बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसद् बैठक

संसदमा अर्थमन्त्रीको चेतावनी, ‘प्रश्न उठाउनेका पुराना काण्ड पनि खुल्नेछन्’

‘२ रुपैयाँको मात्र बेइमानी प्रमाणित भए पनि पद त्याग्छु’
बिहीबार, २८ जेठ २०८३, १८ : ०२
बिहीबार, २८ जेठ २०८३

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारका आरोपहरूको कडा प्रतिवाद गर्दै अनियमितता प्रमाणित भए पद त्याग गर्ने घोषणा गरेका छन्। 

बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले प्रश्न उठाउने नेताहरूका पुराना काण्डहरू समेत सार्वजनिक हुने चेतावनी दिएका हुन्।

अर्थ मन्त्रालयमा बसेर करका दरमार्फत निश्चित व्यापारीलाई पोसेको भन्ने आरोपको खण्डन गर्दै उनले आफूमाथि लागेको २ अर्बको आशङ्का निराधार रहेको दाबी गरे। उनले सार्वजनिक लेखा समितिमा समेत आफू विरुद्ध आएका समाचारहरूको खण्डन गरेको उल्लेख गर्दै जनताले सुशासनका लागि दिएको मतको अपमान नगर्ने प्रतिबद्धता व्यक्त गरे। सुशासनको कठोर प्रतिबद्धतासहित आएको दुई महिनामै जनतालाई धोका दिन नसकिने जिकिर गर्दै उनले आफूमाथि औँलो ठड्याउनेहरूलाई पनि नैतिक उचाइ कायम राख्न चुनौती दिए।

आफ्नो बारेमा प्रश्न उठाउने सांसदहरूलाई लक्षित गर्दै उनले भने, ‘अहिलेको बहुचर्चित विषय– स्वर्णिम वाग्लेले कुटु–कुटु अर्थ मन्त्रालयमा बसेर करका दर चलाएर व्यापारी पोस्यो भन्ने खालका कुरा पनि सुनिए। सांसदहरूले आफ्नो गरिमा आफैँ राख्नुपर्छ। हामी यस सम्मानित सदनको ओज घटाउने कामतर्फ लाग्नु हुँदैन। सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको, सुशासनप्रतिको कठोर प्रतिबद्धतालाई जनताले अनुमोदन गरेको दुई महिनामै हामी जनतालाई धोका दिन सक्छौँ र? सक्दैनौँ। मैले आज सार्वजनिक लेखा समितिमा पनि भनेँ, एक–दुईवटा खोस्टाहरूले २ अर्बको आशङ्का इत्यादि भनेर लेखे। तर २ अर्ब होइन, २ रुपैयाँको बदमासी वा बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्यागिदिन्छु। सार्वजनिक जीवन नै त्याग्न पनि म तयार छु। यही नैतिक आँट र यही नैतिक उचाइ मप्रति औँलो ठड्याउने माननीयज्यूहरूलाई पनि प्राप्त होस्, शुभकामना छ। तपाईंका काण्डका बारेमा हामी अनभिज्ञ छैनौँ, ती पनि खुल्नेछन्।’ उनले व्यक्तिगत लाञ्छना लगाउनुअघि तथ्यमा आधारित हुन समेत आग्रह गरे।

यसैगरी, अर्थमन्त्री वाग्लेले सरकारले समतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको दाबी गरेका छन्। विपक्षी दलहरूले संविधानको मर्मविपरीत बजेट आएको भनी गरेको आरोपको खण्डन गर्दै उनले समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाइएको स्पष्ट पारे। बजेटमा आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकता दिएको तथा समन्यायिक समुन्नति र समृद्धिलाई लक्ष्य बनाएको उनको भनाइ छ। बजेटमा समाजवाद शब्द स्पष्ट रूपमा उल्लेख नभए पनि समताको एजेन्डालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने प्रयास गरिएको उनले बताए। सरकार पाँच वर्षे प्रतिबद्धता र जनताले अनुमोदन गरेको एजेन्डाप्रति दृढ रहेको उल्लेख गर्दै नीति, कार्यक्रम र बजेटका सिद्धान्तबीच उच्च स्तरको सङ्गति रहेको उनले दाबी गरे।

बजेटको ढाँचाबारे प्रष्ट पार्दै उनले भने, ‘मैले बुझेको भाषा अथवा मेरो पार्टीले बोकेको एजेन्डाजस्तो बजेट आएन भनेर गुनासो गर्नु त एकठाउँमा रह्यो तर पाँच वर्षसम्मको लागि हाम्रो अर्जुनदृष्टि भनेको हामीले नै गरेको वाचा र जनताले अनुमोदन गरेको एजेन्डालाई नै हो, त्यसप्रति अत्यन्तै वफादार रहेर हामीले कार्यक्रमहरू अगाडि बढाएका छौँ। १०० वटा शासकीय सुधार, नीति कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकता र बजेट सबै अभूतपूर्व कन्सिस्टेन्सी छ, एउटा सङ्गति छ, यसलाई त्यही कोणमा हेरिदिनुहोला। हाम्रो विगत ३०/४० वर्षको राजनीति अलि वाम प्रेरित नै थियो, त्यो भाष्यमा गढेर पनि बसेको छ, त्यसबाट हामीले प्रेरणा पनि लिएका छौँ। संविधानको खिलाफमा भयो भन्ने कुरा बिलकुल गलत छ, समतालाई हामीले केन्द्रबिन्दुमा राखेका छौँ। ग्रोथको कुरा गर्दैगर्दा पनि ग्रोथ विथ इक्विटीको कुरा हामीले गरेका छौँ। समन्यायिक समुन्नति, समृद्धिका कुरा गरेका छौँ। त्यसैले ठ्याक्कै समाजवाद भन्ने शब्द नपरेपनि समताको एजेन्डालाई हामीले अगाडि सारेका छौँ।’ उनले विपक्षी दलहरूलाई आफ्नो पार्टीको एजेन्डाजस्तो बजेट आएन भनेर गुनासो गर्न छुट रहेको टिप्पणी समेत गरे।

यसैबिच, अर्थमन्त्री वाग्लेले केवल नगद वितरण गरेर मात्रै गरिबी नघट्ने स्पष्ट पारेका छन्। बजेटले नगद वितरणलाई प्राथमिकता नदिएको भए पनि सामाजिक सुरक्षाका कार्यक्रमहरू कटौती नगरिएको र बरु केही क्षेत्रमा थप विस्तार गरिएको उनले जानकारी दिए। मानिसलाई सधैँ सहायता लिने अवस्थामा राख्ने नभई आम्दानी आर्जन गर्ने अवस्थामा पुर्‍याउने सरकारको लक्ष्य रहेको उनको भनाइ छ। 

गरिबी निवारणको सबैभन्दा प्रभावकारी उपाय स्थायी रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्नु रहेको उल्लेख गर्दै उनले आगामी बजेटमा कृषि, उद्यम तथा निजी क्षेत्रलाई सशक्त बनाइने बताए। सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई केन्द्रमा राखेर आर्थिक नीति अघि बढाएको भन्दै उनले राज्यले सबै काम आफैँ गर्ने वा निजी क्षेत्रलाई शङ्काको दृष्टिले हेर्ने पुरानो सोच त्यागिएको स्पष्ट पारे।

बजारको भूमिका र राज्यको दायित्वबारे बोल्दै उनले भने, ‘नीतिगत रूपमा हामीले दोहोरो चरित्र त्यागेकै हो। नियामकीय निकायलाई सुदृढ गर्नेतर्फ हामीले ध्यान दिएका छौँ। राज्यले सबै काम आफैँ गर्ने र निजी क्षेत्रलाई शङ्काको दृष्टिकोणले हेर्ने पुरानो सोचबाट हामी बाहिर निस्केकै हो। बजारले सबै समाधान गर्छ भन्ने अतिवादी सोचबाट पनि हामी टाढा छौँ। हाम्रो दृष्टिकोण सक्षम राज्य र गतिशील निजी क्षेत्र बिचको सहकार्यमा आधारित छ। बजार स्वनिर्मित हुँदैन, राज्यले नै बनाइदिनुपर्छ। बजारहरू स्वनियमन पनि हुँदैनन्, त्यसलाई नियमन गर्ने राज्यले नै हो। बजारहरू आफैँ स्व–स्थिर हुँदैनन्, त्यसलाई राज्यका सबल निकायहरूले नै स्थिर बनाउने हो। बजारमा प्रतिफलहरू स्ववैध हुँदैनन्, त्यसलाई राज्यले हस्तक्षेप गरेर नै गर्नुपर्छ। त्यो धारबाट यो बजेट बनेको छ। यो नियामकीय निकायहरूको हामीले अभ्यास पनि गर्दै आयौँ तर यो विकृत भयो।’

विगतमा नियामकीय अभ्यास विकृत बन्दै गएका कारण ‘क्रोनी क्यापिटलिज्म’ र आर्थिक कब्जाजस्ता प्रवृत्ति देखिएको भन्दै अर्थमन्त्री वाग्लेले आगामी दिनमा त्यस्ता विकृतिलाई अन्त्य गरेर अघि बढ्ने दृढता व्यक्त गरे।

उनले थपे, ‘कहिले क्रोनी क्यापिटलिज्मका कुराहरू आउँछन्, कहिले कब्जाको कुरा आउँछन्। त्यसलाई ध्वस्त बनाएर नै अगाडि जानुपर्छ। प्रतिस्पर्धात्मक अर्थतन्त्रले समतामुखी समृद्धिको नतिजा ल्याउनको लागि राज्य बलियो हुनुपर्छ। अर्को गरिबी कसरी घटाउने भन्ने विषयमा हाम्रो दृष्टिकोण अलि उन्नत छ, हामीले सामाजिक सुरक्षामा विद्यमान कार्यक्रमहरू एउटा पनि काटेका छैनौँ। लोक कल्याणकारी, गरिबी कुनैका नाममा यहाँहरूले ल्याएका बजेट काटिएको छैन, बरु हामीले थपेका छौँ। तर केवल नगद वितरण गरेर मात्रै गरिबी घट्दैन भन्ने यथार्थलाई बजेटले स्वीकार गरेको छ। हामी मान्छेलाई सधै सहायता लिने अवस्थामा राख्ने होइन, आम्दानी आर्जन गर्ने अवस्थामा पुर्‍याउने पक्षमा छौँ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप