चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
सारांश
- चीनबाट आयात गरिएको करिब ३० टन गेडा धनियामा हानिकारक 'खपराज' किरा भेटिएपछि प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्रले उक्त खेपलाई तातोपानी नाकामै रोक्का गरेको छ ।
- खपराज किराले अन्नबाली र भण्डारण गरिएका खाद्य सामग्रीलाई पूर्ण रूपमा ध्वस्त पार्न सक्ने र नेपालमा एकपटक प्रवेश गरेमा लामो समयसम्म संक्रमण फैलाउन सक्ने जोखिम रहेको छ ।
- किरा भेटिनुका साथै धनियाको स्रोत र म्यादमा पनि शंका देखिएको छ, जसले गर्दा आयातकर्ता र चिनियाँ पक्षबाट चित्तबुझ्दो जवाफ नआएसम्म धनियाको आयात रोक्का रहनेछ ।
काठमाडौं । चीनबाट नेपालतर्फ आयात गरिएको ठूलो परिमाणको धनियाको दानामा हानिकारक ‘खपराज’ किरा भेटिएपछि प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्रले उक्त खेपलाई भन्सार नाकामै रोक्का गरेको छ । तातोपानी नाका हुँदै भित्रिएको करिब ३० टन गेडा धनियामा अन्तर्राष्ट्रियस्तरमै प्रतिबन्धित क्वारेन्टाइन पेस्ट (किरा) भेटिएको हो ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी एवं वरिष्ठ बाली संरक्षण अधिकृत रोशन अधिकारीका अनुसार, उक्त धनियाको खेपमा ‘नन–कम्प्लायन्स’ (मापदण्ड विपरीत) पाइएको छ । प्रयोगशाला परीक्षणका क्रममा धनियामा ‘खपराज’ नामक किरा फेला परेको हो । जसलाई कृषि र खाद्य सुरक्षाका दृष्टिले निकै खतरनाक मानिन्छ ।
खपराज किराको जोखिम
वरिष्ठ बाली संरक्षण अधिकृत अधिकारीका अनुसार खपराज किराले अन्नबाली र भण्डारण गरिएका खाद्य सामग्रीलाई पूर्ण रूपमा ध्वस्त बनाउन सक्छ । ‘यसलाई अन्तर्राष्ट्रिय स्तरमै ‘क्वारन्टाइन पेस्ट’ को रूपमा घोषणा गरिएको छ,’ अधिकारीले भने, ‘यो किरा एकपटक प्रवेश गरेमा निकै लामो समयसम्म (४–५ वर्षसम्म) सुषुप्त अवस्थामा बस्न सक्छ र अनुकूल समयमा पुनः संक्रमण फैलाउँछ । त्यसैले यसलाई नेपालभित्र छिर्न दिनु निकै जोखिमपूर्ण हुन्छ ।’
किरा भेटिएपछि केन्द्रले यसबारे चीनको आधिकारिक निकायलाई औपचारिक पत्रमार्फत सूचित गरिसकेको छ । साथै विश्व व्यापार संगठन र इन्टरनेसनल प्लान्ट प्रोटेक्सन कन्भेन्सन (आइपिपीसी) जस्ता अन्तर्राष्ट्रिय निकायहरूलाई पनि यसबारे जानकारी गराइएको छ । अधिकारीले बताएअनुसार, चीनले यस विषयमा स्पष्टीकरण नदिएसम्म र आगामी दिनमा यस्ता किरा नभेटिने सुनिश्चितता नगरेसम्म धनियाको आयात प्रक्रिया रोक्का रहनेछ ।
उत्पादनको स्रोत र म्यादमा पनि आशंका
किरा मात्र नभई उक्त धनियाको खेपमा अन्य प्राविधिक समस्याहरू पनि देखिएका छन् । धनियाको प्याकेजिङ र कागजातहरू अध्ययन गर्दा यसको वास्तविक स्रोत (ओरिजिन) मा समेत आशंका उब्जिएको छ । अधिकारीका अनुसार, चिनियाँ सामग्री भनिए पनि केही प्याकेजिङमा भारतीय लेबल वा संकेतहरू देखिएका छन्, जसले गर्दा वस्तुको वास्तविक उत्पत्ति स्थलमाथि प्रश्न उठेको छ । यसका साथै उक्त धनियाको म्याद नाघेको विषयमा पनि केन्द्रले अध्ययन गरिरहेको छ ।
नाकामै रोकियो धनिया
तातोपानी नाकामा गत जेठ १३ गतेतिरै रोकिएको उक्त धनियालाई अहिले क्वारेन्टाइनको प्रक्रियामा राखिएको छ । केन्द्रले नेपाललाई ‘डम्पिङ साइट’ हुन नदिने र अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय वस्तु मात्र आयात गर्न दिने अडान लिएको छ ।
हालका लागि सम्बन्धित आयातकर्ता र चिनियाँ पक्षबाट चित्तबुझ्दो जवाफ नआएसम्म उक्त धनिया नेपाल भित्रन पाउने छैन । यसअघि भारतबाट आयात हुने केरामा पनि यस्तै समस्या देखिएको सन्दर्भमा अहिले धनियामा यस्तै समस्या देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण