मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

केएमसीमा खुट्टा काट्नुपर्ने जोखिममा रहेका बिरामीको बिनाचिरफार सफल उपचार

सोमबार, ०४ साउन २०८३, १५ : ५२
सोमबार, ०४ साउन २०८३

सारांश

  • काठमाडौँ मेडिकल कलेज (केएमसी) ले नेपालमै पहिलो पटक 'अर्बिटल एथेरेक्टोमी' प्रविधिमार्फत खुट्टाको जटिल नसाको बिनाचिरफार सफल उपचार गरेको छ।
  • खुट्टाको नसा पूर्ण रूपमा अवरुद्ध भई अङ्ग गुमाउनुपर्ने जोखिममा रहेका पोखराकी ७१ वर्षीया हीरामाया राम्जाली र जनकपुरका ४७ वर्षीय कल्याणलाल कर्णको यस प्रविधिबाट उपचार गरिएको छ।
  • यो प्रविधिले नसामा रहेको कडा अवरोध हटाएर रक्तसञ्चार सहज बनाउन मद्दत गर्दछ, जसले गर्दा अङ्ग गुमाउनुपर्ने जोखिम भएका बिरामीहरूका लागि नयाँ उपचार विकल्प खुलेको छ।

काठमाडौँ। काठमाडौँ मेडिकल कलेज (केएमसी) ले नेपालमै पहिलो पटक ‘अर्बिटल एथेरेक्टोमी’ प्रविधिमार्फत जटिल नसाको बिनाचिरफार सफल उपचार गरेको छ। 

खुट्टाको नसा पूर्ण रूपमा अवरुद्ध भएर अङ्ग नै गुमाउनुपर्ने जोखिममा रहेका बिरामीको यस प्रविधिमार्फत सफल उपचार भएको यो घटना नेपालकै पहिलो भएको कलेजले जनाएको छ।

पोखराकी ७१ वर्षीया हीरामाया राम्जाली लामो समयदेखि खुट्टाको नसा कडा भएर रक्तसञ्चार अवरुद्ध भएपछि काठमाडौँ मेडिकल कलेज पुगेकी थिइन्। खुट्टा नीलो हुने, घाउ निको नहुने तथा अत्यधिक चिसो हुने समस्याबाट पीडित राम्जालीको केएमसीको मुटु, छाती तथा रक्तनली शल्यक्रिया (सीटीभीएस) विभागका डा. कृष्ण बस्यालको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले सफल उपचार गरेको हो।

बिरामीको मुख्य समस्या रक्तनलीभित्र जमेको कडा क्याल्सियमका कारण नसा अवरुद्ध हुनु थियो। डा. बस्यालका अनुसार पहिलो चरणमा खुला शल्यक्रिया (ओपन सर्जरी) मार्फत नसाको मर्मत गरिए पनि तल्लो भागमा रहेको कडा अवरोध सामान्य विधिबाट हटाउन सम्भव नभएपछि चिकित्सकीय टोलीले ‘अर्बिटल इन्डोभास्कुलर एथेरेक्टोमी’ प्रविधिको प्रयोग गरेर उपचार गरेको थियो।

उपचार प्रविधिबारे जानकारी दिँदै डा. बस्यालले भने, ‘केएमसीमा केही दिन अगाडि हामीले जटिल नसासम्बन्धी उपचार गरेका छौँ। त्यसका लागि हामीले अर्बिटल एथेरेक्टोमी प्रविधिको प्रयोग पनि गरेका छौँ। त्यो प्रविधिको प्रयोग नेपालमै अहिले पहिलो पटक भएको छ।’

उक्त प्रविधि प्रयोग गर्नुको कारणबारे स्पष्ट पार्दै उनले थपे, ‘त्यो प्रविधिको प्रयोग गर्नुको कारण के हो भने उहाँहरू दुई जनाको चिरफार गर्यो भने खुट्टा नै गुमाउनुपर्ने अवस्था थियो। यो प्रविधिले नसामा रहेको अवरोध हटाई रक्तसञ्चार प्रक्रियालाई सहज बनाउन सजिलो हुन्छ। अहिले दुई जना बिरामीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ। निकट भविष्यमा अरू बिरामीको समेत यही प्रविधिबाट उपचार गर्ने गरी अगाडि बढिरहेका छौँ।’

सफल उपचारपछि हीरामायाका नाति विशाल राम्जालीले खुट्टा काट्नुपर्ने अवस्थाबाट बचाइदिएकोमा अस्पताल परिवारलाई धन्यवाद ज्ञापन गरे। धेरै जसो अस्पतालमा उपचारका लागि जाँदा खुट्टा नै काट्नुपर्छ भनेकाले आफूसहित परिवारमा समेत डर पैदा भएको तर त्यस्तो अवस्था नआएकोमा उनले खुसी व्यक्त गरे।

विशालले भने, ‘पहिले चिकित्सकहरूले खुट्टा फाल्नुपर्ने चान्स धेरै नै छ भन्नुभएको हुँदा डर लागिरहेको थियो। यहाँ ल्याएपछि चाँही राम्रो ठाउँमा पुगियो जस्तो लागेको छ।’

आफ्नो खुसी व्यक्त गर्दै उनले थपे, ‘खुट्टा पनि जोगियो, अवरुद्ध नसाको पनि उपचार भयो। अब आफैँ हिँड्न पनि सक्नुहुन्छ। त्यसकारण हामी एकदमै खुसी छौँ।’

केएमसीले हीरामायासँगै यही प्रविधिमार्फत जनकपुरका ४७ वर्षीय कल्याणलाल कर्णको समेत सफल उपचार गरेको छ। उनको एउटा खुट्टा यसअघि नै काटिसकिएको थियो भने अर्को खुट्टाको नसा पनि पूर्ण रूपमा बन्द भएको थियो। 

यस्तो जटिल अवस्थालाई समेत बिनाचिरफार उपचार गरेपछि केएमसीले रक्तनलीसम्बन्धी उपचारमा आफ्नो विशेषज्ञता थप स्थापित गरेको छ। अत्याधुनिक प्रविधि र दक्ष चिकित्सकको कुशल संयोजनका कारण अब नसा बन्द भएर अङ्ग गुमाउनुपर्ने जोखिम भएका बिरामीका लागि नयाँ उपचार विकल्प उपलब्ध भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप