमुख मात्र होइन, जनताको विश्वास र अपेक्षाको केन्द्र पनि हुन् । भ्रष्टाचार र सामाजिक सञ्जाल अंकुश विरुद्ध गत वर्षको भदौमा जेनजी आन्दोलन भयो । आन्दोलनपछि सरकार नै ढल्यो । भरखरै सम्पन्न निर्वाचनपछि बालेन शाह नेतृत्वको सरकार बनेको छ । तर उनी प्रधानमन्त्री भएदेखि नबोल्दा सदनदेखि सडकसम्म चर्को बहस सुरु भएको छ ।
‘बोल्न दे सरकार’ भन्दै कुनै बेला र्याप गीत घन्काउने बालेन आफूले सरकारको प्रतिनिधित्व गर्दा किन मौन छन् ?
गणतान्त्रिक शासनमा सरकार र जनताबिचको सम्बन्ध संवादमा आधारित हुन्छ । सरकारका नीति, निर्णय र उपलब्धिहरू जनतासम्म स्पष्ट रूपमा पुग्नुपर्छ । प्रधानमन्त्रीको भूमिका केवल निर्णय गर्ने मात्र नभई ती निर्णयहरूको कारण, उद्देश्य र प्रभाव जनतालाई बुझाउने पनि हो । यसै कारणले लोकतन्त्रमा नेतृत्वको बोल्ने क्षमता मात्र होइन, स्पष्टता र निरन्तर संवाद पनि अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।
बोल्नकै लागि ल्याइएको गणतन्त्रमा सरकार प्रमुख नै मौन बस्दा चारैतिर आलोचना बढ्दो छ । कतिपय अवस्थामा नेतृत्व तहबाट अपेक्षित स्तरको सार्वजनिक संवाद नदेखिएको विषयमा बहस हुने गरेको पाइन्छ । यस्तो अवस्थामा जनतामा सरकारप्रति प्रश्न उठ्ने, नीति स्पष्ट नहुने र निर्णयप्रति असन्तुष्टि बढ्ने सम्भावना रहन्छ । लोकतन्त्रमा यस्तो दूरीले शासन प्रणालीप्रति विश्वास कमजोर बनाउन सक्छ ।
प्रधानमन्त्रीको मौनता वा कम सार्वजनिक उपस्थितिलाई विभिन्न कोणबाट बुझ्न सकिन्छ । एकातर्फ, संवेदनशील राजनीतिक परिस्थितिमा अनावश्यक टिप्पणी नगर्नु जिम्मेवार नेतृत्वको सङ्केत पनि हुन सक्छ । अर्कोतर्फ, लामो समयसम्म जनतासँग संवाद नहुनु लोकतान्त्रिक पारदर्शितामाथि प्रश्न उठाउने कारण बन्न सक्छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसक्दा सरकार प्रमुखको मौनताले धेरै प्रश्न उब्जाएका छन् ।
लोकतन्त्रमा सञ्चार केवल औपचारिकता होइन, विश्वास निर्माण गर्ने माध्यम हो । पत्रकार सम्मेलन, सार्वजनिक सम्बोधन, नीति व्याख्या तथा सामाजिक सञ्जालमार्फत सरकारको उपस्थितिले जनतामा आत्मविश्वास बढाउँछ । आजको डिजिटल युगमा जनताको अपेक्षा अझ छिटो र स्पष्ट जानकारीको छ । यस्तो अवस्थामा नेतृत्वले समयअनुसार सञ्चार शैलीलाई पनि परिष्कृत गर्नु आवश्यक हुन्छ ।
गणतन्त्रको सफलता केवल संविधान वा संरचनामा मात्र निर्भर हुँदैन, यसको व्यवहारिक अभ्यासमा निर्भर हुन्छ । यदि जनता निर्णय प्रक्रियाबाट टाढा महसुस गर्छन् भने लोकतन्त्रको आत्मा कमजोर हुन थाल्छ । त्यसैले नेतृत्वले जनतासँग निरन्तर संवाद कायम गर्नु, आलोचनालाई स्वीकार गर्नु र उत्तरदायी व्यवहार देखाउनु आवश्यक छ ।
अन्त्यमा गणतन्त्रमा प्रधानमन्त्रीको भूमिका केवल शासन सञ्चालन गर्ने मात्र होइन, जनताको विश्वास जित्ने पनि हो । मौनता कहिले काहीँ रणनीतिक हुन सक्छ, तर निरन्तर संवाद नै लोकतन्त्रको जीवनरेखा हो । सशक्त गणतन्त्रका लागि सरकार र जनताबिचको दूरी होइन, नजिकको सम्बन्ध अपरिहार्य हुन्छ ।
जनताको प्रश्नको जवाफ दिनुपर्ने नेतृत्व नै मौन बस्दा निराशा, आक्रोश र अविश्वास बढ्दै गएको छ । गणतन्त्रको नाममा केवल सत्ता र कुर्सीको खेल मात्र भइरहने हो भने जनताले गरेको त्यागको अर्थ के रहन्छ ? आखिर जनताको आवाज सुन्ने, दुःख बुझ्ने र जिम्मेवारी लिन सक्ने नेतृत्व कहिले जन्मिने ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
-
सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन हुने
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण