बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विश्वकप

विश्वकप २०२६ को उद्घाटन : के–के छन् यस प्रतियोगिताका रोचक पक्ष ?

बिहीबार, २८ जेठ २०८३, २० : ००
बिहीबार, २८ जेठ २०८३

सारांश

  • फिफा विश्वकप २०२६ आज मध्यरातदेखि अमेरिका, क्यानडा र मेक्सिकोमा सुरु हुँदैछ, जसमा पहिलो पटक ४८ टोली सहभागी हुनेछन् र १०४ खेल खेलिनेछन् ।
  • मेक्सिकोमा हुने उद्घाटन समारोहमा मेक्सिकन तथा ल्याटिन सङ्गीतको प्रस्तुति रहनेछ, जसमा अलेजान्द्रो फर्नान्डेज, माना, लिला डाउन्स, बेलिन्डा, जे बाल्भिन र ड्यानी ओसनले प्रस्तुति दिनेछन् ।
  • विश्वकपलाई आप्रवासन विवाद, महँगा टिकट, नयाँ प्रविधि, जलपान विश्रामको विवाद, चोटपटक र राजनीतिक बहस जस्ता विषयहरूले पनि प्रभावित पारेका छन् ।

काठमाडौँ । फुटबल इतिहासकै सबैभन्दा ठुलो फिफा विश्वकप २०२६ आज मध्यरातदेखि सुरु हुँदै छ । अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने यस प्रतियोगिता अन्तर्गत मेक्सिकोमा फुटबल इतिहासकै भव्य उद्घाटन हुन लागेको बताइएको छ ।

पहिलो पटक ४८ टोली सहभागी विश्वकप अवधिमा १०४ खेल खेलिनेछ । लाखौँ समर्थकहरूको ध्यान अहिले फुटबलमा केन्द्रित छ । यहाँ हामीले पहिलो दिनको खेल तालिका, सम्भावित नतिजा र प्रतियोगिता, उद्घाटनका प्रमुख प्रस्तुति र घटनाक्रमहरू प्रस्तुत गरेका छौँ–

जुन ११ को खेल तालिका के छ ?

मेक्सिकोमा समूह ‘ए’ का दुई खेल खेलाइनेछन् । मेक्सिको सिटीस्थित मेक्सिको सिटी स्टेडियममा स्थानीय समयअनुसार बिहान ११ बजे (१७ः०० जीएमटी) उद्घाटन समारोह सुरु हुनेछ । समारोहमा मेक्सिकन तथा ल्याटिन सङ्गीतको विशेष प्रस्तुति रहनेछ ।

मेक्सिकन गायक अलेजान्द्रो फर्नान्डेजले राष्ट्रिय गान प्रस्तुत गर्नेछन् । उनीसँग माना, लस एन्जेल्स आजुलेस, लिला डाउन्स र बेलिन्डालगायत कलाकारहरू सहभागी हुनेछन् । कोलम्बियाका जे बाल्भिन र भेनेजुएलाका ड्यानी ओसन पनि कार्यक्रममा देखिनेछन् ।

विश्व प्रसिद्ध गायिका सकिराले नाइजेरियाका बर्ना ब्वायसँग मिलेर प्रतियोगिताको आधिकारिक गीत ‘डाई डाई’ पहिलो पटक प्रस्तुत गर्दै समारोहको मुख्य आकर्षण बन्नेछिन् ।

त्यसपछि आयोजक मेक्सिकोले सोही मैदानमा स्थानीय समयअनुसार दिउँसो १ बजे ( नेपाली समयअनुसार ००ः४५ बजे) दक्षिण अफ्रिकासँग खेल्नेछ । पछि ग्वाडालाहारास्थित एस्टाडियो ग्वाडालाहारा (एस्टाडियो अक्रोन) मा दक्षिण कोरिया र चेक रिपब्लिकबिच खेल हुनेछ । खेल स्थानीय समयअनुसार राति ८ बजे (नेपाली समयअनुसार शुक्रवार बिहान ०७ः४५ बजे) सुरु हुनेछ ।

मेक्सिकोविरुद्ध दक्षिण अफ्रिका खेलको पूर्वानुमान के भन्छ ?

अप्टा सुपरकम्प्युटरका अनुसार विश्वकपको उद्घाटन खेलमा मेक्सिको स्पष्ट रूपमा बलियो टोली मानिएको छ । १० हजार पूर्व–सिमुलेसनका आधारमा मेक्सिकोको जित्ने सम्भावना ६६.३ प्रतिशत रहेको छ ।

दक्षिण अफ्रिकाको जित्ने सम्भावना १४.३ प्रतिशत छ भने बराबरीको सम्भावना १९.४ प्रतिशत रहेको छ ।

समूह ‘ए’ को समग्र अवस्थाबारे पनि अप्टाले मेक्सिकोलाई शीर्ष स्थानमा रहने अनुमान गरेको छ । त्यसपछि दक्षिण कोरिया, चेक रिपब्लिक र दक्षिण अफ्रिका रहने सम्भावना देखाइएको छ ।

मेक्सिकोको नेतृत्व अनुभवी स्ट्राइकर राउल जिमेनेज र १७ वर्षीय मिडफिल्डर गिल्बेर्टो मोराले गर्नेछन् । गोलरक्षक गुइलेर्मो ओचोआ भने छैटौँ विश्वकप खेल्दै इतिहास रच्ने तयारीमा छन् ।

दक्षिण अफ्रिका चौथोपटक विश्वकप खेल्दै छ । सन् २०१० मा प्रतियोगिता आयोजना गरेपछि पहिलो पटक टोली विश्वकपमा फर्किएको हो । मेक्सिकोमा हुने खेलहरू प्रतियोगिताकै उच्च उचाइ भएका मैदानहरूमा खेलिनेछन् । मेक्सिको सिटी स्टेडियम समुद्री सतहबाट करिब २,२२५ मिटर उचाइमा छ भने ग्वाडालाहारा करिब १,५६६ मिटर उचाइमा अवस्थित छ ।

दक्षिण कोरिया विरुद्ध चेक रिपब्लिकन खेलको पूर्वानुमान के छ ?

अप्टाका अनुसार दक्षिण कोरिया चेक रिपब्लिक भन्दा थोरै अगाडि छ । दक्षिण कोरियाको जित्ने सम्भावना ४२.९ प्रतिशत रहेको छ भने चेक रिपब्लिकनको ३१.१ प्रतिशत छ ।

बराबरीको सम्भावना २६ प्रतिशत रहेकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

समूह ‘ए’ मा दक्षिण कोरियाको नकआउट चरणमा पुग्ने सम्भावना ७० प्रतिशत र समूह विजेता बन्ने सम्भावना २१.३ प्रतिशत छ ।

चेक रिपब्लिकको नकआउट चरणमा पुग्ने सम्भावना ६४.३ प्रतिशत र समूह शीर्ष स्थानमा रहने सम्भावना १७.९ प्रतिशत रहेको छ ।

विश्वकपलाई प्रभावित गरिरहेका अन्य विषयहरू

उद्घाटन समारोह र पहिलो खेलहरूले मुख्य ध्यान तानिरहेका भए पनि विश्वकपका अन्य धेरै विषयहरू पनि चर्चामा छन् । आप्रवासन विवाद, महँगा टिकट, नयाँ प्रविधि र अन्तिम समयमा लागेका चोटपटकका घटनाहरूले पनि प्रतियोगितालाई प्रभावित गरिरहेका छन् ।

सोमाली रेफ्री उमर आर्टनलाई नायकको स्वागत

विश्वकपअघि अमेरिकामा प्रवेश गर्न नपाएपछि सोमाली रेफ्री उमर आर्टनलाई राजधानी मोगादिसुमा नायकसरह स्वागत गरिएको छ ।

सयौँ समर्थकहरू सोमाली झण्डा बोकेर उनलाई स्वागत गर्न भेला भएका थिए । आर्टन विश्वकपमा खेल सञ्चालन गर्ने पहिलो सोमाली रेफ्री बन्ने तयारीमा थिए ।

तर अमेरिकी अधिकारीहरूले मियामी अन्तर्राष्ट्रिय विमानस्थलमै उनलाई रोके । ‘सुरक्षा सम्बन्धी प्रावधान’ देखाउँदै उनलाई प्रवेश अस्वीकार गरियो र फिफाले पछि रेफ्रीहरूको सूचीबाट पनि हटायो ।

आर्टनले द न्यूयोर्क टाइम्सलाई दिएको अन्तर्वार्तामा आफूलाई ११ घण्टा सोधपुछ गरिएको र त्यसपछि फिर्ता पठाइएको बताएका छन् । यद्यपि उनले आशा गुमाएका छैनन् । ‘ईश्वरको इच्छा भए म अर्को विश्वकपमा अवश्य सहभागी हुनेछु,’ उनले समर्थकहरूसँग भने ।

आकासिँदो टिकट मूल्यले समर्थकहरू असन्तुष्ट

विश्वकप २०२६ प्रतियोगिताको इतिहासकै सबैभन्दा महँगो संस्करण बन्ने देखिएको छ । टिकट मूल्यवृद्धि, यातायात तथा आवास खर्च र अमेरिकी आप्रवासन नीतिसम्बन्धी चिन्ताका कारण धेरै समर्थकहरूलाई अमेरिकी यात्रामाथि पुनर्विचार गर्न बाध्य बनाएको छ ।

फिफाले पहिलो पटक ‘डाइनामिक प्राइसिङ’ प्रणाली लागू गरेको छ, जसअन्तर्गत माग बढ्दै जाँदा टिकट मूल्य पनि बढ्छ । प्रारम्भिक बिक्री चरणमा ५० करोडभन्दा बढी टिकटको लागि आवेदन परेपछि केही टिकटको मूल्य अत्यधिक महँगो भएको छ ।

एक समर्थक भन्छिन्, ‘पहिलेदेखि नै महँगी धेरै बढेको छ । यहाँ आउन इन्धनमै धेरै खर्च गर्नुपर्छ, अब टिकट पनि यति महँगो छ, यो साँच्चै ठीक भएन ।’ उनले थपिन्, ‘यसको अर्थ म खेल हेर्न जान सक्दिनँ र धेरै मानिस निराश हुनेछन् । फिफाले पुनर्विचार गरोस् वा वास्तविक समर्थकहरूलाई कुनै छुट उपलब्ध गराओस् भन्ने चाहन्छु ।’

गत डिसेम्बरमा टिकट बिक्री सुरु हुँदा फाइनलका टिकट १४० डलरदेखि ८,६८० डलरसम्म थिए । अप्रिलमा फिफाले उच्चतम मूल्य बढाएर १०,९९० डलर पु¥यायो, जुन उत्तर अमेरिकाको प्रारम्भिक बोलीमा उल्लेख गरिएको १,५५० डलरको अधिकतम मूल्यभन्दा झन्डै सात गुणा बढी हो ।

नयाँ प्रविधि र नियमहरू

फिफा र अन्तर्राष्ट्रिय फुटबल सङ्घ बोर्ड (आईएफएबी) ले खेललाई गतिशिल पार्न र निर्णय प्रक्रियालाई सुधार गर्न विभिन्न परिवर्तनहरू लागू गरेका छन् । 

यसमा उन्नत अर्ध–स्वचालित अफसाइड प्रविधि, वास्तविक समयको तथ्याङ्क पठाउने सेन्सरयुक्त स्मार्ट बल, थ्रो–इन र गोलकिकमा समय खेर फाल्न नदिन देखिने पाँच सेकेन्डको काउन्टडाउन, कडा खेलाडी परिवर्तन नियम तथा दोस्रो पहेँलो कार्ड, गलत पहिचान वा गलत रूपमा दिइएको कर्नरबारे पुनरावलोकन गर्न विस्तारित भीएआर अधिकार समावेश छन् ।

चोटका कारण टोलीहरूलाई धक्का

नेदरल्यान्ड्सले आर्सनलका डिफेन्डर युरियन टिम्बरलाई गुमाएको छ । कम्मरको चोटबाट पूर्ण रूपमा निको हुन नसकेपछि उनी विश्वकपबाट बाहिरिएका छन् । डच फुटबल सङ्घका अनुसार २४ वर्षीय खेलाडी प्रतियोगिताको दबाब सामना गर्न पर्याप्त फिट थिएनन् । 

ब्राजिलले पनि प्रमुख डिफेन्डर गुमाएको छ । एएस रोमाका राइट ब्याक वेस्ली इजिप्टविरुद्धको मैत्रीपूर्ण खेलमा बायाँ तिघ्रामा चोट लागेपछि विश्वकपबाट बाहिरिएका छन् ।

उनको स्थानमा अटालान्टाका मिडफिल्डर एडर्सनलाई टोलीमा समावेश गरिएको छ ।

जलपान विश्राम किन विवादास्पद ?

फिफाले सबै १०४ खेलमा प्रत्येक हाफको बीचमा अनिवार्य तीन मिनेटको पानी पिउने विश्राम लागू गरेको छ । गत वर्ष अमेरिकामा सम्पन्न क्लब विश्वकपका क्रममा अत्यधिक गर्मीबारे चिन्ता उठेपछि खेलाडीहरूको सुरक्षाका लागि यो निर्णय गरिएको फिफाले जनाएको छ ।

तर आलोचकहरूका अनुसार यो नियम चिसो मौसम भएका मैदानमा पनि लागू गरिएको छ । साथै विश्रामका क्रममा विज्ञापन प्रसारण गर्न अनुमति दिइएकाले फिफाले यसलाई व्यावसायीकरण गरेको आरोप पनि लागेको छ ।

ट्रम्प अमेरिकी टोलीको पहिलो खेलमा नजाने सम्भावना

राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार लस एन्जलसमा हुने अमेरिकाको पहिलो विश्वकप खेलमा उपस्थित हुने वा नहुनेबारे केही बताएका छैनन् । तर प्रतियोगिता तयारीसँग जानकार स्रोतहरूका अनुसार उनी उपस्थित हुने अपेक्षा गरिएको छैन, यद्यपि योजना परिवर्तन हुन सक्छ ।

अमेरिकी सरकारको प्रतिनिधित्व भने रहनेछ । विदेश मन्त्रालयले विदेशमन्त्री मार्को रुबियो, यातायातमन्त्री शन डफी तथा गृह सुरक्षा मन्त्री मार्कवेन मुलिन खेलमा सहभागी हुने जनाएको छ । 

मेक्सिकन राष्ट्रपति क्लाउडिया साइनबाउम पनि उपस्थित नहुने

मेक्सिकन राष्ट्रपति क्लाउडिया साइनबाउमले उद्घाटन खेलका लागि फिफाले दिएको टिकट प्रयोग नगर्ने निर्णय गरेकी छन् । बरु उक्त टिकट उनले भेराक्रुजकी २१ वर्षीया योलेट सेर्भान्तेस कुआक्वेहुआलाई दिएकी छन्, जसले फुटबल जुगलिङ प्रतियोगिता जितेकी थिइन् ।

प्रतियोगितामा युवतीहरूलाई एक मिनेटसम्म बल जमिनमा नखसाली खेलाउने चुनौती दिइएको थियो । साइनबाउमले अन्य तीन विजेतालाई पनि टिकट प्रदान गरेकी छन् ।

‘उनीहरू मेक्सिकोको गौरव हुन् । उनीहरूले राष्ट्रपति वा सरकारको प्रतिनिधित्व गर्दैनन्, उनीहरूले मेक्सिकोको प्रतिनिधित्व गर्नेछन्,’ साइनबाउमले पत्रकार सम्मेलनमा भनिन् ।

मेक्सिको सिटीमा विरोध प्रदर्शनबीच विश्वकप उत्सव

उद्घाटन खेलको तयारी भइरहँदा मेक्सिको सिटीमा विभिन्न प्रदर्शनहरू पनि जारी छन् । सीएनटीई शिक्षक सङ्घ, यातायात मजदुर, किसान तथा बेपत्ता व्यक्तिका परिवारजनहरू राम्रो तलब, पेन्सन सुधार तथा पुराना समस्याको समाधानको माग गर्दै सडकमा उत्रिएका छन् ।

केही प्रदर्शनकारीहरूले एस्टाडियो एज्टेकातर्फ जाने सडक अवरुद्ध गरेका छन् भने विश्वकपसँग सम्बन्धित केही संरचना हटाएका छन् । 

विश्वकप २०२६ सामान्य प्रतियोगिताभन्दा धेरै राजनीतिक बहस बोकेर पनि आएको छ । उद्घाटन खेलको उत्साहसँगै आप्रवासन कारबाही, यात्रा प्रतिबन्ध, गाजा र इरानका युद्ध तथा फिफा अध्यक्ष जियानी इन्फान्टिनो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको निकट सम्बन्धबारे चर्चा भइरहेको छ ।

अलजजिराबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप