बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

नाइजेरियाबाट हुलाकमार्फत लागुऔषध मगाउने भारतीय नागरिक पक्राउ

बिहीबार, २८ जेठ २०८३, १८ : ४७
बिहीबार, २८ जेठ २०८३

सारांश

  • पोखराबाट ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध एलएसडीसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
  • नाइजेरियाबाट हुलाकमार्फत लागुऔषध मगाइएको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएर उनलाई नियन्त्रणमा लिएको हो।
  • पक्राउ परेका व्यक्तिको साथबाट १ हजार पत्ता एलएसडी बरामद गरिएको छ र उनीमाथि थप अनुसन्धान भइरहेको छ।

कास्की । कास्की प्रहरीले पोखराबाट ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध एलएसडीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। नाइजेरियाबाट हुलाकमार्फत लागुऔषध मगाइएको विशेष सूचनाका आधारमा प्रहरीले निगरानी बढाएर आयुष अजितलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार पोखरा महानगरपालिका वडा नं. ७ स्थित हुलाक कार्यालय बाहिरबाट उक्त सामग्री बुझ्न आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीका अनुसार पक्राउ परेका व्यक्तिको साथबाट १ हजार पत्ता एलएसडी बरामद गरिएको छ।

अनुसन्धानबाट खुले अनुसार पर्यटकका रूपमा पोखरा आएका ती भारतीय नागरिक लेकसाइडस्थित एक होटलमा बस्दै आएका थिए। उनले आफू बसेकै होटलको ठेगानामा हुलाकमार्फत उक्त प्रतिबन्धित लागुऔषध मगाएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।

पक्राउ परेका व्यक्तिमाथि अहिले लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बरामद लागुऔषधको परिमाण, यसको सम्भावित बजार, कारोबार र यसमा संलग्न हुनसक्ने अन्य व्यक्तिहरूको खोजी कार्यलाई तीव्रता दिइएको एसपी कार्कीले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप