सर्कुलर विपरीत रास्वपा प्रदेश सभापति पदमा सांसदहरूकै उम्मेदवारी
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय सांसदहरूलाई केन्द्रीय तह बाहेक तल्लो समितिमा उम्मेदवारी नदिन सर्कुलर जारी गरे पनि सांसदहरू नै प्रदेश सभापति पदका लागि प्रतिस्पर्धामा उत्रिएका छन् ।
- पार्टीको सर्कुलरलाई लत्याउँदै सांसदहरूको चुनावी प्रतिस्पर्धामा उत्रिएपछि भूगोलमा काम गरेका पुराना नेताहरू मर्कामा परेका छन् र जिल्ला तथा प्रदेश अधिवेशनहरू प्रभावित भएका छन् ।
- बागमती, मधेस र गण्डकी प्रदेशमा सभापतिका लागि हानथाप हुँदा निर्वाचन प्रक्रिया अवरुद्ध वा स्थगित भएको छ, यद्यपि संगठन विभागले यसलाई बाध्यकारी नभई नैतिक विषय भनेको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यालयको सर्कुलर विपरीत प्रदेश सभापति पदका लागि निर्वाचित सांसदहरू नै दौडधुप गरिरहेका छन् । रास्वपाको प्रथम प्रदेश अधिवेशन जेठ २६ देखि असार १ गते हुने गरी कार्यतालिका सार्वजनिक भइसकेको छ । जेठ २२ गते संघीय सांसदहरूलाई केन्द्रीय तह बाहेक तल्लो समितिमा उम्मेदवारी बन्न नपाउने सर्कुलर रास्वपाको केन्द्रले जारी गरेको थियो ।
‘संघीय सांसदहरू पार्टीको केन्द्रीय तह बाहेक पालिका/क्षेत्र/जिल्ला/प्रदेश तहमा उम्मेदवारी दिन पाउने छैनन्’, सर्कुलरमा भनिएको थियो । तर, पार्टीको सर्कुलरलाई लत्याउँदै निर्वाचित सांसदहरू नै चुनावी प्रतिस्पर्धामा उत्रिएपछि पार्टी स्थापनाकालदेखि भूगोलमा काम गरेका नेताहरू मर्कामा परेका छन् ।
उनीहरू चुनावी प्रतिस्पर्धामा उत्रिएकामात्र नभई जिल्ला र पालिकामा आफू अनुकूलका व्यक्तिलाई ल्याउन हस्तक्षेप बढाउन थालेपछि जिल्लास्तरीय नेताहरूले असन्तुष्टी पोखेका छन् । जिल्लाका नेताहरूका कारण जिल्ला र प्रदेशका अधिवेशनहरू नै प्रभावित भएका छन् । सभापतिका लागि हानथाप हुँदा बागमती प्रदेश, कोशी प्रदेश र मधेस प्रदेशको निर्वाचन प्रक्रिया नै अवरुद्ध भएको छ ।
यद्यपि संगठन विभागका उपप्रमुख बोधनारायण श्रेष्ठले सांसदहरूले तल्लो समितिमा उम्मेदवारी दिन नपाउने विषय बाध्यकारी नभई नैतिक विषय भएको बताए ।
‘सांसदहरूको अलग्गै भूमिका छ । तल्लो समितिमा उम्मेदवारी दिनलाई पार्टीले बन्देज नै लगाएको भन्दा पनि नैतिक कुरा गरेको हो । त्यसको आशय उम्मेदवारी नदिउन् भन्ने हो । बाध्यकारी नभएकाले नै सांसदहरूले उम्मेदवारी दिएका होलान्’, श्रेष्ठले भने ।
जेठ २६ गते बागमती प्रदेशको राजधानी हेटौँडामा प्रदेश अधिवेशन उद्घाटन भएको थियो । तर, तीन दिन बितिसक्दा पनि नयाँ कार्यसमिति चुनिन सकेको छैन । सभापति पदका लागि वर्तमान सभापति एवं नुवाकोट २ बाट निर्वाचित सांसद डा. अत्युतम लामिछाने, काभ्रे २ बाट निर्वाचित बदन भण्डारी, निवर्तमान प्रवक्ता उत्सव अर्याल, हरि बहादुर खत्री र कृष्णमान श्रेष्ठले उम्मेदवारी दिएका थिए । भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चार जना प्रतिस्पर्धामा छन् ।
मधेस प्रदेशमा वर्तमान सभापति तपेश्वर यादव सहित पाँच/सात जना सभापतिका लागि आकाङ्क्षी छन् । यादव सिराहा ४ बाट निर्वाचित सांसद हुन् । महामन्त्री मनिष साहले पनि सभापतिमा आकाङ्क्षा राखेका छन् । नेतैपिच्छे गुटगत समूह भएकाले सबैभन्दा बढी विवाद मधेस प्रदेशमा देखिएको छ । विवादकै कारण आज हुनुपर्ने अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । स्रोतका अनुसार सिरहा २ बाट निर्वाचित सांसद शिव यादव, समानुपातिक सांसद खगेन्द्र कर्ण, बरुण झा लगायत सभापतिमा आकाङ्क्षी देखिएका छन् ।
गण्डकी प्रदेशमा नवलपुर १ बाट निर्वाचित सांसद राजन गौतम आकाङ्क्षी छन् । गौतमका अतिरिक्त महासचिव नवीन त्रिपाठी, नेता डा. हरि कार्की र कुमार खड्का लगायतका नेताहरूले दाबेदारी प्रस्तुत गरेका छन् । गण्डकीमा भोलि अधिवेशन सुरु हुँदैछ । यसैगरी लुम्बिनी प्रदेशमा ३० गते, कर्णालीमा ३१ गते र सुदूरपश्चिममा असार १ गते अधिवेशन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रतिपक्षको आन्दोलन यथावत् छ, बजेटका लागि मात्र सहजीकरण’
-
सेयर बजारमा १ अर्ब १४ करोडको सङ्गठित ठगी : शेखर गोल्छासहित ८१ जनाविरुद्ध मुद्दा दायर
-
अब बाली नभित्र्याउँदै किसानको हातमा मूल्यसूची
-
सरकारको बजेटले गरिबलाई छोएन, धनी र गरिबबिचको खाडल झनै बढाउँछ : अर्याल
-
पोखराबाट दुबई उडानको टिकट बुकिङ खुल्यो
-
६ लाख मेट्रिक टन मल कृषकलाई वितरण गर्ने सरकारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण