गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
भैरहवा । नेपाल र भारतबिचको आर्थिक, व्यापारिक तथा लगानी सहकार्यलाई थप प्रभावकारी बनाउँदै साझा समृद्धिको आधार निर्माण गर्नुपर्नेमा दुवै देशका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिले जोड दिएका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालन, सीमावर्ती क्षेत्रको औद्योगिक विकास तथा लुम्बिनीको अन्तरराष्ट्रिय पर्यटन प्रवर्द्धनमा भारतको निजी क्षेत्रको सक्रिय सहभागिताको आवश्यकता औँल्याइएको हो ।
आज भारतको गोरखपुरमा आयोजित ‘भारत-नेपाल आर्थिक सहयोग मञ्च-२०२६’ मा सहभागी वक्ताहरूले कृषि, पर्यटन, ऊर्जा, बैंकिङ, पूर्वाधार, औद्योगिक लगानी र सीमापार व्यापारलाई प्राथमिकतामा राखेर द्विपक्षीय सहकार्यलाई नयाँ उचाइमा पुर्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली निजी क्षेत्रका प्रतिनिधिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तरराष्ट्रिय उडानको केन्द्रका रूपमा नियमित गर्न र विकास गर्न भारतीय वायुसेवा कम्पनी तथा निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए । विमानस्थल सञ्चालनले लुम्बिनी क्षेत्रको पर्यटन, व्यापार र लगानी प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने सहभागीले धारणा राखे ।
छलफलका क्रममा भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा भारतीय उद्योग आकर्षित गर्न नीतिगत तथा व्यावसायिक सहकार्य आवश्यक रहेको विषय पनि उठाइएको थियो । सहभागीले सीमावर्ती क्षेत्रका औद्योगिक सम्भावनाको उपयोग गर्दै संयुक्त लगानी र उत्पादन विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।
लुम्बिनीलाई अन्तरराष्ट्रिय धार्मिक तथा सांस्कृतिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न भारतीय पर्यटन व्यवसायी र निजी क्षेत्रले थप भूमिका खेल्नुपर्नेमा पनि वक्ताले जोड दिएका हुन् । बुद्ध जन्मस्थल लुम्बिनीलाई भारतीय बौद्ध पर्यटक तथा अन्तरराष्ट्रिय पर्यटकको प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्न संयुक्त अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिइएको थियो ।
भारतस्थित नेपाली दूतावासका सहसचिव तारानाथ अधिकारीले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउन व्यापार, पर्यटन, लगानी र पूर्वाधार विकासका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने बताए । उनले दुवै देशका निजी क्षेत्रबीचको साझेदारी आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्न सक्ने उल्लेख गरे ।
भारतस्थित नेपाली दूतावासका इकोनोमिक काउन्सिलर रवीन्द्रजङ्ग थापाले नेपालमा लगानी, उद्योग, पर्यटन र व्यापारका प्रशस्त सम्भावना रहेको बताउँदै निजी क्षेत्रको सक्रिय सहभागिताले द्विपक्षीय आर्थिक सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष कृष्णप्रसाद शर्माले व्यापार सहजीकरण, लगानीमैत्री वातावरण निर्माण तथा सीमावर्ती क्षेत्रको आर्थिक विकासलाई प्राथमिकता दिनुपर्ने बताए । उहाँले नेपाल-भारत आर्थिक सम्बन्धलाई व्यवहारिक र परिणाममुखी बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।
नेपाल-भारत आर्थिक सहयोग मञ्चका सचिव उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष कमलेस जैनले नेपाल–भारत आर्थिक सहकार्यका सम्भावना, व्यापारिक सम्बन्ध र निजी क्षेत्रको भूमिकाबारे जानकारी गराउँदै दुवै देशबीचको साझेदारीलाई थप परिणाममुखी बनाउनुपर्ने बताए ।
भारतीय उद्योगपति अनुकुल भटनागरले नेपाल र भारतबिचको ऐतिहासिक सम्बन्धलाई आर्थिक विकाससँग जोड्नुपर्ने बताए । उनले व्यापार, उद्योग, लगानी र वित्तीय सहकार्य विस्तारमार्फत दुवै देशले पारस्परिक लाभ लिन सक्ने धारणा व्यक्त गरे ।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टङ्क पोखरेलले सीमावर्ती क्षेत्रको व्यापार, पर्यटन र उद्योग प्रवद्र्धनका लागि निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले सीमावर्ती क्षेत्रको आर्थिक विकास, पर्यटन र औद्योगिक सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल र भारतका उद्योगी, व्यवसायी, बैङ्किङ क्षेत्रका प्रतिनिधि, वाणिज्य तथा उद्योग सङ्घका पदाधिकारी तथा विज्ञबीच गोलमेच छलफल, अन्तरक्रिया र अनुभव आदानप्रदान गरिएको थियो ।
सहभागीले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन, लुम्बिनीको पर्यटन प्रवर्द्धन, सेजमा लगानी विस्तार, व्यापारिक प्रक्रियाको सरलीकरण, पूर्वाधार विकास तथा निजी क्षेत्रबीचको सहकार्य अभिवृद्धिमार्फत द्विपक्षीय आर्थिक सम्बन्धलाई थप प्रभावकारी बनाउनुपर्नेलागयत विषयमा छलफल गरी कार्यान्यन गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण