शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध

शुक्रबार, २२ जेठ २०८३, १२ : २५
शुक्रबार, २२ जेठ २०८३

सारांश

  • अमेरिकाले क्युबाका राष्ट्रपति मिगुएल डियाज-कानेल, उनकी पत्नी र उच्च सरकारी अधिकारीहरूमाथि नयाँ प्रतिबन्ध लगाएको छ ।
  • यो कदमले दुई देशबीचको सम्बन्धमा थप चिसोपना ल्याएको छ भने क्युबाले यसलाई सार्वभौमिकतामाथिको आक्रमण मानेको छ ।
  • प्रतिबन्धहरू क्युबाका विभिन्न सरकारी तथा सामाजिक संस्थाहरूमाथि पनि लगाइएका छन् ।

वासिङ्टन डीसी । अमेरिका र क्युबाबिचको तनाव फेरि चर्किएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबाका राष्ट्रपति मिगुएल डियाज–कानेल, उनकी पत्नी तथा उच्च सरकारी अधिकारीहरूमाथि नयाँ प्रतिबन्ध लगाएको छ ।

अमेरिकाले क्युबा सरकारमाथि थप दबाब सिर्जना गर्न यो कदम चालेको जनाएको छ । नयाँ प्रतिबन्धपछि दुवै देशबिचको सम्बन्धमा थप चिसोपना आएको छ । क्युबाले भने अमेरिकाको निर्णयलाई आफ्नो सार्वभौमिकतामाथिको आक्रमण र आन्तरिक मामिलामा खुला हस्तक्षेपको संज्ञा दिएको छ ।

अमेरिकाले पूर्वराष्ट्रपति राउल क्यास्ट्रोका छोरा अलेजान्द्रो क्यास्ट्रो एस्पिन तथा उनका परिवारका सदस्यहरूलाई समेत प्रतिबन्धको सूचीमा राखेको छ । अमेरिकी प्रशासनले उनीहरूको अमेरिकास्थित सम्पत्ति र बैंक खाता रोक्का गर्ने निर्णय गरेको जनाएको छ ।

यद्यपि, विश्लेषकहरूले ती व्यक्तिहरूको अमेरिकी वित्तीय प्रणालीमा सीमित उपस्थिति रहेको बताउँदै प्रतिबन्धलाई मुख्यतः राजनीतिक सन्देशका रूपमा व्याख्या गरेका छन् ।

ट्रम्प प्रशासनले क्युबा सरकारप्रति लामो समयदेखि कडा नीति अवलम्बन गर्दै आएको छ । यसअघि अमेरिकाले क्युबामाथि ऊर्जा नाकाबन्दीसमेत लागू गरेको थियो, जसका कारण त्यहाँ इन्धन अभाव, विद्युत् कटौती तथा खाद्य सङ्कट थप गहिरिएको बताइएको छ ।

ट्रम्पले क्युबा गम्भीर आर्थिक सङ्कटमा रहेको दाबी गर्दै त्यहाँको सरकारले देशलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप लगाएका छन् । उनले क्युबामा पर्यटन तथा प्राकृतिक स्रोतको ठुलो सम्भावना भए पनि वर्तमान नेतृत्वले त्यसको उचित उपयोग गर्न नसकेको टिप्पणी गरे ।

क्युबाका राष्ट्रपति मिगुएल डियाज–कानेलले अमेरिकामाथि जानाजानी तनाव बढाउने प्रयास गरेको आरोप लगाएका छन् । ट्रम्प प्रशासनले क्युबालाई झुकाउन र त्यहाँका नागरिकलाई दुःख दिन खोजेको उनले बताए ।

क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले पनि अमेरिकी प्रतिबन्धको कडा आलोचना गर्दै वासिङ्टनले दुई देशबिच टकराब बढाउने वातावरण सिर्जना गरिरहेको आरोप लगाए । क्युबा सरकारले कुनै पनि बाह्य दबाब अगाडि नझुक्ने स्पष्ट पारेको छ ।

अमेरिकाले व्यक्ति मात्र होइन, क्युबाका विभिन्न सरकारी तथा सामाजिक संस्थामाथि पनि प्रतिबन्ध लगाएको छ । प्रतिबन्धित संस्थाहरूमा क्युबाको रक्षा मन्त्रालय, जनताबिच मित्रताका लागि संस्थान,पर्यटनसम्बन्धी संस्था अमिस्टुर क्युबा, तथा क्रान्तिको रक्षा समितिहरू रहेका छन् ।

यसबाहेक राष्ट्रपति डियाज–कानेलकी पत्नी लिस कुएस्ता पेराजा र उनका सौतेनी छोरा मिगुएल एनिडो कुएस्ता माथि पनि प्रतिबन्ध लगाइएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप