२०७३ मा फोरम लोकतान्त्रिक कांग्रेसमा विलयपछि डा. प्रमिला कुमारी गच्छदारले महाधिवेशन प्रतिनिधि र विभिन्न विभागमा रहेर काम गरिन् ।
नेपाली कांग्रेस कोशी प्रदेशको सह–महामन्त्री तथा महासमिति सदस्य गच्छदार कोशी प्रदेशको योजना आयोग सदस्य समेत बनिन् । हाल नेपाली कांग्रेस सुनसरीबाट समानुपातिक सूचीबाट सांसद बनेकी गच्छदारसँग रातोपाटीको ‘सांसदसँग’ स्तम्भका लागि गरिएको कुराकानी:
विद्यार्थी हुँदाखेरि नै म साथीहरूलाई सघाउने गर्थेँ । उहाँहरू स्ववियुमा चुनाव लड्दा म भोट माग्थेँ । विद्यार्थीकालदेखि नै अलिकति रुचि त्यतातिर थियो । पछि पढाउने पेसामा रहँदा म राजनीतिमा पनि म आएँ । विजय गच्छदारले खोल्नुभएको नेपाल लोकतान्त्रिक फोरममा आबद्ध भएँ ।
म त्यहाँ युवा फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्य हुँदै उपाध्यक्ष र महिला विभागमा पनि काम गरेँ । त्यसपछि पार्टीको केन्द्रीय सदस्य भएको थिएँ । पछि पार्टी एकीकरणपछि नेपाली कांग्रेसमा महासमितिमा सदस्य बनेँ । अहिले म १४ औँ महाधिवेशनमा महासमिति सदस्य साथै कोशी प्रदेशको म सह–महासचिव पनि हुँ ।
मेरो हजुरबुबाहरू पनि राजनीतिमै हुनुहुन्थ्यो । कतै न कतै त्यताबाट पनि मलाई राजनीति र समाजसेवामा अलिक बढी नै झुकाव राख्छु । विभिन्न संघसंस्थाहरुमार्फत अध्ययन अनुसन्धान गर्ने गर्थेँ ।
बोटनीमा मैले मास्टर्स र पिएचडी गरेँ । २–३ वर्ष महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा बोटनी पढाएँ । काठमाडौँ आएपछि केही वर्ष अध्ययन, अध्यापन गरेँ ।
जनताको सेवा गर्नलाई । पहिलेदेखि नै सेवा गर्ने मेरो भाव थियो । अहिले कानुन बनाउने, नीति–निर्माण गर्ने ठाउँमा पुगेको छु । जनतामा निराशा छ, सेवा–प्रभाव राम्रोसँग पाइरहेका छैनन् भन्ने कुराहरू आइरहेका छन् । कहाँ–कहाँ नीति, कुन–कुन कानुनहरू बनाउनु पर्नेछ, अहिलेका नीतिहरूमा कहाँ त्रुटिहरू छन्, ती त्रुटिलाई हामी सांसदहरूले सरलीकरण गर्दै लैजानुपर्छ । जनताको सेवामा लाग्नुपर्छ ।
प्राध्यापन र राजनीतिमा ठुलो अन्तर छ नि । प्राध्यापन अलिकति निरस जस्तो लाग्छ । पढ्ने, पढाउने कुरामा सीमित हुन्छ । हुन त शिक्षकले पढाएका विद्यार्थीहरू हरेक क्षेत्रमा जान्छन्, त्यो सबैभन्दा ठुलो कुरो हो ।
त्यो चाहिँ एकदमै राम्रो पक्ष हो । राजनीति चाहिँ अझ अप्ठ्यारो लाग्यो । सबैलाई चित्त बुझाउनुपर्ने, जनताका यति अपेक्षा, आशाहरू छन् कि जुन पूरा गर्न एकदमै गाह्रो हुन्छ जस्तो लाग्छ । एकदम जबाफदेही हुनुपर्ने क्षेत्र रहेछ । यसमा अझ धेरै जिम्मेवारी हुन्छ । सबैको आँखा यसैमा परेको हुन्छ । राजनीतिज्ञ राम्रो भयो भने मात्रै देश राम्रो हुन्छ, सुशासन हुन्छ ।
आ–आफ्नो ठाउँमा दुइटैको विशेषता छ । मेहनत, परिश्रम नगरीकन कुनै पनि कुरा हुँदैन । दुबैमा इमानदारिता चाहिन्छ ।
म अहिले शिक्षा, स्वास्थ्य, विज्ञान–प्रविधि सूचना समितिमा छु । त्यसमा विषयगत समस्याहरू आउँछन् । विषयगत समितिमा अनुगमन, मूल्याङ्कन गर्ने, त्यहाँको नियमहरू हेर्ने, कानुनहरूबारे सरकारलाई सल्लाह–सुझाव दिने काम हुन्छ ।
सांसदको रूपमा नीति बनाउने, कानुन बनाउने, जनताको सेवा गर्ने हो । आफ्नो क्षेत्रमा मात्र नभई राष्ट्रिय विकासका कुरामा लाग्नेछु ।
यो ठाउँमा पुर्याउनु भएको छ, त्यसको लागि म धेरै धन्यवाद दिन चाहन्छु । जसको सहयोगले म यो ठाउँमा पुगेँ । मप्रति आशा र भरोसा देखाउनु भएको छ, उहाँहरूको पक्षमा नै कुरा गर्नेछु । आशा मर्न दिने छैन । आगामी दिनमा पनि सहयोग गर्नुहुन्छ भन्ने आशा–अपेक्षा पनि छ । जनताहरूको सेवामा सदैव हाजिर हुनेछु ।
प्रतिक्रिया