शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय गुप्तचर प्रमुखमा ट्रम्पले गरे जे क्लेटनलाई मनोनयन

शुक्रबार, २९ जेठ २०८३, १२ : ५०
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्कका संघीय सरकारी वकिल जे क्लेटनलाई राष्ट्रिय गुप्तचर निर्देशक पदका लागि मनोनयन गरेका छन् ।
  • क्लेटन यसअघि ट्रम्पको पहिलो कार्यकालमा अमेरिकी प्रतिभूति तथा विनिमय आयोग (सेक)का अध्यक्ष थिए ।
  • क्लेटनको मनोनयन यसअघि अन्तरिम राष्ट्रिय गुप्तचर प्रमुख बनाइएका बिल पुल्टेको नियुक्तिपछि उत्पन्न विवादका बीच आएको हो ।

वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्कको दक्षिणी जिल्लाका संघीय सरकारी वकिल जे क्लेटनलाई राष्ट्रिय गुप्तचर निर्देशक (डीएनआई) पदका लागि मनोनयन गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल टुथ सोसलमा लेख्दै क्लेटन कानुनी क्षेत्रका अत्यन्त सम्मानित व्यक्तित्व भएको बताएका छन् । 

उनले अमेरिकी सिनेटलाई उनको नियुक्ति छिट्टै अनुमोदन गर्न आग्रह गरेका छन् । क्लेटन यसअघि ट्रम्पको पहिलो कार्यकालमा अमेरिकी प्रतिभूति तथा विनिमय आयोग (सेक)का अध्यक्ष थिए । हाल उनी न्यूयोर्कको दक्षिणी जिल्लाका अमेरिकी सरकारी वकिलका रूपमा कार्यरत छन् ।

क्लेटनको मनोनयन ट्रम्पले यसअघि संघीय आवास वित्त एजेन्सीका प्रमुख बिल पुल्टेलाई अन्तरिम राष्ट्रिय गुप्तचर प्रमुख बनाउने निर्णयपछि उत्पन्न विवादका बीच आएको हो । हालकी राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गबार्डले पद छाड्ने तयारी गरिरहेकी छिन् । 

त्यसपछि पुल्टेलाई अन्तरिम जिम्मेवारी दिने ट्रम्पको निर्णयले रिपब्लिकन र डेमोक्रेट दुवै दलका सांसदहरूबाट आलोचना खेपेको थियो । आलोचकहरूको भनाइमा पुल्टेसँग राष्ट्रिय सुरक्षा वा गुप्तचर क्षेत्रको कुनै उल्लेखनीय अनुभव छैन ।

पुल्टेको नियुक्तिका कारण अमेरिकी सरकारको महत्वपूर्ण गुप्तचर निगरानी अधिकारसम्बन्धी कानुन एफआईएसए (विदेशी गुप्तचर निगरानी ऐन)को म्याद थप्ने प्रयास पनि प्रभावित भएको छ । डेमोक्रेट सांसदहरूले पुल्टेलाई हटाएर योग्य अन्तरिम प्रमुख नियुक्त नगरेसम्म एफआईएसएको म्याद थप्न समर्थन नगर्ने चेतावनी दिएका छन् । सिनेटमा डेमोक्रेट दलका नेता चक शुमरले ट्रम्पले प्रतिनिधिसभा बिदामा गएपछि मात्रै क्लेटनको नाम किन सार्वजनिक गरे भन्दै प्रश्न उठाएका छन् । उनले पुल्टे हट्नैपर्ने भनेका छन् ।

सिनेट गुप्तचर समितिका वरिष्ठ डेमोक्रेट सदस्य मार्क वार्नरले पनि ट्रम्पले साँच्चै नियुक्ति अनुमोदन गराउन चाहेको भए एक दिनअघि नै मनोनयन गर्नुपर्ने भनेका छन् । विवादका बाबजुद ट्रम्पले पुल्टेलाई अन्तरिम गुप्तचर प्रमुख बनाउने निर्णय कायम राख्ने संकेत दिएका छन् । उनले पत्रकारहरूसँग कुरा गर्दै पुल्टे केही समयका लागि मात्रै उक्त जिम्मेवारीमा रहने बताएका छन् । स्रोतहरूका अनुसार ट्रम्पले आफ्ना सहयोगीहरूसँग आफू डेमोक्रेटहरूको दबाबमा नपर्ने र रिपब्लिकनहरूकै सहयोगमा एफआईएसए नवीकरणको उपाय खोज्न सकिने बताएका छन् ।

सूत्रहरूका अनुसार अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए)का निर्देशक जोन रैटक्लिफले ट्रम्पलाई क्लेटनको नाम सिफारिस गरेका थिए । ट्रम्पले गुप्तचर समुदायभन्दा बाहिरबाट व्यक्ति ल्याउने नीति अपनाउँदै आएका छन् । उनले राष्ट्रिय गुप्तचर कार्यालयलाई सानो बनाउने तथा डीप स्टेटलाई पूरै उखेलेर फ्याक्ने उद्देश्य राखेको बताइन्छ । हालैका हप्ताहरूमा क्लेटनले अन्तर्वार्तामा ट्रम्प प्रशासनका केही नीतिहरूको सार्वजनिक रूपमा समर्थन गरेका थिए, जसले उनको मनोनयनप्रति थप राजनीतिक चासो बढाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप