बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नवलपुरमा हावाहुरीको वितण्डा: विनयी त्रिवेणीमा २० भन्दा बढी घरको छाना उडायो

बुधबार, २७ जेठ २०८३, १३ : २६
बुधबार, २७ जेठ २०८३

सारांश

  • पूर्वी नवलपरासी (नवलपुर) को विनयी त्रिवेणी गाउँपालिकामा मंगलबार साँझ आएको हावाहुरीसहितको वर्षाले २० भन्दा बढी घरको छाना उडाएको छ ।
  • हावाहुरीले बगुवन गाउँमा सबैभन्दा बढी क्षति पुर्‍याएको छ, जहाँ १५ घरका छाना उडेका छन् ।
  • क्षतिग्रस्त घरका अन्नपात, लत्ताकपडा भिजेर नष्ट भएका छन् भने खानेपानीको ट्याङ्की र विद्युतका पोल तथा तारहरूमा पनि क्षति पुगेको छ ।

नवलपुर । पूर्वी नवलपरासी (नवलपुर) को विनयी त्रिवेणी गाउँपालिकामा मंगलबार साँझ आएको विनाशकारी हावाहुरीसहितको वर्षाले व्यापक क्षति पुर्‍याएको छ । 

गाउँपालिकाको वडा नम्बर १ अन्तर्गत पर्ने विभिन्न गाउँहरूमा हावाहुरीले २० वटाभन्दा बढी घरको छाना उडाएर ठुलो नोक्सानी पुर्‍याएको हो ।

hawa huri (1)

हावाहुरीले सबैभन्दा बढी क्षति वडा नम्बर १ को बगुवन गाउँमा पुर्‍याएको छ । स्थानीय बासिन्दा बुद्धराज विश्वकर्माका अनुसार बगुवनमा मात्रै १५ वटा घरको जस्तापाता र फुसको छाना हावाहुरीले गर्दा भुइँमा खसालेको छ । 

hawa huri (2)

छाना उडाएलगत्तै परेको मूसलधारे पानीले गर्दा घरभित्र भण्डारण गरेर राखिएको अन्नपात, खाद्यान्न र ओढ्ने–ओछ्याउने लत्ताकपडाहरू पूर्ण रूपमा भिजेका छन् । अन्न र कपडा सबै नष्ट भएपछि प्रभावित परिवारलाई अहिले बिहानको छाक टार्न र बस्नका लागि ठुलो समस्या परेको छ ।

hawa huri (3)

यसैगरी, हावाहुरीले बगुवनमा रहेको स्थानीय आधारभूत विद्यालयको खानेपानीको ट्याङ्की समेत ढालेर पूर्ण रूपमा क्षतिग्रस्त बनाइदिएको छ । ट्याङ्की ढलेपछि विद्यालय र आसपासका क्षेत्रमा खानेपानीको हाहाकार मच्चिएको छ । हावाहुरीका कारण विद्युतका पोल र तारहरूमा क्षति पुग्दा हिजो साँझदेखि नै सो क्षेत्रमा बिजुली बत्ती अवरुद्ध भएको छ । 

विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष दीपक पौडेलका अनुसार पालिकाको बगुवनमा १५ घर, सिसेनी गाउँमा ५ घर र अन्य केही स्थानमा पनि घरहरूको छाना उडेको विवरण प्राप्त भएको छ । वडा कार्यालयले अहिले प्रहरी र स्थानीय प्रतिनिधिहरूको सहयोगमा प्रभावित क्षेत्रमा भएको क्षतिको थप विस्तृत विवरण सङ्कलन गरिरहेको छ र पीडितहरूलाई तत्काल राहत उपलब्ध गराउनका लागि पहल थालिएको छ ।

(फोटो सौजन्य : बुद्ध राज बिस्वकर्मा/ नेपाल फोटो लाइब्रेरी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप