दिपक भट्टको बयान, ‘दुबई र सिंगापुरमा घर किनेको छैन’
सारांश
- व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी कसुरमा विशेष अदालतमा मुद्दा दायर भएको छ ।
- भट्टले हिमालयन रि–इन्स्योरेन्सको रकम अपचलन गरेको र सो रकमबाट शेयर कारोबार गरेको आरोपको खण्डन गरेका छन् ।
- उनले आफूले थाइल्यान्ड, दुबई र सिंगापुरलगायतका देशहरूमा घर किनेको भन्ने कुरा सरासर झुटा भएको बयान दिएका छन् ।
काठमाडौँ । व्यवसायी दीपक भट्ट विरूद्ध अदालतमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी कसुरमा अभियोग दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनको आधारमा विशेष सरकारी वकिल कार्यालयले उनीविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
भट्टलाई चैत १९ मा सीआईबीले पक्राउ गरेर सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाएको थियो । विभागले उनले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिबारे दुई महिना सम्म अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो । भट्ट र उनका साझेदारहरू मिलेर हिमालयन रि–इन्स्योरेन्स सहित पाँच वटा इन्सुरेन्स कम्पनीबाट रकम अपचलन गरेको अनुसन्धानबाट खुलेको छ । ४ अर्ब भन्दा बढी रकम अपचलन गरेको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) छुट्टै अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालयमा बैंकिङ्ग कसुर र धितोपत्र सम्बन्धी दुई वटा छुट्टाछुट्टै अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
हिमालयन रि–इन्स्योरेन्सको रकम दुरुपयोग गरेर सम्पत्ति शुद्धीकरण गरेको घटनामा भट्टले कसुर गर्ने मनसायले कुनै पनि कारोबार नगरेको बयान दिएका छन् । इन्फिनिटी होल्डिङ्स प्रालिका सञ्चालक भट्टले कम्पनीको नाममा जग्गा र शेयर खरिद गर्दा सम्पत्ति शुद्धीकरण गर्ने गरी स्रोतलाई छल्न नखोजेको जिकिर गरेका छन् । अनुसन्धान अधिकृत र सरकारी वकिलसँग उनले भनेका छन्, ‘मैले कहीँ कतै हिमालयन रिको रकम दुरुपयोग गरी ५५ नम्बर ब्रोकर कम्पनीमा सो रकम ल्याई दुरुपयोग गरेको होइन ।’
भट्टले आफूले सम्पत्ति शुद्धीकरण गरेर थाइल्यान्ड, दुबई र सिंगापुर लगायतका देशहरूमा घर खरिद गरेको अस्वीकार गरेका छन् । उनले भनेका छन्, ‘विदेशमा घर किनेको भन्ने विषय सरासर झुटा हो ।’
हिमालयन रि–इन्सुरेन्स कम्पनी लिमिटेडको रकम ५५ नम्बर ब्रोकर कम्पनीमा आफूले नल्याएको जिकिर गर्दै भट्टले आफ्नो नामबाट सुलभ अग्रवालले शेयर कारोबार गर्ने गरेको आरोप लगाएका छन् । बयानमा उनले भनेका छन्, ‘नम्बर ५५ ब्रोकरसँग सुलभ अग्रवालले मेरो नाममा शेयर कारोबार गरेका रहेछन् ।’
यस्तो छ भट्टको बयान
कसुर गर्ने मनसायले उक्त कुनै पनि कारोबार भएको होइन । शंकरलाल अग्रवालसँग ग्रिन नेपाल डेभलपर्स प्रालि सम्बन्धी मिति २०७९ फागुन ३० को शेयर बिक्री लिखत र सो लिखतमा नोटरी पब्लिकको रूपमा टेक प्रसाद सुवेदीले प्रमाणीकरण गरेको २९ हजार कित्ता शेयर प्रतिकित्ता ८ हजार ५८६ को दरले २४ करोड ८९ लाख ९४ हजारमा शंकरलाल अग्रवाललाई विक्री गरेको भनी सम्झौता गरेको हो । तर, उक्त शेयर विक्री नभई पछि शंकर अग्रवालले खरिद गर्न अस्वीकार गरे पश्चात् उक्त रकम मैले सिद्धार्थ बैंकको खाताबाट रकम फिर्ता गरिसकेको छु ।
श्रीराम टोवाको प्रालिको शेयर खरिद गर्ने कार्य इन्फिनिटी होल्डिङ्स प्रालिले विशुद्ध व्यावसायिक रूपमा लगानी गरेको हो । कम्पनीमा जे जति रकम लगानी गर्न सम्झौता गरेको हो सोही अनुसार लगानी गरेको हो । उक्त कम्पनीले आफ्नो आम्दानी नाफा र लाभांशको रणनीति अनुसार लाभांश दिएको हो । यसमा मेरो कार्य सम्पत्ति शुद्धीकरणको उद्धेश्य प्रेरित रहेको छैन । फेवा डेभलपर्स प्रालि समेतका कम्पनीहरूको शेयर मैले एकै पटक नगरी पटक पटक गरेको हो । उक्त कम्पनी जग्गा खरिद गर्ने मनसायले नै शेयर खरिद गरेको हो । प्रचलित मूल्यमा नै खरिद गरेको हो । यसमा मैले सम्पत्ति शुद्धीकरण गर्ने सम्पत्तिको स्रोतलाई छल्ने मनसायले कुनै कारोबार गरेको छैन ।
सुलभ अग्रवालले मलाई शेखर गोल्छा, रोहित गुप्ता, अमित मोर र राजबहादुर शाह समेत भई शेयर बजारमा लगानी गर्ने कुरा भएको छ । ब्रोकरले मार्जिन लेन्डिङ ‘शेयर धितो कर्जा’ गर्छ, तपाइको नाममा शेयर खरिद गरी दिन्छु भनी सुलभ अग्रवालले भने अनुसार निजले मेरो नाममा शेयर कारोबार गरेको होला । माथि उल्लेख भएका टिएमएस, मेरो शेयर र डिम्याट लगायतका पासवर्ड सुलभ अग्रवालले नै ब्रोकरबाट लिई चलाउने गरेका हुन् । मैले आफूले चलाएको छैन ।
ब्रोकर नम्बर–५५ सँग कारोबार मैले गरेको होइन । ५५ नम्बरका अध्यक्ष सन्दीप चाचन अग्रवाललाई म चिन्दिनँ । शेयर कारोबार गर्नु अघि ब्रोकरले मार्जिन लेन्डिङ गर्छ भनी मलाई सुलभ अग्रवालले भनेका हुनाले निजको विश्वासमा परी सम्झौताको कागजमा सहीसम्म गरिदिएको हुँ । मैले यसलाई सामान्य व्यापारको विषयको रूपमा लिई आफ्नै साथी सुलभ अग्रवाललाई विश्वास गरेको थिएँ । निज सुलभ अग्रवालले मेरो नाममा शेयर कारोबार गरेका रहेछन् ।
मैले माथि खुलाए अनुसार भएका टिएमएस, मेरो सेयर र डिम्याट लगायतका पासवर्ड मसँग छैन । त्यो पनि निज सुलभ अग्रवालले नै चलाएका हुन् । के कुन आइपी ठेगाना प्रयोग गरी के कहाँबाट कुन कुन मितिमा कारोबार भएको छ भन्ने कुरा समेत प्राविधिक परीक्षण गरी यकिन गरी पाउँ भन्न चाहन्छु । यदि मेरो नाममा सुलभ अग्रवालले शेयर कारोबार गर्दा हिमालयन रिइन्सुरेन्स कम्पनी लिमिटेड लगायतका कुनै संस्थाको रकम प्रयोग भएको छ भने त्यो मेरो कुरा नभई आफ्नो लगानी रकमको संरक्षण र खोजबिन गर्ने जिम्मा सम्बन्धित संस्थाकै होला । कुनै पनि संस्थाको खाताबाट मेरो नाममा कुनै पनि रकम आएको छैन । र मैले त्यस्तो रकम प्रयोग गरी शेयर खरिद गरेको छैन। मैले ब्रोकरलाई नै मेरो पोर्टफोलियो व्यवस्थापन गर्न मौखिक रूपमा जिम्मेवारी दिएको हो । ब्रोकरले शेयर धितो कर्जा दिएको हो । उक्त ब्रोकरले के कति कारणले शेयर खरिद विक्री गर्यो मलाई थाहा भएन ।
म विरुद्ध लागेको आरोप सरासर झुटा हो । म कुनै पनि राजनीतिक एवं अन्य लाभको पदमा रहेको व्यक्ति होइन । म विशुद्ध रूपमा एउटा व्यवसायी हुँ । एउटा व्यवसायीको प्रमुख कार्य भनेकै राज्यको प्रचलित कानुनभित्र रहेर आफ्नो व्यापारिक एवं व्यावसायिक धर्म निर्वाह गर्नु हो । एउटा नागरिकले प्रचलित कानुन अन्तर्गत रही कुनै कम्पनी स्थापना वा सञ्चालनको काममा भाग लिने वा व्यापारिक एवं व्यावसायिक कार्यहरू गर्न नपाउने भन्ने हुँदैन । म विरुद्ध सम्पत्ति शुद्धीकरणको कसूरमा लागेको आरोप सरासर झुटा हो । सम्पत्ति शुद्धीकरणको कसूर हुनका लागि कसूरबाट सम्पत्ति आर्जन गरेको हुनु पर्छ भन्ने मेरो बुझाई हो । म विरुद्ध हालसम्म पनि कहीँ कतै कुनै फौजदारी मुद्दा परेको छैन । मैले कुनै पनि सरकारी नियुक्ति आदिमा सेटिङ गर्ने लगायतका कार्यहरू गरी सम्पत्ति आर्जन गरेको छैन । मैले विभिन्न बैंक तथा वित्तीय संस्थाहरू र व्यक्तिहरूबाट ऋण एवं सरसापटी कर्जा समेत लिई व्यापार एवं व्यवसाय गर्दै आएको छु । म विरुद्ध लागेको आरोप झुटा हो । मेरो थाइल्यान्ड दुबई र सिंगापुर लगायतका देशहरूमा घर खरिद गरेको भन्ने कुरा सरासर झुटा हो । मैले कहीँ कतै हिमालयन रिको रकम दुरुपयोग गरी ५५ नम्बर ब्रोकर कम्पनीमा सो रकम ल्याई दुरुपयोग गरेको होइन ।
म हिमालयनको दैनिक प्रशासनिक एवं व्यवस्थापकीय कार्यमा संलग्न हुने पनि होइन । म यस कम्पनीको सञ्चालक पनि होइन । हिमालयन री मा म सञ्चालक रहेको ईन्फिनिटी होल्डिङ्गसको शेयर रहेको छ । मैले हिमालयन रीको व्यवस्थापक तथा सञ्चालक समितिलाई समेत प्रभावमा पारी मेरो व्यक्तिगत नाउँमा शेयर खरिद गर्न ५५ नम्बर ब्रोकरमा रकम पठाउन लगाएको समेत होइन । मैले ५५ नम्बरबाट कारोबार गर्ने भएकाले शेयर खरिद गर्न भनेको हो । कारोबार सेटलमेन्टका लागि हिमालयन रिको रकम प्रयोग गर्न लगाएको होइन । मेरो नियत पनि हिमालयन रिको रकम प्रयोग गरी आफ्ना नाउँमा शेयर खरिद गर्ने होइन । ब्रोकरले नै पछि हिसाब मिलान गर्ने गरी ब्रोकरको खातामा मौज्दात रहेको रकम प्रयोग गरेको हुन सक्छ । यो मेरो सरोकारको विषय होइन ।
हिमालयन रिले ब्रोकरलाई दिएको रकमको खोजतलास एवं संरक्षण गर्ने दायित्व मेरो नभई हिमालयन रिकै हो । म व्यक्तिगत रूपमा संलग्न भई हिमालयन रि बाट ५५ नम्बरको ब्रोकरको खातामा रकम ल्याई मैले मेरो नाउँमा शेयर खरिद गरेको पनि होइन । ब्रोकरले कारोबार गरेको विषयमा मेरो जवाफदेहिता हुँदैन । मैले ब्रोकरलाई दिनु पर्ने रकम उक्त ब्रोकरसँग शेयर कारोबार सम्बन्धमा भएको सम्झौता बमोजिमको रकम तिर्ने बुझाउने मेरो दायित्व हो । शेयर खरिद विक्रीको विषय सम्पत्ति शुद्धीकरणको कसूरको अनुसन्धानको दायरामा पर्दैन भन्ने मेरो बुझाई हो । मेरा नाउँमा शेयर खरिद भएको विषय हिमालयन रि सँग कुनै पनि अर्थमा सम्बन्धित छैन । मैले शेयरको कारोबार गर्न नपाउने गरी मलाई कुनै कानुनले रोक लगाउन सक्दैन ।
यदि हिमालयन रि को रकम ब्रोकरले दुरुपयोग वा हिनामिना गरेको भए त्यो विषय हिमालयन रि र ब्रोकर बिचको विषय हो । म र जगदम्बा स्टिल्स प्रालिबिच मेरा नाउँको जग्गा खरिद विक्री गर्ने कुराकानी भए बमोजिम मैले जगदम्बा स्टिल्सबाट बैना वापत रकम लिएकोमा पछि कम्पनीले कोभिड लगायतका असहज परिस्थितिका कारण कम्पनीले जग्गा राजीनामा गर्न अस्वीकार गरेकाले मैले बैना बापतको रकम व्याज सहित कम्पनीलाई फिर्ता गरेको हुँ । ईन्फिनिटी होल्डिङ्गसको पुँजी वृद्धि भई ३ करोडबाट ४८ करोड पुगेको ठिक हो । मैले माथि खुलाए अनुसार मैले जगदम्बा स्टिल्सलाई जग्गा विक्री गर्नका लागि लिएको बैना बापतको रकमबाट ईन्फिनिटीको शेयर पुँजी वृद्धि गरिएको हो । ईन्फिनिटी होल्डिङ्गस प्रा. लि. को समेत लगानीमा ग्रीन नेपाल डेभलपर्स प्रा. लि., फेवा डेभलपर्स प्रा. लि., डेल्टा डेभलपर्स प्रा. लि., ईन्फिनिटी इन्फ्रा स्ट्रक्चर प्रा. लि, लेखनाथ डेभलपर्स प्रा. लि. लगायत स्थापना भएका हुन् । उल्लेखित कम्पनीहरू व्यावसायिक प्रयोजनका लागि स्थापना भएका कम्पनीहरू भएकाले कुनै गलत काम गर्नका लागि स्थापना गरिएको होइन । यी कम्पनीहरूबाट गैरकानुनी कार्य भएको छैन । एउटा नियमित एवं व्यावसायिक रूपमा गरेको कार्य कसूर हुन सक्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा कार दुर्घटनामा व्यवसायी रेशम थापाको मृत्यु
-
सुकुमबासी परिवारसँग गृहमन्त्रीले मागे माफी
-
व्यापारी श्रेष्ठको हत्या आरोपीलाई १० वर्षको कैद सजाय
-
ट्रम्पको नयाँ धम्कीः बिहीबार राति इरानमाथि ठुलो आक्रमण हुनेछ
-
मिसेस ग्लोबल नेपाल २०२६ को उपाधि सभ्या महर्जनलाई
-
‘यो बजेट टाई लगाउनेलाई हो, गाई पाल्ने किसानका लागि होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण