बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सेयर बजारमा १ अर्ब १४ करोडको सङ्गठित ठगी : शेखर गोल्छासहित ८१ जनाविरुद्ध मुद्दा दायर

बिहीबार, २८ जेठ २०८३, १८ : ३०
बिहीबार, २८ जेठ २०८३

सारांश

  • सेयर बजारमा करोडौँ ठगी गरेको अभियोगमा व्यवसायी र बीमा कम्पनीका पदाधिकारीहरू सहित ८१ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
  • मुद्दा दायर गरिएकामध्ये धेरैजसो प्रतिवादीहरू 'फरार' सूचीमा रहेका छन् ।
  • प्रतिवादीहरूले सङ्गठित रूपमा सेयर बजारमा चलखेल गरी विभिन्न बिमा कम्पनी र सार्वजनिक संस्थाहरूलाई १ अर्ब १४ करोडभन्दा बढीको हानी नोक्सानी पुऱ्याएको अभियोग छ ।

काठमाडौँ । सेयर बजारमा करोडौँ ठगी गरेको अभियोगमा व्यवसायी र बीमा कम्पनीका पदाधिकारीहरू सहित ८१ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गतको कसूरमा उक्त अभियोग पत्र बिहीबार दर्ता गरेको हो।

मुद्दा दायर गरिएका ८१ जनामध्ये नेपालका प्रतिष्ठित व्यावसायिक घरानाका व्यक्तिहरू रहेका छन्। मुख्य प्रतिवादीहरूमा ईन्फिनिटी होल्डिङ्सका सञ्चालक अध्यक्ष दीपक भट्ट, हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छा,हिमालयन लाइफ इन्स्योरेन्सका अध्यक्ष तथा शौर्य सिमेन्टका सञ्चालक सुलभ अग्रवाल, भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नं. ५५) का कार्यकारी अध्यक्ष सन्दीप चाचन अग्रवालसहित रोहित गुप्ता, अमित मोर, ऋषिराज मोर लगायत विभिन्न बिमा कम्पनीका सञ्चालक तथा पदाधिकारीहरू रहेका छन् ।

मुद्दा दायर गरिएकामध्ये धेरैजसो प्रतिवादीहरू 'फरार' सूचीमा रहेका छन् । पक्राउ परेका केही व्यक्तिहरूलाई म्याद थप गरी अनुसन्धान जारी राखिएको छ भने अदालतले फरार रहेकाहरूको हकमा म्याद जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९४, ९५, ९६ र ९८ बमोजिमको कसूरमा मुद्दा दायर गरिएको हो । झुटो कारोबार, मूल्यमा उतारचढाव र बजारलाई प्रभावित पारेकोमा दफा १०१ बमोजिम जरिवाना र कैद सजायको माग गरिएको छ । संस्थाहरूलाई पुऱ्याएको १ अर्ब १४ करोडभन्दा बढीको क्षतिपूर्ति भराउनुपर्ने मागदावी लिएको छ।

प्रतिवादीहरूले सङ्गठित रूपमा सेयर बजारमा चलखेल गरी विभिन्न बिमा कम्पनी र सार्वजनिक संस्थाहरूलाई १ अर्ब १४ करोड ८ लाख ६९ हजार ९३६ रुपैयाँ ७० पैसा हानी नोक्सानी पुऱ्याएको उल्लेख छ । सरकारी वकिलले उक्त रकम बराबरको क्षतिपूर्ति भराउन र दोषीहरूलाई कैद तथा जरिवानाको माग दाबी गरेको छ। 

प्रतिवादीहरूले भृकुटी स्टक ब्रोकिङ (ब्रोकर ५५) लाई मुख्य अखडा बनाएर सेयर बजारमा 'सर्कुलर ट्रेडिङ' (एउटै समूहबिच सेयर किनबेच) गर्ने गरेका थिए । नेपाल पुनर्बिमा कम्पनी, एनएलजी इन्स्योरेन्स  र गार्डियन माइक्रो लाइफ को सेयर मूल्य बढाउन कृत्रिम कारोबार गरेको भेटिएको छ ।

त्यस्तै बिमा कम्पनीको पैसाको  हिमालयन रिइन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स लगायतका संस्थाहरूको करोडौँ रुपैयाँ सर्वसाधारण लगानीकर्ताको हित विपरीत दीपक भट्ट र सुलभ अग्रवालको निजी फाइदाका लागि सेयर खरिदमा प्रयोग गरिएको अभियोगपत्रमा उल्लेख छ ।

अनुसन्धानमा सबैभन्दा बलियो प्रमाणको रूपमा IP Address फेला परेको छ । प्रतिवादीहरूले विभिन्न कम्पनीको नाममा सेयर कारोबार गर्दा सुलभ अग्रवालको 'शौर्य सिमेन्ट' र 'जगदम्बा स्टिल'को कार्यालयको इन्टरनेट प्रयोग गरेको पुष्टि भएको छ । ब्रोकर सन्दीप चाचन अग्रवालले पर्याप्त धरौटी (कोल्याट्रल) बिना नै दीपक भट्ट लगायतलाई अर्बौँको सेयर खरिद गर्न दिएको र नियम विपरीत 'एडभान्स' भुक्तानी दिएको पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप