बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
इप्पानमा चुनावको सरगर्मी

दुई प्यानलबिच तीव्र प्रतिस्पर्धा, २४ पदका लागि ४१ उम्मेदवार, कसको एजेन्डा के ?

बिहीबार, २८ जेठ २०८३, १७ : ५१
बिहीबार, २८ जेठ २०८३

सारांश

  • स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४ औँ वार्षिक साधारण सभा र निर्वाचनका लागि दुई प्यानलबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ ।
  • वरिष्ठ उपाध्यक्षका लागि उत्तम भ्लोन र बलराम खतिवडा चुनावी मैदानमा छन् भने २४ पदका लागि ४१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
  • दुवै प्यानलले आ-आफ्ना एजेन्डासहित ऊर्जा क्षेत्रको विकास, नीतिगत सुधार, लगानी प्रवर्द्धन र सदस्यहरूको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा चुनावी सरगर्मी तीव्र बनेको छ । शुक्रबार हुने इप्पानको २४ औँ वार्षिक साधारण सभा र नयाँ कार्यसमिति निर्वाचनका लागि ऊर्जा उद्यमीहरू प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

इप्पानको विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी स्वतः अध्यक्ष बन्ने छन्, तर अध्यक्ष बाहेकका वरिष्ठ उपाध्यक्ष र अन्य पदका लागि दुई प्यानल एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन् । त्यही अनुसार उम्मेदवारी दर्ता नै गरिसकेका छन् । यसरी अब दुई समूहबिच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

कुल ६८३ मतदाता रहेको इप्पानमा नयाँ नेतृत्व र संस्थागत कमान्ड आफ्नो पक्षमा पार्न वर्तमान कार्यसमितिका उपाध्यक्ष उत्तम लामा (भ्लोन) र महासचिव बलराम खतिवडाको नेतृत्वको दुई प्यानलसहित चुनावी मैदानमा होमिएका छन् ।

इप्पानको भावी नेतृत्व र कमान्ड आफ्नो हातमा पार्नका लागि दुवै प्यानलका उम्मेदवार आमनेसामने भएका छन् ।

दुई प्यानलबिच भिडन्त

निर्वाचनका लागि दुई समूहले आफ्नो प्यानल बनाएर तयारी तीव्र पारेका छन् । चुनावी मैदानमा उत्तम लामा भ्लोन र बलराम खतिवडाको समूह आमने सामने हुने भएको छ ।

केही समय अघि नै प्यानल घोषणा गरेको लामा समूहले बुधबार पनि उम्मेदवारहरू राखेर प्यानल घोषणा गरे । त्यस्तै खतिवडा समूहले पनि बुधबार नै आधिकारिक रूपमा प्यानल घोषणा गर्दै चुनावी मैदानमा उत्रिएका छन् ।

वर्तमान उपाध्यक्ष भ्लोनले वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणासँगै उम्मेदवारी दर्तासमेत गरिसकेका छन् । उनको टिमबाट उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, सुसन कर्माचार्य, हिम पाठक, विक्रम विष्ट र नरेन्द्र बल्लभ पन्त उम्मेदवार छन् ।

महासचिवमा टीएन आचार्य, उपमहासचिवमा कविता पोखरेल, कोषाध्यक्षमा शंकर बस्याल तथा सचिवहरूमा कुवेरमणि नेपाल, अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, सुमन जोशी र विजयमोहन भट्टराईले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षका अर्को प्यानलबाट बलराम खतिवडाले उम्मेदवारी दर्ता गरेका छन् । उनको प्यानलबाट उपाध्यक्षमा भरतबहादुर खत्री, भरतप्रसाद नेपाल, कुमार खरेल, दीपक पौडेल र महिला उपाध्यक्षमा सिर्जना खड्काले उम्मेदवारी दिएका छन् । वर्तमान कार्यसमितिका उपमहासचिव प्रकाश दुलालले खतिवडाकै समूहबाट महासचिवमा उम्मेदवारी दिएका छन् ।

सचिवहरूमा कृष्णप्रसाद घिमिरे, ताराबहादुर इस्बो लिम्बू, वीरेन्द्र मल्ल, संगीता धमला र इशा श्रेष्ठ मैदानमा छन् । कोषाध्यक्षमा मिथुन पौडेलको उम्मेदवारी पर्दा सदस्यहरूमा सोमनाथ कँडेल, डा. भूषण गुरागाईँ, सन्तोषराज नेपाल, मिलन खड्का, जगदीश सिवाकोटी, नारायण कँडेल, सुकुन्द ओझा, ज्योति गैरे, इन्दिरा पन्त र प्रदीप ओली छन् ।

२४ पदका लागि ४१ जनाको उम्मेदवारी दर्ता

इप्पान निर्वाचन समितिले जेठ २८ गते सार्वजनिक गरेको उम्मेदवारहरूको प्रथम नामावली अनुसार विभिन्न पदका लागि उत्साहजनक उम्मेदवारी दर्ता भएको छ । एक पद संख्या रहेको वरिष्ठ उपाध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ, जसमा उत्तम भ्लोन र बलराम खतिवडा चुनावी प्रतिस्पर्धामा छन् ।

त्यस्तै, पाँच उपाध्यक्ष पदका लागि नौ जनाको उम्मेदवारी दर्ता भएको छ, जसमा उत्तर कुमार श्रेष्ठ, कुमार खरेल, दिपक पौडेल, नरेन्द्र बल्लभ पन्त, विक्रम बिष्ट, भरत प्रसाद नेपाल, भरत बहादुर खत्री, सुसन कर्माचार्य र हिम प्रसाद पाठक भिड्दै छन् ।

एक पद संख्या रहेको महासचिवका लागि दुई जना चुनावी प्रतिस्पर्धामा छन्, जसमा टीएन आचार्य र प्रकाश चन्द्र दुलालबिच प्रतिस्पर्धा हुने भएको छ ।

एक पद संख्या रहेको उप–महासचिव पदका लागि एक जनाको मात्रै उम्मेदवारी परेको छ । उप–महासचिवमा कविता पोखरेलको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएकी छन् ।

यस्तै, एक पद संख्या रहेको कोषाध्यक्षका लागि मिथुन चक्रवर्ती प्रसाद पौडेल र शंकर बस्यालबिच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

पाँच सचिव पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । सचिव पदमा अभिज्ञा मल्ल, ईषा श्रेष्ठ, कृष्ण प्रसाद घिमिरे, कुवेरमणि नेपाल, विजय मोहन भट्टराई, बिरेन्द्र वहादुर मल्ल र सुमन कुमारी जोशी उम्मेदवार छन् ।

सात खुला सदस्यतर्फ १५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । जसमा अनुप आचार्य, ईन्दिरा पन्त, कदम के.सी., जगदिश सिवाकोटी, जगत बहादुर पोखरेल, नारायण कँडेल, प्रदिप ओली, वर्डन लामिछाने, डा.भुषण गुरागाईं, मिलन खडका, बाबुराम थापा, सकुन्द ओझा, सन्तोषराज नेपाल र सोमनाथ कँडेल चुनावी मैदानमा छन् ।

त्यस्तै, तीन पद संख्या रहेको महिला सदस्यतर्फ चार जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा ज्योति गैरे, प्रतिभा ज्ञवाली, संगीता धमला र सिर्जना खड्का मैदानमा छन् ।

कस्ता छन् एजेन्डा ?

चुनावमा होमिएसँगै दुवै प्यानलले आ–आफ्ना एजेन्डासमेत अघि सारेका छन् । दुवै प्यानलले उम्मेदवारी घोषणासँगै निर्वाचन जितेर इप्पानलाई कस्तो संस्था बनाउने भन्ने विषयमा एजेन्डा सार्वजनिक गरेका हुन् ।

वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार उत्तम लामाले सक्षम, उत्तरदायी तथा दूरदर्शी नेतृत्वमार्फत संस्थाको समग्र विकास, सुशासन, पारदर्शिता र सदस्यहरूको हित प्रवर्द्धनमा आफूहरू प्रतिबद्ध रहेको बताए ।

लामाले ‘इप्पान भिजन २०२९’ मार्फत पीपीए सुधार, नीतिगत तथा कानुनी सुधार, लगानी तथा वित्तीय सुधार, प्रसारण तथा पूर्वाधार निर्माणमा तीव्रता, ऊर्जा खपत विस्तार तथा निर्यात प्रवर्द्धन, वन तथा वातावरणीय प्रक्रियामा सरलीकरण, इप्पानलाई नीति अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने तथा चुस्त र सक्षम संस्थागत व्यवस्थापनलाई प्राथमिकतामा राखेका छन् ।

हाल रोकिएका १२ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनाको पीपीए खुलाउने, ‘टेक एन्ड पे’ व्यवस्थाको पुनरवलोकन गरी ‘टेक अर पे’ सुनिश्चित गर्ने, ऊर्जा क्षेत्रलाई प्राथमिकता प्राप्त क्षेत्रका रूपमा स्थापित गर्दै सहुलियत ऋणको व्यवस्था गर्ने तथा प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउने उनको एजेन्डा छ ।

त्यसैगरी, वन तथा वातावरणीय स्वीकृति प्रक्रियालाई सरल बनाउने, एकद्वार प्रणाली लागु गर्न पहल गर्ने, विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने तथा अन्तरदेशीय विद्युत् व्यापार विस्तारका लागि आवश्यक नीतिगत व्यवस्था गर्न लामाले जोड दिएका छन् ।

लामा प्यानलले आफ्नो मुख्य प्रतिबद्धताका रूपमा ‘हामी विरोध होइन—समाधान दिन्छौँ’, ‘हामी नारा होइन—संरचना बनाउँछौँ’ र ‘हामी व्यक्तिगत होइन—संस्थागत नेतृत्व गर्छौं’ भन्ने नारालाई अघि सारेको छ ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षका उम्मेदवार खतिवडाले इप्पानलाई ऊर्जा उत्पादकहरूको प्रभावकारी छाता संगठनका रूपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनको प्यानलले सबै सदस्य कम्पनीका समस्या सुन्न हेल्पडेस्क स्थापना गर्ने, नियमित समीक्षा बैठक सञ्चालन गर्ने तथा विभिन्न विषयगत समिति र उपसमिति गठन गरी संस्थागत क्षमता अभिवृद्धि गर्ने योजना समावेश गरेको छ ।

समूहले ऊर्जा क्षेत्रसँग सम्बन्धित कानुन, नीति, आयोजना निर्माण, डिजाइन तथा प्रशासनिक प्रक्रियामाथि अध्ययन–अनुसन्धान गरी सरकारसमक्ष तथ्यमा आधारित सुझाव प्रस्तुत गर्ने जनाएको छ । संस्थाको आफ्नै भवन निर्माण तथा सचिवालयलाई अझ व्यवस्थित र प्रविधिमैत्री बनाउने योजना पनि अघि सारिएको छ ।

सरकारसँगको सम्बन्धका सन्दर्भमा समूहले १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न निजी क्षेत्र र सरकारबिच प्रभावकारी सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

ऊर्जा मन्त्रालय, विद्युत् विकास विभाग, विद्युत् नियमन आयोग, नेपाल विद्युत् प्राधिकरण, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डलगायत निकायसँग संस्थागत सम्बन्ध विकास गरी ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण निर्माणमा जोड दिने उल्लेख गरिएको छ ।

समूहले हाल विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) को पर्खाइमा रहेका १६ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनाको पीपीए तत्काल खुलाउन पहल गर्ने, ‘टेक अर पे’ व्यवस्था कार्यान्वयनका लागि दबाबमूलक भूमिका खेल्ने तथा प्रसारण लाइन निर्माणमा देखिएका अवरोध हटाउन सरकारसँग समन्वय गर्ने जनाएको छ ।

यस्तै, प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउने, विद्युत् व्यापारमा निजी क्षेत्रलाई अनुमति दिलाउने, आयोजनाको आरसीओडी अवधि थप गर्ने तथा विद्युत् उत्पादन प्रभावित हुँदा प्रवर्द्धकले पाउने क्षतिपूर्ति सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

वित्तीय क्षेत्रतर्फ ऊर्जा क्षेत्रमा न्यूनतम २० प्रतिशत कर्जा प्रवाहको व्यवस्था निरन्तरता दिन पहल गर्ने, सहुलियतपूर्ण हरित ऊर्जा कोष स्थापना गर्ने, विदेशी लगानी तथा सहुलियतपूर्ण ऋण भित्र्याउन भूमिका खेल्ने र आईपीओ निष्कासनको प्रक्रिया सहज बनाउन सरकार तथा नियामक निकायसँग समन्वय गर्ने योजना प्रस्तुत गरिएको छ ।

प्रतिबद्धतापत्रमा ऊर्जा सम्मेलन आयोजना, अन्तर्राष्ट्रिय ऊर्जा व्यापार विस्तार, निजी क्षेत्रका व्यावसायिक संस्थासँग सहकार्य तथा राजनीतिक दलहरूसँग ऊर्जा नीतिका विषयमा संवाद बढाउने कार्यक्रम पनि समेटिएका छन् ।

उक्त समूह ‘परिवर्तनका लागि सहभागितामूलक÷प्रतिनिधिमूलक नयाँ र ऊर्जा क्षेत्रको अनुभवी नेतृत्व’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप