सरकारको बजेटले गरिबलाई छोएन, धनी र गरिबबिचको खाडल झनै बढाउँछ : अर्याल
सारांश
- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की उपनेता पद्मा अर्यालले सरकारको आगामी आर्थिक वर्षको बजेटले गरिब जनतालाई छुन नसकेको टिप्पणी गरेकी छन्।
- उनले बजेटमा निमुखा वर्गलाई माथि उकास्ने, उनीहरूको चुल्होमा सधैँ आगो बल्ने र अनुहारमा मुस्कान ल्याउने ठोस कार्यक्रमको अभाव खड्किएको बताइन्।
- यो बजेटले हुनेखाने र हुँदा खानेबिचको वर्गीय खाडल झन् फराकिलो बनाउने अर्यालको भनाइ छ।
काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले)की संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको आगामी आर्थिक वर्षको बजेटले गरिब जनतालाई छुन नसकेको टिप्पणी गरेकी छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै उनले यस्तो टिप्पणी गरेकी हुन्।
बजेटमा निमुखा वर्गलाई माथि उकास्ने, उनीहरूको चुल्होमा सधैँ आगो बल्ने र अनुहारमा मुस्कान ल्याउने ठोस कार्यक्रमको अभाव खड्किएको उनले बताइन्। उपनेता अर्यालले सरकारको बजेटले गरिबलाई झनै गरिब बनाउने र धनीलाई झने धनी बनाउने नीति लिएको भन्दै आपत्ति समेत जनाइन्।
बजेटको प्राथमिकता र लक्ष्यमाथि प्रश्न उठाउँदै उनले संसदमा भनिन्, ‘बजेटले गरिबीलाई छोएन। सिङ्गो बजेट वक्तव्यमा गरिबी भन्ने शब्दको उचित सम्बोधन छैन। सरकार भन्छ– मध्यम वर्गको विकास गर्ने। यसमा केही भन्नु छैन। तर यसको लक्ष्य कसरी हासिल गर्न सकिन्छ? मेरो प्रश्न छ– २० प्रतिशत निरपेक्ष गरिबीको रेखामुनि रहेका तल्लो वर्गका नागरिकलाई माथि नउठाईकन माथिल्लो वर्गको आकार कसरी ठुलो हुन्छ? जगलाई कमजोर राखेर तला थप्ने कुरा कत्तिको वैज्ञानिक हो? यो बजेटले तल्लो वर्गलाई तलै राख्ने, माथिल्लो वर्गलाई झन्माथि लैजाने नीति लिएको देखिन्छ। त्यसैले यो हुनेखाने र हुँदा खानेबिचको वर्गीय खाडल झन् फराकिलो बनाउने बजेट हो। मध्यम वर्गको आकार त्यत्तिकै फराकिलो हुँदैन। यसका लागि तल्लो स्तरको आय बढ्नुपर्यो। उनीहरूको हातमा सीप हुनु पर्दछ। बजारमा उनीहरूको उचित मूल्य हुनुपर्दछ। निमुखा वर्गलाई माथि उकास्ने, उनीहरूको चुल्होमा सधैँ आगो बल्ने, अनुहारमा मुस्कान ल्याउने ठोस कार्यक्रमको अभाव बजेटमा खड्किएको छ।’
अर्यालले सरकारले घोषणा गरेको मध्यम वर्गको विकास गर्ने लक्ष्य पूरा गर्नका लागि पनि बजेटले अनिवार्य रूपमा गरिब वर्गको उत्थानमा ध्यान केन्द्रित गर्नुपर्ने तथ्य स्मरण गराइन्। तल्लो वर्गको आर्थिक अवस्था सुधार नगरी देशको आर्थिक विकास सम्भव नहुने उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्टको बयान, ‘दुबई र सिंगापुरमा घर किनेको छैन’
-
इप्पान कार्यसमिति निर्वाचनः एक उपमहासचिवसहित पाँच सचिव निर्विरोध निर्वाचित
-
सम्पत्ति शुद्धीकरणको आरोपमा सुलभ अग्रवालको इन्कारी बयान: 'ब्रोकरबाट सापटी मात्र लिएको हुँ'
-
दीपक भट्टको घर खानतलासी, भेटिए डलर थाई भाट
-
नेसनल कलेजले सुरु गर्यो अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिसम्बन्धी ‘बर्ड’ कार्यक्रम सुरु
-
दीपक भट्टसहित ३९ विरूद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण