म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ
म्याग्दी । म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटलहरु भरिभराउ भएका छन् । म्याग्दीको बेनी–जोमसोम सडकमा पर्ने बेनी, गलेश्वर, तिप्ल्याङ, पोखरेबगर, भुरुङ्ग–तातोपानी र मुस्ताङका सबै पर्यटकीयस्थलमा रहेका होटल पाहुनाले भरिभराउ भएका हुन् ।
म्याग्दीको गलेश्वर, भुरुङ्ग–तातोपानी, रुप्से, महभिर झरना र अन्धगल्छीमा पर्यटकको घुइँचो लागेको छ । गर्मी छल्न र मुक्तिनाथ तीर्थयात्राका लागि आएका भारतीय तथा लगातार चार दिनको सार्वजनिक बिदाका कारण आन्तरिक पर्यटकको आगमन बढेपछि होटल भरिभराउ भएका अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीका होटल व्यवसायी राजु हमालले बताए ।
“भारतबाट गर्मी छल्न आएका र बिदा मनाउन देशका विभिन्न ठाउँबाट आएका पाहुनाले होटल भरिएका छन्”, उनले भने, “मुस्ताङका होटलमा अटाउन नसकेका पाहुनाहरू म्याग्दी, बागलुङ, कुस्मा र पोखरासम्म व्यवस्थापन गरिएको छ ।”
भुरुङ्ग–तातोपानी कुण्डका सञ्चालक हेमनारायण पुनले मुस्ताङ जाने आउने पर्यटकहरूको चापले भ्याइनभ्याई भएको बताए । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बेनी–जोमसोम सडक भएर पछिल्लो चार दिनमा ३० हजार जनाभन्दा बढी पर्यटक भित्रिएका छन् । घाँसा प्रहरी चौकीको अभिलेखअनुसार बुधबार पाँच हजार ५८६, बिहीबार सात हजार ८२७ र शुक्रबार नौ हजार ८६ जना पर्यटक मुस्ताङ भित्रिएका थिए ।
शुक्रबारकै हाराहारीमा शनिबार पनि पर्यटक भित्रिएका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए । प्रहरी चौकी घाँसामा सवारीसाधन र पर्यटकको अभिलेख प्रविष्ट गर्ने गरिएको छ । मुस्ताङका होटलमा एक दिनमा १० हजार पाहुना राख्न सक्ने क्षमता रहेको छ । म्याग्दीका होटलमा दैनिक दुई हजार जना बास बस्न सक्ने क्षमता छ ।
मुस्ताङ भित्रिने अधिकांश स्वदेशी पर्यटक घाँसादेखि चीनको सीमा क्षेत्र कोरलासम्म पुग्ने गरेका छन् । माथिल्लो क्षेत्रमा जाने पर्यटकलाई लेक लाग्ने समस्या हुनसक्ने भएकाले सचेतनामूलक अभियानसमेत सञ्चालन गरिएको छ । आन्तरिक पर्यटकको बसाइ सामान्यतया दुईदेखि चार दिनसम्म हुने गरेको छ ।
भारतको बिहारबाट आएका शम्भु साहले गर्मी छल्न र तीर्थयात्राका लागि परिवार तथा छिमेकीहरू मिलेर बस रिजर्भ गरेर मुस्ताङ घुम्न आएको बताए । चार दिनको सार्वजनिक बिदाको सदुपयोग गर्न परिवार र साथीभाइ मिलेर मुस्ताङ तथा ढोरपाटन घुमेर फर्किएको काठमाडौँका हरि न्यौपानेले बताए ।
बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा बाढी पहिरो र स्तरोन्नतिका लागि सवारीसाधन बन्द हुँदा यात्राका क्रममा दुःख भएको पर्यटकहरूले गुनासो गरेका छन् । मुक्तिनाथ, कागबेनीको तीर्थयात्रा गर्ने, हिमाल, उजाड पहाड, तालतलैया हेर्न, हिमाली जनजीवन र संस्कृतिमा रमाउने तथा गाडी चढेरै कोरलानाकासम्म पुग्न सकिने भएपछि मुस्ताङ धेरैको रोजाइमा परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण