बैंकिङ कसुरमा दिपक भट्टको बयानः 'बैंकिङ कसूर होइन, जग्गाको कारोबार थियो'
सारांश
- जगदम्बा स्टील्सको बैंकिङ ऋण दुरुपयोग मुद्दामा मुख्य प्रतिवादी दीपक भट्टले आफूमाथि लागेको आरोप बैंकिङ ठगी नभई असफल जग्गा कारोबार भएको दाबी गरेका छन् ।
- भट्टले जग्गा खरिदका लागि लिएको ५४ करोड ६० लाख रुपैयाँ ब्याजसहित ७५ करोड २६ लाख रुपैयाँ फिर्ता गरिसकेको बताएका छन् ।
- उनले आफू जगदम्बा स्टील्सको साझेदार वा लगानीकर्ता नभएको र बैंक ऋणबारे आफूलाई जानकारी नभएको स्पष्ट पारेका छन् ।
काठमाडौँ । जगदम्बा स्टील्सको बैंकिङ ऋण दुरुपयोगको मुद्दामा मुख्य प्रतिवादी बनाइएका इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् ।
अनुसन्धान अधिकारीसमक्ष बिहीबार बयान दिँदै भट्टले यो प्रकरण बैंकिङ ठगी नभई एउटा 'असफल जग्गा कारोबार' मात्र भएको दाबी गरेका छन् ।
भट्टका अनुसार ५ वर्षअघि ललितपुरको सानेपास्थित ५४ आना जग्गा बिक्री गर्न जगदम्बा स्टील्ससँग सम्झौता भएको थियो । सोही प्रयोजनका लागि उनले पटक-पटक गरी ५४ करोड ६० लाख रुपैयाँ 'बैना' रकम आफ्नो बैंक खातामा बुझेका थिए।
तर, पछि जगदम्बा स्टील्सले जग्गा खरिद गर्न नसक्ने बताएपछि उक्त डिल रद्द भएको भट्टको जिकिर छ । बयानमा उनले भनेका छन्, "मैले लिएको बैना रकम मात्र होइन, त्यसमा ब्याज समेत जोडेर कुल ७५ करोड २६ लाख रुपैयाँ जगदम्बा स्टील्सलाई फिर्ता गरिसकेको छु ।" रकम फिर्ता गरिसकेकाले आफूमाथि बैंकिङ कसूरको मुद्दा लगाउनु जायज नभएको उनको तर्क छ।
जगदम्बा स्टील्सका सञ्चालक अग्रवाल परिवारसँगको सम्बन्धबारे भट्टले स्पष्ट पारेका छन् कि उनी कम्पनीको कुनै पनि आधिकारिक पदमा छैनन्। शाहिल, शंकरलाल र शुलभ अग्रवालसँग आफ्नो वर्षौँदेखिको पारिवारिक चिनजान रहेको र सोही आधारमा कहिलेकाहीँ व्यक्तिगत 'सापटी' लेनदेन हुने गरेको उनले स्वीकार गरेका छन् ।
"म जगदम्बा स्टील्सको साझेदार वा लगानीकर्ता होइन," भट्टले बयानमा उल्लेख गरेका छन्, "जगदम्बाले बैंकबाट कुन सर्तमा ऋण लियो र त्यसलाई कहाँ खर्च गर्यो भन्ने कुरामा मेरो कुनै संलग्नता वा जानकारी हुँदैन ।"
आफ्नो आर्थिक हैसियतबारे बोल्दै भट्टले आफ्नो वार्षिक आय करिब ३० करोड रुपैयाँ रहेको दाबी गरेका छन् । उनले श्रीमती आयुष्मा र सासू अन्जना नेपालको खाताबाट भएका कारोबारहरू पनि पारदर्शी र नियमसँगत रहेको बताएका छन् ।
इन्फिनिटी होल्डिङ्सबाट आफ्नो खातामा आएको रकम लाभांश वा पेस्की हुनसक्ने तर त्यो अवैध नभएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ घण्टामा देशभर विपद्का ४१ घटना, २३ लाख बराबरको क्षति
-
बर्लिन आक्रमणका सन्दिग्ध प्रहरी कारबाहीमा मारिएको जर्मन सञ्चारमाध्यमको दाबी
-
जिम्बावेलाई हराउँदै भारतद्वारा टी–ट्वान्टी शृङ्खला ‘क्लिन स्वीप’
-
बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि
-
सरकारमा हुँदा गोर्खा र नागरिकताको मुद्दा सम्बोधन गर्न नसक्नु गल्ती : शेरधन राई
-
कतारका प्रधानमन्त्री र साउदी विदेशमन्त्रीबिच फोन वार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण